+
+
Shares

सर्वोच्चलाई मानवअधिकार आयोगको जवाफ : स्रोतले दिएको सूचनाका आधारमा नाम समावेश गर्‍यौं

गतमहिना सार्वजनिक प्रतिवेदनमा समावेश कतिपय नाममाथि प्रश्न उठेका बेला राष्ट्रिय मानवअधिकार आयोगले स्रोतबाट प्राप्त सूचनाका आधारमा नामहरू समावेश गरिएको भनी जवाफ लेखेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको प्रतिवेदनमा नाम समावेश गरिएका सांसद दीपक बोहराको विषयमा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेको छ ।
  • आयोगले आफूले प्राप्त सूचनाका आधारमा छानबिनका लागि सिफारिस मात्र गरेको र कसैलाई दोषी ठहर नगरेको दाबी गरेको छ ।
  • सांसद बोहराले आफू आन्दोलनमा सहभागी नभएको भन्दै नाम हटाउन माग गरे पनि आयोगले सो विषयमा स्पष्ट प्रतिक्रिया दिएको छैन ।

२९ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न स्रोतबाट आयोग र छानबिन समितिमा आएको सूचनाका आधारमा आफूले जेनजी आन्दोलनका आह्वानकर्ता, अभियन्ता र समर्थक भनी कतिपयको नाम समावेश गरेको दाबी गरेको छ ।

आयोगले सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै ‘सूचनाका आधारमा केही महानुभावहरूको नाम समावेश भएको’ भन्दै सिफारिसमा नाम समावेश भएका आधारमा मात्रै उनीहरुको संविधानप्रदत्त हक हनन नभएको जिकिर गरेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले गतमहिना जेनजी आन्दोलनका बारेमा मानवअधिकार उल्लंघन सम्बन्धित प्रतिवेदनको सिफारिस सार्वजनिक गरेको थियो । सिफारिसको पेज नं. २१ मा प्रदर्शन आह्वानकर्ता, अभियन्ता र समर्थक समेत भनेर आफ्नो नाम समेत समावेश गरिएको भन्दै बोहराले आपत्ति जनाएका थिए ।

मानवअधिकार आयोगले प्रदर्शनका आह्वानकर्ता, अभियन्ता, समर्थकसमेत भनेर सांसदहरु सुलभ खरेल, बब्लु गुप्ता, डा. तोसिमा कार्की, राजिव खत्री, दिपक बोहरा लगायतको नाम प्रतिवेदनमा समावेश गरेको थियो ।

‘उनीहरुको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको’ भन्दै आयोगले थप अनुसन्धान हुनुपर्ने भनी सिफारिस भएको थियो । सिफारिसको पेज नं. २१ मा प्रदर्शन आह्वानकर्ता, अभियन्ता र समर्थक समेत भनेर आफ्नो नाम समेत समावेश गरिएको भन्दै बोहराले आपत्ति जनाएका थिए ।

बोहराले आफू आन्दोलनमा सहभागी नभएको अवस्थामा मानवअधिकार आयोगले थप अनुसन्धान गर्नु भनी आफ्नो नाम समेत समावेश गरेको भनी आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

उनले गत भदौ २३ र २४ गते श्रीमतीको उपचारका क्रममा आफू अस्पतालमा रहेको र त्यहाँबाट कहिकतै जान नपाएको अवस्थामा आन्दोलन भड्काउन संलग्न भएको आरोप सहित आयोगले सिफारिस सार्वजनिक गर्नु गलत भएको दावी गरेका थिए ।

उनले प्रतिवेदनबाट आफ्नो नाम हटाउन र प्रतिवेदनमा नाम उल्लेख भएकै आधारमा आफूमाथि कुनै कारवाही नगर्न नगराउन माग गरेका थिए । रिट निवेदनमाथिको प्रारम्भिक सुचनापछि सर्वोच्च अदालतले ‘कारण देखाऊ आदेश’ जारी गरेको थियो ।

लिखित जवाफ पठाउँदै मानवअधिकार आयोगले ‘केही महानुभावमाथि अनुसन्धान गर्नु’ सम्म भनेको र दोषी देखिए मात्रै कारवाही गर्ने’ भन्नेसम्मको सिफारिसमा सांसद बोहराको नाम पर्न गएको दाबी गरेको छ ।

आफूलाई कुनै स्पष्टिकरण नसोधेको, कुनै जवाफ नमागी एकतर्फी रुपमा नाम राख्ने काम गरेको भन्दै सांसद बोहराले आयोगको कार्यक्षमतामाथि प्रश्न उठाएका थिए । त्यसबारे मानवअधिकार आयोगले डेढ पेज लामो लिखित जवाफमा केही उल्लेख गरेको छैन ।

आयोगले आफूले पाएको सूचनाको स्रोत उदृत गर्दै थप छानविनका लागि सिफारिस गरेको भनेपछि अरु विवरण र आधारहरु केही खुलाएको छैन । आफू अस्पतालमा भएकाले आन्दोलनमा सहभागी नै नभएको भन्ने सांसद बोहराको दावीमाथि समेत आयोगले लिखित जवाफमा कुनै प्रतिक्रिया जनाएको छैन ।

बरु त्यसरी कुनै व्यक्तिको नाम समावेश हुदा सिफारिसपत्रमा समावेश भएका व्यक्तिहरुलाई कुनै असर नपर्ने मानवअधिकार आयोगको जिकिर छ ।

कसैको मर्यादामा आँच पुर्‍याउने आफूहरुको उद्देश्य नभएको भन्दै आयोग र त्यसका चारजना सदस्यहरुले एकमुष्ट लिखित जवाफ पठाएर उनीहरुको स्वच्छ सुनुवाईको हकमा आघात नपुगेको जिकिर गरेको हो ।

आयोगले लिखित जवाफमा भनेको छ, ‘यस आयोगको कुनै कामकारबाहीबाट निज(सांसद बोहरा)लाई दोषी ठहर नगरेको, निजको स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चितता गरी छानबिन गर भनेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?