News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजारमा खाल्डोमा जमेको पानीमा डुबेर आइतबार एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।
- मधेश प्रदेशमा पछिल्लो चार वर्षमा खाल्डाखुल्डी र पोखरीमा डुबेर ४५३ जना बालबालिकाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
- विकास निर्माण र उत्खननपछि अलपत्र छाडिएका खाल्डाखुल्डीका कारण विशेषगरी विपन्न परिवारका बालबालिका उच्च जोखिममा परेका छन् ।
२९ असार, जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजारनजिक खाल्डोमा जमेको पानीमा आइतबार एकै परिवारका तीन बालबालिका अस्ताए।
मृत्यु हुनेमा कवाड तथा प्लास्टिकका टुक्रा संकलन गरेर जीविकोपार्जन गर्ने स्थानीय अवास शेख र सबिनाका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख छन् ।
सबिना गोलबजारमा एक घर भाडामा लिएर पाँच सन्तानलाई साथै राखेर कवाड संकलन गर्दै परिवारको गुजारा चलाउँदै आइरहेकी थिइन् । उनका श्रीमान् शारीरिक रुपमा अशक्त भएकाले रौटहटस्थित घरमै छन् ।
आइतबार बिहानै खाना खाइसकेपछि जेठी छोरो सबनमसँग कवाड तथा प्लास्टिक संकलन गर्ने तयारी गरेकी थिइन् ।
विद्यालय बिदा भएकाले अरु छोराछोरी खेल्न बाहिर निस्किएका थिए । केहीबेरमै छोराछोरी पानी जमेको खाल्डोमा फसेको खबर पाइन् । रोइकराइ गर्न थालिन् । स्थानीय जुटिहाले, खोजी सुरु गर्न थाले । सुरुमा स्थानीयले एक जनामात्रै डुबेको खबर पाएका थिए । खोजी गर्दा अन्य दुई बालबालिकाको शव पनि सोही खाल्डोमा फेला पर्यो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार उक्त खाल्डो वर्षौंदेखि गाईवस्तुलाई पानी खुवाउन प्रयोग हुँदै आएको हो । करिब ५० फिट लम्बाइ, २५ फिट चौडाइ र ६ फिट गहिरो खाल्डोमा जमेको पानी हाटबजार लाग्ने दिन गाईवस्तुलाई पिउन दिइने गरिन्छ ।
सिरहाको यो घटना भएको केही घण्टाकै अन्तरालमा बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा ६ वर्षीया बालिका डुबिन् । साँझ करिब ६ः३० बजे स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी नुहाउने क्रममा पोखरीमौ डुबेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार परिवारका सदस्य र स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यसअघि १४ असारमा रौतहटको गढीमाइ नगरपालिका–१ स्थित बागमती नदीको घरैयाघाटमा डुबेर दुई बालकको मृत्यु भएको थियो ।
नदीमा बगिरहेको दाउरा निकाल्ने क्रममा ८ वर्षीय आदित्य यादव र ८ वर्षीय अनिकेस यादव डुबेर बेपत्ता भएका थिए । स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले बचाउन सकेनन् ।
६ जेठ २०८२ मा धनुषाको कमला नगरपालिका–२ सराबे टोल नजिक नवनिर्मित कृषि सडकको खाल्डोमा डुबेर एकै घरका दुई बालकले ज्यान गुमाए । स्थानीय रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनका भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह खेल्ने क्रममा बाटो निर्माणका लागि करिब ५ फिट गहिरो खनिएको खाल्डोमा पसे । तर कहिल्यै ननिस्किने गरी अस्ताए ।
कमला नगरपालिकाको १० लाख रुपैयाँको लागतमा कोटेशनमार्फत स्थानीय ठेकेदार राजेन्द्र मण्डलले आफ्नै खेतबाट सडक निर्माण गर्दा सम्झौताविपरीत खनेको गहिरो खाल्डो दुवै बालकको काल बन्यो ।
त्यसैगरी, २०८२ साउन २७ गते बिहान पर्साको ठोरी गाउँपालिका–२ हनुमाननगरका मनोज कठायतका ८ वर्षीय छोरा अंश र ४ वर्षीय छोरा आयंश घरबाट खेल्न निस्किएका थिए । घरदेखि करिब १५० मिटर टाढा रहेको ठोरी–१ र २ को बीचबाट बग्ने डेढु खोलामा खेल्ने क्रममा उनीहरू केही समयअघि डोजरले बालुवा निकालेको खाल्डोमा जमेको पानीमा नुहाउन पसे । तर कहिल्यै ननिस्किने गरी अस्ताए ।
यी घटनाहरू उदाहरण मात्र हुन् । मधेशका आठवटै जिल्लामा वर्षेनी डुबेर सयभन्दा बढी बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको छ ।
खाल्डोले बढाएको जोखिम
विकास निर्माणका लागि खनेर छाडिएका खाल्डा, नदी तथा नदीकिनारमा जथाभावी ग्राभेल उत्खनन्पछि बनेका खाल्डामा जमेको पानी, माछापोखरी तथा अन्य जलाशयहरू अबोध बालबालिकाका लागि काल बन्दै गएका छन् ।
पछिल्ला चारवर्षको अवधिमा मधेशमा साढे चार सय बालबालिकाको यस्ता खाल्डा तथा पोखरीमा डुबेर ज्यान गएको प्रहरीको तथ्यांक छ । वर्षेनी सय बढी बालबालिकाको आकालमा डुबेर मृत्यु भइरहेको प्रहरीकै तथ्यांकले देखिन्छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म मात्र मधेश प्रदेशमा डुबेर १११ जना बालबालिकाको अकालमै ज्यान गएको छ ।
मृत्यु हुनेमध्ये ५७ जना बालक र ५४ जना बालिका छन् । सबैभन्दा बढी रौतहटमा २४ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । त्यहाँ १३ जना बालक र ११ जना बालिकाले ज्यान गुमाएका छन् ।
त्यसैगरी, सप्तरीमा ६ बालिकासहित १७ जना, सिरहामा ७ बालिकासहित १६ जना, धनुषा र सर्लाहीमा १३–१३ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । धनुषामा ८ जना बालिका र ५ जना बालक तथा सर्लाहीमा ८ जना बालक र ५ जना बालिकाले ज्यान गुमाएका छन् ।
यस्तै, महोत्तरीमा ७ जना बालिका र ५ जना बालक गरी १२ जना, बारामा ६ जना बालक र ५ जना बालिका गरी ११ जना तथा पर्सामा ५ जना बालकको डुबेर मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा पनि डुबेर १५० जना बालबालिकाको मृत्यु भएको थियो । तीमध्ये ९६ जना बालक र ५४ जना बालिका थिए ।
यसरी आ.व. ७८।०७९ देखि चालु आ.व. २०८२।०८३ सम्म ४५३ बालबालिकाको मधेशमा डुबेर मृत्यु भएको प्रहरीको तथ्यांकमा देखिन्छ ।
चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा मृतकको संख्या केही कम देखिए पनि डुबेर बालबालिकाले अकालमै ज्यान गुमाउने क्रम भने रोकिएको छैन ।
त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा ११० जना तथा आर्थिक वर्ष २०७९/८० मा ८२ जना बालबालिकाको डुबेर मृत्यु भएको थियो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकाल प्रदेशको आठवटै जिल्लामा वर्षाको बेला पानी पर्ने र पोखरी, नाला, नहरहरुमा झाड पलाएको अवस्थामा बालबालिकाले गहिराइको अवस्था नपाएर डुब्ने गरिएको बताउँछन् ।
‘मधेश प्रदेशका जिल्लाहरुमा सुगम र दुर्गम क्षेत्रहरु छन् । वर्षाको बेला पानी पर्ने र पोखरी, नाला, नहरहरुमा झाड पलाएको अवस्था हुन्छन् । त्यमा गहिराइको अनुभव बालबालिकाले थाहा नपाउने र पसेपछि डुब्ने गरेको विगतको घटनाको प्रकृतिहरुबाट देखिएको छ’ उनले भने ।
किन भइरहेछ यस्तो ?
बालबालिका डुबेर मृत्यु हुने क्रम बढ्नुमा गाउँ–गाउँमा रहेका माछा पोखरी, नुहाउने तथा लुगा धुने पोखरी, विकास निर्माणका लागि खनेर छाडिएका खाल्डाखुल्डी तथा निजी जग्गा, खोला र नदी किनारबाट माटो तथा ग्राभेल उत्खनन गरी छाडिएका खाल्डाहरू प्रमुख कारण बनेका छन् ।
मधेशका कमला, औरही, रातु, बागमतीलगायत प्रायः सबै नदी किनारमा स्थानीय सरकार र प्रहरी प्रशासनकै मिलेमतोमा ग्राइभेल उत्खन्न भएको गहिरा खाल्डा पर्याप्त देख्न सकिन्छ ।
यस्तै सडक निर्माणको क्रममा छेउबाट माटो झिकेको खाल्डोहरु पनि मधेशमा धेरै छन् । ती खाल्डाहरू वर्षायाममा पानीले भरिएपछि बालबालिकाका लागि ठूलो जोखिम बन्छन् ।
खेल्ने क्रममा सामान्य पानी ठानेर पस्ने बालबालिका गहिराइको अनुमान गर्न नसक्दा डुबेर ज्यान गुमाउने गरेका छन् । यस्ता खाल्डाखुल्डीको व्यवस्थापनमा स्थानीय सरकार र सम्बन्धित निकाय गम्भीर नदेखिएको आम जगुनासो छ ।
उत्खनन् रोक्न नसक्ने र उत्खननपछि खाल्डा व्यवस्थापन गर्न पनि बेवास्ता गर्ने प्रवृत्तिका कारण गरिब तथा मध्यमवर्गीय परिवारका बालबालिका सबैभन्दा बढी जोखिममा परेका छन् ।
पछिल्लो समय निजी जग्गाबाट माटो र ग्राभेल बिक्री गर्ने क्रम पनि बढेको छ । २५/३० फिटसम्म गहिरा खाल्डा खनेर खुला छाड्ने प्रवृत्ति पनि छ । यसमाथि प्रभावकारी नियमन गर्न सरकारले अझै सकिरहेको छैन ।
विकास निर्माणका क्रममा सडक छेउमा खनिएका खाल्डाले पनि बालबालिकाको ज्यान लिइरहेको छ ।
यस्ता दुर्घटनाको शिकार प्रायः गरिब तथा विपन्न परिवारका बालबालिका बन्ने गरेका छन् । अभिभावक दैनिक जीविकोपार्जनका काममा व्यस्त हुँदा बालबालिका खेल्दै त्यस्ता जोखिमयुक्त स्थानमा पुग्ने र दुर्घटनामा पर्ने गरेको देखिन्छन् ।
यी घटनाको न्यूनीकरणका लागि तीनै तहका सरकारले अपेक्षित पहल गर्न नसकेको देखिन्छ । सबभन्दा बढी जिम्मेबार स्थानीय सरकार हुनु पर्ने हो ।
सिरहाका प्रहरी प्रवक्ता रमेश पाल भन्छन्, ‘हामीले बैठक तथा छलफलहरूमा बालबालिका डुब्ने सम्भावित जोखिमका कुरा उठाइरहेका हुन्छौं । यसमा सबभन्दा बढी ध्यान स्थानीय सरकारले दिनु पर्ने हो । सचेतना फैलाउनु पर्ने हो । यसले घटनाहरु न्यूनीकरण हुन सक्छ ।’
मधेश मामिलाका जानकार तुलानारायण साह मधेशमा बालबालिका डुबेर हुने अधिकांश मृत्यु वर्गीय समस्यासँग जोडिएको बताउँछन् ।
‘डुब्ने घटनामा प्रायः गरिब परिवारका बालबालिका पर्दै आएका छन् । सम्पन्न परिवारले बालबालिकाको राम्रो रेखदेख गर्न सक्छन्,’ उनले भने, ‘तर गरिब परिवारका अभिभावक जीविकोपार्जनमा व्यस्त हुँदा बालबालिका खेल्ने क्रममा पोखरी, नाला र खाल्डाखुल्डीमा पुगेर दुर्घटनामा पर्ने गरेका छन् ।’ उनले यस्ता घटनामा राज्य र सरोकारवाला जिम्मेवार हुनुपर्ने पनि बताए ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालका अनुसार वर्षायाममा बालबालिका डुब्ने घटनाप्रति सबै पक्ष सचेत हुन आवश्यक छ ।
‘अभिभावकले बालबालिका कहाँ गएका छन्, के गरिरहेका छन् भन्ने विषयमा निरन्तर निगरानी राख्नुपर्छ,’ उनी भन्छन्, ‘घरवरिपरिका नाला, पोखरी र खाल्डाखुल्डी सफा गर्ने, आवश्यक स्थानमा पुर्ने तथा तारबार लगाउने काममा समुदायको सक्रिय सहभागिता आवश्यक छ ।’
एसपएसपी ढकालका अनुसार प्रदेश प्रहरी कार्यालयदेखि जिल्ला, इलाका र प्रहरी चौकीसम्मका इकाइले टोलटोलमा पुगेर डुब्ने जोखिमबारे जनचेतना अभियान सञ्चालन गरिरहेका छन् ।
यस्ता जोखिम न्यूनीकरणका लागि पालिका, वडा तहबाटै सचेतना कार्यक्रम सञ्चालन हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4