+
+
Shares

सांसदहरूले आफैं स्वकीय सचिव नियुक्त गरेर संसद् सचिवालयलाई जानकारी दिए पुग्ने

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने सम्बन्धी मन्त्रिपरिषद्को निर्णय संसद् सचिवालय पुगेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले संघीय संसद्का सांसदहरूले पाउने स्वकीय सचिवको सुविधा सम्बन्धी व्यवस्था पुनः कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।
  • संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले मन्त्रिपरिषद्को निर्णय प्राप्त हुनासाथ सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न पाउने जानकारी दिनुभयो ।
  • खर्च कटौतीको नीति लिँदै अघिल्लो सरकारले खारेज गरेको यो सुविधा वर्तमान सरकारले ऐनको दफा २५ बमोजिम अनुसूचीमा हेरफेर गरी ब्युँताएको हो ।

३२ असार, काठमाडौं । सांसदहरूले पाउने स्वकीय सचिवको सुविधा सम्बन्धी व्यवस्था ब्युँतिएको छ । यो सँगै अब सांसदहरूले स्वकीय नियुक्त गर्न सक्दछन् ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने सम्बन्धी मन्त्रिपरिषद्को निर्णय संसद् सचिवालय पुगेको छैन ।

मन्त्रिपरिषद्को निर्णयबारे सरकारले औपचारिक रूपमा पत्र लेखेर संसद् सचिवालयलाई जानकारी दिन सक्दछ वा यससम्बन्धी निर्णय नेपाल राजपत्रमा प्रकाशित भए त्यसलाई नै संघीय संसद सचिवालयले जानकारीमा लिन पनि सक्दछ ।

जुन प्रक्रियाबाट जानकारी प्राप्त गरे पनि त्यसपछि सांसदहरूले स्वकीय सचिवको सुविधाको उपयोग गर्न सक्दछन् ।

संसद् सचिवालयका अनुसार स्वकीय नियुक्ति प्रक्रिया सरल छ ।

विगतको अभ्यास अनुसार सांसदहरूले आफैँ स्वकीय सचिव नियुक्त गर्छन र संसद् सचिवालयलाई जानकारी दिन्छन् ।

सांसदहरूले स्वकीय नियुक्त गरेपछि के कस्तो विवरण भर्नुपर्ने हो त्यसबारे संसद् सचिवालयले फारम नै बनाएको छ ।

जहाँ व्यक्तिगत विवरण समावेश गर्नुपर्ने उल्लेख छ ।

शैक्षिक योग्यता हेर्ने अभ्यास विगतमा छैन । संसद् सचिवालयका प्रवक्ता गिरी भन्छन्, ‘विगतमा शैक्षिक योग्यता हेर्ने गरिएको छैन । तर पछिल्लो समय शैक्षिक योग्यता हेर्नुपर्छ भन्ने मत पनि छ ।’

सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले सांसदले पाउने स्वकीय सचिवको सुविधा खारेज गरेको थियो । वर्तमान सरकारले स्वकीय सचिवको सुविधा सम्बन्धी व्यवस्था ब्युँताएको हो ।

अघिल्लो सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूचीमा हेरफेर गरेर संसद्का स्वकीय सचिवको सुविधा खोसेको थियो ।

खर्च कटौती अन्तर्गत तत्कालीन सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको हो ।

५ असोज २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । जसमा अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय नेपाल सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहमा लागु हुने भनिएको छ ।

यसैका आधारमा सांसद्हरूले पाउँदै आएको स्वकीय सचिवको पद खारेज भएको थियो ।

संघीय संसद् सचिवालय – Online Khabar

संंघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २५ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूचीमा हेरफेर गर्न सक्ने उल्लेख छ ।

यही अधिकार प्रयोग गरेर सरकारले अनुसूची–२ को क्रमसंख्या २ र ३ मा हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खोसेको थियो ।

तर, यस्तो निर्णयप्रति त्यसबेलै संघीय संसद्का तत्कालीन पदाधिकारीहरूले असन्तुष्टि जनाएका थिए ।

२१ फागुनमा निर्वाचित भएर आएको प्रतिनिधिसभा सदस्यहरूले पनि यो विषय निरन्तर उठाउँदै आएका थिए ।

यस पृष्ठभूमिमा सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय गरेको हो ।

वर्तमान सरकारले संंघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २५ अनुसार अनुसूचीमा हेरफेर गरेरै स्वकीय सचिवको सुविधा दिने व्यवस्था ब्युँताएको हो ।

यस सँगै अब सांसदहरूले स्वकिय सचिवको सुविधा पाउनेछन् ।

संघीय संसद्‌ अन्तर्गत प्रतिनिधि सभा २७५ सदस्यीय र राष्ट्रिय सभा ५९ सदस्यीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?