+
+
Shares

तीन दिनपछि सञ्चालनमा आएको तातोपानी नाका फेरि बन्द

सडक खुलेसँगै ३५ वटा कन्टेनर सीमा पार गर्न सफल भएका थिए । तर इको क्षेत्रमा सडक पुन: भासिएपछि नाका फेरि बन्द हुन पुगेको हो ।

दिपक खत्री दिपक खत्री
२०८३ साउन १ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण सडक भासिएपछि नेपाल–चीन जोड्ने तातोपानी नाका पुनः ठप्प भएको छ ।
  • सडक डिभिजन कार्यालयका अनुसार भोटेकोशी नदीको कटान र माथिबाट झरेको भेलले सडक क्षतिग्रस्त बनेको हो ।
  • नाका बन्द हुँदा खासामा रोकिएका कन्टेनर र सामानका कारण ट्रान्सपोर्ट व्यवसायी थप मारमा परेका छन् ।

१ साउन, सिन्धुपाल्चोक । नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै फेरि बन्द भएको छ । बिहीबार साँझ तीन दिनपछि एकतर्फी रूपमा सञ्चालनमा आएको नाका शुक्रबार बिहानदेखि पुन: ठप्प भएको हो ।

बिहीबार रातभर परेको अविरल वर्षापछि इको क्षेत्रमा माथिबाट बग्ने खोल्साको भेलले सडक बगाएपछि सीमा नाकाको आवतजावत पूर्ण रूपमा रोकिएको हो । स्थानीय प्रशासनका अनुसार वर्षापछि खोल्साको पानी सडकमै पसेर सडक क्षतिग्रस्त बनेको छ ।

सडक डिभिजन कार्यालय चरिकोटले मर्मतपछि बिहीबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याएको थियो। सडक खुलेसँगै ३५ वटा कन्टेनर सीमा पार गर्न सफल भएका थिए । तर इको क्षेत्रमा सडक पुन: भासिएपछि नाका फेरि बन्द हुन पुगेको हो ।

यसवर्ष मनसुन ढिलो सुरु भएका कारण २७ असारसम्म कोदारी सडक नियमित सञ्चालनमा थियो । तर पछिल्ला दुई दिनदेखि परेको वर्षाले लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै वर्षेनी जोखिम मानिने इको क्षेत्रमा सडक भासिने समस्या दोहोरिएको छ । उक्त क्षेत्रमा सडक भासिएर भोटेकोशी नदीतर्फ झर्ने समस्या हरेक वर्ष दोहोरिने गरेको छ ।

सडक डिभिजन कार्यालय चरिकोटका फिल्ड इन्जिनियर सुरेन्द्र सिंहका अनुसार इको क्षेत्रमा माथिबाट झर्ने खोल्साको पानी र तलबाट बग्ने भोटेकोशी नदीको कटानका कारण पानी पर्नासाथ सडकमा समस्या देखिने गरेको छ ।

इको पहिरो नियन्त्रणका लागि चीन सरकारको सहयोगमा दीर्घकालीन योजना अघि बढाइएको भए पनि चालु मनसुनभर निर्माण कार्य सुरु नहुने निश्चित भएको छ । नेपाल र चीन सरकारबीच दुई चरणको सम्झौता सम्पन्न भइसकेको र अब कार्यान्वयन सम्झौता मात्र बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बर्खा सकिएलगत्तै चिनियाँ निर्माण कम्पनी तातोपानी आएर पहिरो नियन्त्रणको काम सुरु गर्ने तयारी छ ।

हाल खासामा नेपाली व्यापारीले ल्याएका लसुन, ओखर, फलफूल, रेडिमेड सामग्री तथा विभिन्न जलविद्युत् आयोजनाका उपकरण बोकेका कन्टेनर रोकिएका छन् । सडक बन्द हुँदा ट्रान्सपोर्ट व्यवसायीलाई अतिरिक्त लागत व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यता, वर्षाको भेलले उर्लिएको भोटेकोशी नदीले तातोपानी भन्सार यार्डसमेत कटान गरिरहेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?