+
+
Shares

सरकारी भाडा नतिर्ने उद्योगबाट ४६ करोड असुल, अटेर गर्नेमाथि थप कारबाही तयारी

लामो समयदेखि भाडा नबुझाएका उद्योगमा मन्त्रालयले बिजुली, खानेपानीको लाइन काट्दै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि भाडा नतिर्ने उद्योगबाट हालसम्म ४६ करोड ७३ लाख ११ हजार ९ सय ६४ रुपैयाँ बक्यौता असुल गरेको छ।
  • मन्त्रालयले सात दिनभित्र बक्यौता नतिर्ने उद्योगको बिजुली र पानीको लाइन काट्ने चेतावनी दिएपछि अधिकांश उद्योगीले रकम बुझाउन थालेका छन्।
  • अझै पनि ठूलो रकम बक्यौता नतिर्ने कन्टिनेन्टल कम्पोनेन्ट र कन्टिनेन्टल सर्भिसेस जस्ता २१ उद्योगमाथि मन्त्रालयले थप कडा कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ।

१ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्षौंदेखि सरकारी भाडा नतिर्ने उद्योगहरूबाट हालसम्म ४६ करोड ७३ लाख ११ हजार ९ सय ६४ रुपैयाँ ५२ पैसा बक्यौता रकम असुल गरेको छ ।

लामो समयदेखि भाडा नबुझाएका उद्योगमा मन्त्रालयले बिजुली, खानेपानीको लाइन काट्दै आएको छ ।

मन्त्रालयले हिजो बिहीबार मात्रै थप ५६ लाख ६० हजार ९ सय २३ रुपैयाँ ३७ पैसा बक्यौता असुली भएको बताएको छ ।

मन्त्रालयले सात दिनभित्र सम्पूर्ण भाडा बक्यौता चुक्ता नगरे उद्योगहरूको बिजुली र पानीको लाइन काट्ने निर्देशन जारी गरेको थियो ।

सोही निर्देशनपछि उद्योगीले बक्यौता बुझाउन थालेका हुन् । बक्यौता चुक्ता गरेपछि थप पाँच उद्योगको काटिएको विद्युत् लाइन पुन: सुरु गरिएको छ ।

पटक–पटकको ताकेताबीच अझै पनि बक्यौता नतिर्ने २१ उद्योगको विद्युत् लाइन भने काटिएकै अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

अधिकांश उद्योगले बक्यौता बुझाउन थाले पनि सबैभन्दा बढी रकम तिर्न बाँकी दुई कम्पनीले भने अझै पनि सरकारको निर्णय अटेर गरिरहेको मन्त्रालयको भनाइ छ ।

आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म (जरिबाना बाहेक) सबैभन्दा बढी बक्यौता कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेस प्रालि र कन्टिनेन्टल सर्भिसेस प्रालिका नाममा देखिएको छ ।

मन्त्रालयका अनुसार कन्टिनेन्टल कम्पोनेन्टले ३ करोड ७५ लाख ३६ हजार ४ सय ५० रुपैयाँ ७८ पैसा र कन्टिनेन्टल सर्भिसेसले १ करोड १ लाख ५३ हजार ४ सय ११ रुपैयाँ १७ पैसा सरकारलाई बुझाउन बाँकी छ ।

यति ठूलो रकम दायित्व हुँदाहुँदै दुवै कम्पनीले सरकारी निर्णय र निर्देशन पूर्ण अवज्ञा गर्दै अझै आफ्ना गोदाम निर्वाध सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।

राज्यको नियम र निर्देशनलाई चुनौती दिने ती कम्पनीमाथि थप कडा कानुनी कारबाही अगाडि बढाउन मन्त्रालयले आवश्यक आन्तरिक परामर्श सुरु गरिसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?