१ साउन, काठमाडौं । असारभरि धान रोप्दा लागेको हिलो पखाली छालासम्बन्धी रोग नलागोस् भन्ने कामनाले आज साँझ घरघरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ ।
नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ । यसलाई लुतो फाल्ने भनिन्छ । यो विधि साउने सङ्क्रान्तिको बेलुकी सम्पन्न गरिन्छ ।
अधिकांश नेपाली खेतीपातीमा लाग्ने भएकाले असारभरि कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो, मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।
लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको हो ।
दक्षिणायन सुरु
साउनदेखि सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु भएको छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने गरिन्छ । एक महिना काम गरेका किसानले साउन १ गते आज आफन्त जम्मा भई रमाइलो गरेर मनाएका छन् ।
साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । उनका अनुसार साउन महिनाभरि देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ ।
साउन महिना शिवजीको मास र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गरेको हो । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । –रासस
प्रतिक्रिया 4