+
+
Shares
नाटक :

जिउँदो आकाशमुनि छोपिएको जीवन

यो नाटकले प्रत्येक दर्शकलाई आफ्नो भित्री पूर्वाग्रह भत्काउन र मानवतालाई सबैभन्दा माथि राखेर सोच्न घच्घच्याउँछ ।

सापेक्ष सापेक्ष
२०८३ साउन १ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थापागाउँस्थित थिएटरमा मञ्चन भइरहेको \'जिउँदो आकाश\' नाटकले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान र अस्तित्वको सङ्घर्षलाई विम्बात्मक शैलीमा प्रस्तुत गरेको छ।

मानव जीवन एउटा अनन्त चक्रमा बाँधिएको हुन्छ । जहाँ ऊ निरन्तर सन्तुलनको खोजी गर्छ । तर परिस्थितिको थिचोमिचोले उसलाई पटक-पटक असन्तुलनको गहिरो खाडलमा धकेलिदिन्छ । जिउँदो आकाशको केन्द्रीय कथावस्तु पनि यही चक्र र अस्तित्वको सङ्घर्ष वरिपरि घुम्छ ।

चन्द्रप्रसाद पाण्डेयको लेखन, आरके मेहताको निर्देशन र अनिल सुब्बाको एकल अभिनय  छ यसमा । यो नाटकले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान, अस्तित्व र उनीहरूको जीवनको चक्रव्यूहलाई विम्बात्मक शैलीमा प्रस्तुत गरेको छ।

मञ्चमा देखिने रित्तोपन र एउटा मानव शरीरको कम्पनले सामाजिक संरचनाका जटिल पाटाहरूलाई यसरी उजागर गर्छ, मानौं त्यो रित्तो मञ्च नै ब्रह्माण्डको सबैभन्दा कोलाहलपूर्ण केन्द्र हो ।

 

थापागाउँस्थित एक थिएटर नेपालमा मञ्चन हुन लागेको यस नाटकको मुख्य पात्र हो – गरिमा । जो जैविक रूपमा पुरुष शरीर लिएर गौरवका रूपमा जन्मिए पनि उसलाई भित्री प्रकृतिल चेतना र स्वभावमा गरिमा बनाएर पठाइदिएको छ । यही शारीरिक संरचना र आत्मिक पहिचान बीचको द्वन्द्व नै नाटकको मुख्य विषय हो ।

एकमुष्टमा नाटकले हामीलाई परिवार र विद्यालयमा वहिष्कार, सामाजिक पाखण्ड र श्रमको शोषण, आत्मसम्मान र अस्तित्वको खोजी जस्ता विषयमा पनि लैजान्छ । 

किनकि, गरिमाले बाल्यकालदेखि नै घर र विद्यालयमा निरन्तर अपमान, अस्वीकार र मानसिक हिंसा भोग्नुपर्छ । विद्यालयमा साथी र गुरुहरूले जिस्क्याउने, तिरस्कार गर्ने परिवारभित्रै पनि पुरुष बन्नका लागि दिइने चरम मानसिक दबाबले उनको बालमस्तिष्कलाई गहिरो आघात पुर्‍याउँछ ।

उनी जति ठूली हुँदै जान्छिन्, त्यति नै त्यो आघातको तह नि बढ्दै जान्छ । उनले पहिचानका लागि पाइलापाइलामा विभेदको सामना गर्नुपर्छ । समाजले उनको श्रम र अस्तित्वलाई बिल्कुलै स्वीकार्दैन । बरू एक कुण्ठित र अपहेलित पात्रको रूपमा हेर्छ।

लगातारको बहिष्करण र कानुनी अधिकारको अभावका बाबजुद गरिमाले आत्मसमर्पण गर्दिनन् । अपमानको खरानीबाट उठेर आफ्नै आत्मसम्मान र पहिचानको लडाइँ लड्ने उनको दृढता नै नाटकको मुख्य दर्शन हो ।

यो नाटकले समाजको दोहोरो चरित्रमाथि तिखो व्यङ्ग्य प्रहार गर्न सकेको छ । किनकि हाम्रो समाजले धार्मिक मूर्ति वा अमूर्त कलालाई पुज्न सक्छ; तर प्रकृतिको जीवन्त सिर्जनालाई आफ्नै आँखाअघि अपमानित गरिरहन्छ ।

शिल्प र विशिष्टता

नेपाली रङ्गमञ्चमा विरलै देखिने रङ्गमञ्चीय शिल्प यो नाटकमा प्रयोग गरिएको छ । त्यो हो – फिजिकल थिएटर । यसमा सम्भवत: निर्देशक आर. के. मेहताको नाटक अध्ययनले पनि काम गरेको छ । 

शारीरिक मुभमेन्टहरू, माइमका कारण यो नाटकमा कलात्मक बन्न  पुगेको छ।

कुनै ठूला र विलासी सेटहरू छैनन् । मञ्चमा हामीले कलाकार अनिल सुब्बाको एकल शरीर मात्र देखिरहन्छौं । तर, सुब्बाले यस नाटकमा आफ्नो शरीरलाई एउटा औजारको रूपमा प्रयोग गरेका छन् । 

जिमनास्टिक शारीरिक गति, स्वरको उतारचढावमार्फत गरिमाको आन्तरिक छटपटी र सामाजिक दमनलाई उनले दृश्यमा अनुवाद गर्न सफल भएका छन् ।

हामीले देख्न त गरिमा देख्छौं मञ्चमा; तर त्यो बीचमा अनिल कहिले आफ्नो लाहुरे बा, आमा, आफ्नो अस्तित्वमा हेय गर्ने नेपाली विषयका शिक्षक, विद्यालयकालीन आफ्नो प्रेमी आदि अनेकन् बन्छन् । यसरी एउटै कलाकारले एक घण्टाभन्दा बढी समय दर्शकलाई बाँधेर राख्नु उनको अभिनयको असाधारण परिपक्वताको प्रमाण हो ।

यो नाटकमा भावनालाई जीवन्तता दिन प्रत्यक्ष संगीतको प्रयोग गरिएको छ । तर कताकता संगीतले हामीलाई पात्रको भावनामा भने डुबाउँदैन । 

सम्भवत: स्पिकरको समस्याका कारण यस्तो भएको हुन सक्छ । यसमा काम गर्नुपर्ने देखिन्छ । तर, जसरी कथालाई संगीत र प्रकाशका कारण अघि बढाइएको छ त्यो भने प्रशंसनीय छ।

चरीकोटदेखि दिल्ली र गुवाहाटीसम्म

यो नाटक निकै महत्वपूर्ण यात्रा पार गरेको एउटा दस्तावेज पनि हो । यसको पहिलो प्रदर्शन २०७३ जेठमा दोलखाको चरीकोटमा गरिएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको नाटक महोत्सवमा पहिलो पटक  देखाइएको हो ।

त्यस समयमा निर्देशक आरके मेहता आफैंले अभिनय गरेका थिए । तर, पछि काठमाडौंमा नियमित मञ्चन गर्ने योजना बनेपछि यसमा अनिल सुब्बाको प्रवेश भयो । त्यसले नाटकलाई एउटा नयाँ उचाइ दियो ।

विगत ८ वर्षको अवधिमा यो नाटक देशभित्र र बाहिर गरी ८६ पटकभन्दा बढी मञ्चन भइसकेको छ । भारतको दिल्ली र गुवाहाटीमा आयोजित आठौं अन्तर्राष्ट्रिय ओलम्पिक थिएटर फेस्टिभलमा समेत नेपालको प्रतिनिधित्व गर्दै मञ्चन भएको थियो । 

यसबेला पुन: मञ्चन गर्दा नाटकको कथावस्तुमा केही पनि परिवर्तन गरिएको छैन । सान्दर्भिकताका लागि त्यसमा केही काम गरेको भए अझ गज्जब हुने थियो । यद्यपि, हामी अक्सर गर्व गर्ने गर्छौं कि नेपालको संविधानले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकारहरूलाई सुरक्षित गरेको छ । तर, कानुनका अक्षरहरू र भुइँको सामाजिक व्यवहारका बीच विशाल खाडल छ । 

राज्यले कानुनमा अधिकार सुनिश्चित गरे पनि व्यावहारिक जीवनमा र सामाजिक दृष्टिकोणमा अझै पनि परिवर्तन आउन सकेको छैन । बहुसंख्यक समुदायले अझै पनि अल्पसङ्ख्यक समुदायलाई आफ्नो बराबरको मानवीय दर्जा दिन हिचकिचाउने गरेको कटु यथार्थ हाम्रो सामुन्ने छ ।

यही सामाजिक अन्तरद्वन्द्वलाई उठाउनु जिउँदो आकाश आजको समयको सान्दर्भिक पनि हो । नाटकले कानुनी दफाको बहस गर्दैन । यसले एउटा मान्छेले मान्छे हुनुको नाताले पाउनुपर्ने आत्मसम्मान र मानवीय न्यायको माग गर्छ ।

आखिरीमा जिउँदो आकाशले संकेत गरे जस्तै आकाश कहिल्यै कसैको व्यक्तिगत सम्पति वा निश्चित आकारमा सीमित हुँदैन । त्यो सधैं खुला र सबैका लागि उत्तिकै फराकिलो हुन्छ । 

तर हाम्रो संकुचित मानसिकताले मान्छेको पहिचानलाई एउटा साँघुरो पिँजडामा कैद गर्न खोजिरहन्छ । कम्तीमा यो नाटकले प्रत्येक दर्शकलाई आफ्नो भित्री पूर्वाग्रह भत्काउन र मानवतालाई सबैभन्दा माथि राखेर सोच्न घच्घच्याउँछ ।

फोटो: चन्द्रबहादुर आले

नाटक: जिउँदो आकाश
निर्देशक: आरके मेहता
नाटककार: चन्द्रप्रसाद पाण्डेय
मञ्चमा: अनिल सुब्बा
स्थान: एक थिएटर नेपाल, थापागाउँ
मञ्चन अवधि : १ साउनदेखि १२ गतेसम्म

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?