News Summary
Generated by OK AI. Editorially reviewed.- सूचना प्रविधिको विकास र डिजिटल प्लेटफर्मको दुरुपयोगले समाजमा भ्रम सिर्जना गरी आम नागरिकलाई सही सूचना प्राप्त गर्नबाट वञ्चित गराउने चुनौती बढेको छ।
- गणेश नेपालीको मृत्यु प्रकरणमा सञ्चारमाध्यम र डिजिटल प्लेटफर्महरू पक्ष-विपक्षमा विभाजित हुँदा मिथ्या सूचना र प्रोपोगण्डाले सामाजिक सद्भावमा नकारात्मक असर पुर्याइरहेको छ।
- पत्रकारिताको आधारभूत मूल्य मान्यतालाई उपेक्षा गर्दै ‘भाइरल’ हुने होडबाजी र डिजिटल प्लेटफर्मको असुरक्षित प्रयोगले लोकतन्त्रको आत्मा मानिने सूचित नागरिकको विवेकलाई समेत प्रभावित पारेको छ।
समयसँगै भित्रिएको प्रविधिगत विकासले निम्त्याएको/निम्तिएको चुनौतीलाई पन्छाएर अगाडि बढ्न सकिने वर्तमानको अवस्था छैन। प्रविधिगत चुनौतीको कुरा गर्दा सर्वाधिक प्रमुख छ सञ्चारप्रविधि क्षेत्रको चुनौती। प्रविधिगत विकासका आयामलाई प्रत्येक अवस्थामा चुनौती मानिनु हुँदैन, होइन पनि। तर कुनै पनि व्यक्ति वा समूहले आफ्ना निहित स्वार्थलाई सर्वोपरि मानेर अरूलाई नकारात्मक असर पर्ने गरी प्रयोग गर्ने मनसाय राख्छ वा प्रयोग गर्छ भने त्यसले निश्चित रूपमा चुनौती निम्त्याउँछ। यस अवस्थाबाट अर्थात् यस्तो चुनौतीबाट वर्तमान प्रभावित छैन वा हुँदैन भनेर भन्न सकिने अवस्था छैन।
पछिल्ला केही समयमा, खासगरी मुगुका युवा गणेश नेपालीले त्रिपुरेश्वरमा रोजेको आत्मदाहको बाटो, त्यसपछिको उनको मृत्यु र नेपालीको मृत्युपछि उत्पन्न अप्रिय अवस्थाका सन्दर्भमा भइरहेको मिडियाको उपयोग (दुरुपयोग ?) लाई उदाहरणका रूपमा लिन सकिन्छ। प्रविधिको सदुपयोगले मानव जीवनलाई सहज र सुविधासम्पन्न बनाउँछ भन्ने अपेक्षा र विश्वास गरिन्छ, तर यो कुरा निश्चय पनि यसको प्रयोगको विधि र नियतमा भर पर्छ। खासमा सञ्चारमाध्यमले आमसर्वसाधारणलाई सत्य–तथ्य पस्किन्छन् भन्ने मान्यता राखिन्छ तर जब यही मिडियाले पस्केका विषयवस्तु (कन्टेन्ट)ले भ्रम सिर्जना गर्छ र आमव्यक्तिलाई सही सूचना प्राप्त गर्नबाट वञ्चित गर्छ भने मिडियाकर्मका बारेमा गम्भीरतापूर्वक सोच्नु जरूरी हुन्छ।

गणेश नेपाली मृत्यु प्रकरणमा सञ्चारमाध्यम जसरी विभाजित भएर पक्ष र विपक्षमा बाँडिएका छन् उदेकलाग्दो छ। एकथरी जसरी पनि सरकारलाई जिम्मेवार बनाउन चाहन्छन्, मानौं सरकारलाई गलाउने तिनले एक उपयुक्त अस्त्र प्राप्त गरेका छन्। यो पक्षले पुराना सामग्रीलाई पनि नयाँ जस्तै बनाएर पस्किने प्रयत्न गरेका छन् भने अर्को पक्ष जसरी भए पनि सरकारको बचाउ गर्नुपर्छ भन्ने मनस्थितिमा छ। यो पक्षले सरकारको बचाउ गर्दै एक किसिमले गणेशको मृत्युलाई नै स्वाभाविक प्रमाणित गर्ने प्रयत्न गरेर हदैसम्मको घृणित कार्य गर्न खोजेको देखिन्छ।
स्वीकार गर्नैपर्छ, यो वाक्युद्धमा परम्परागत मिडियाभन्दा पनि न्यूमिडिया अर्थात् डिजिटल प्लेटफर्महरू ‘उपयोग’ भइरहेका छन्। अवस्था कस्तो उत्पन्न भएको छ भने सरकार समर्थितले सम्पादकीय प्रक्रियामा विश्वास गरेर पत्रकारिता गर्ने परम्परावादी मिडिया (अपवाद यहाँ पनि छन्)लाई अस्वीकार गर्ने र असान्दर्भिक मान्ने प्रयत्न गरिरहेका छन् अनि सम्पादकीय प्रक्रियामा खासै सक्रियता नदेखाउने नागरिक पत्रकारिताकेन्द्रित डिजिटल मिडियालाई नै सबैथोक मान्ने प्रयास गरिरहेका छन्। हुन पनि गत फागुनमा सम्पन्न निर्वाचनमा पछिल्लो प्रकारकै मनस्थिति भएकाहरूको प्रभावकारिता बढी भएको मूल्यांकन गरिएको थियो।
निर्वाचनलाई लोकतन्त्र थप मजबुत बनाउने, सामाजिक सद्भाव र वैचारिक सहअस्तित्वलाई गहिरो बनाउने अवसर मानिन्छ। गएको निर्वाचनका सन्दर्भमा सूचनाप्रविधिको विकास एक बलियो चुनौतीका रूपमा उपस्थित भएको स्वीकार गरिएको थियो। निर्वाचनमा परम्परागत प्रचार–प्रसारसँगै डिजिटल प्लेटफर्म र अनलाइन स्पेसको प्रयोग अत्यधिक बढेको थियो। यही बढ्दो डिजिटल प्रयोगसँगै केही गम्भीर चुनौती पनि सतहमा देखिएका थिए। गणेश नेपाली प्रकरणमा पनि त्यस्तै प्रवृत्ति देखिएको छ भनियो भने असंगत हुने छैन।
आम व्यक्तिलाई सही सूचना सम्प्रेषण गर्ने भन्दा पनि निहित स्वार्थका लागि मिडियाको ‘प्रयोग’ गरेर आम व्यक्तिलाई भ्रमित बनाउने प्रयत्न हुँदैछ। यस कार्यमा सूचनाप्रविधिको प्रयोग गरिंदैछ र डिजिटल स्पेसलाई माध्यम बनाइँदैछ। फेक खबर, डीप फेक भिडियो, घृणा फैलाउने सामग्री अहिले कुनै पनि व्यक्तिको मोबाइलमै आइपुग्न सक्छन्।
विचारणीय छ, विगतको निर्वाचन वा अहिलेको गणेश नेपाली आत्मदाहपछिको मृत्यु प्रकरण त उदाहरण मात्र हुन्, तर खासमा वर्तमानको कुनै पनि सन्दर्भमा आफ्नो मोबाइलसम्म अनपेक्षित, अनिच्छित र अवाञ्छित रूपमा आइपुगेका सूचनालाई पुष्टि गरेर मात्र प्रयोग गर्ने वा नगर्ने अतिरिक्त मानसिक दबाबमा छन् आम व्यक्ति। निश्चय पनि अप्रमाणित कुराको आधारमा धारणा बनाउनु उचित हुँदैन।
इन्टरनेटमा आधारित माध्यमको प्रयोग गरेर स्वार्थ समूहले फैलाएको ‘प्रोपोगण्डा’को उपस्थितिमा आम व्यक्ति दिग्भ्रमित हुनसक्ने अवस्थामा छन् र उनीहरू उचित निर्णय लिने क्रममा अत्यन्तै सकसपूर्ण अवस्थाको सामना गर्न बाध्य छन्।
प्रविधिको प्रयोग नराम्रो होइन तर दुरुपयोग भने नराम्रो हो। यो आलेख तयार गर्ने सन्दर्भमा पनि एआई (कृत्रिम बौद्धिकता)लगायत सूचनाप्रविधि सम्बद्ध संयन्त्रहरूको सहयोग लिने प्रयत्न गरिएको छ। केही प्रश्न सोधेर उत्तर खोज्ने र सही विश्लेषण्को प्रयत्न भएको छ। उद्देश्य आम व्यक्तिको हितरक्षा हो। यसलाई नकारात्मक मान्न नसकिएला, तर यही संयन्त्रलाई प्रयोग गरेर कसैले गलत सूचनामा आधारित विश्लेषण प्रस्तुत गरेर सूचनाग्राहीलाई आफ्नो स्वार्थअनुकूल प्रभावित गर्ने उद्देश्य राख्दछ भने निश्चय पनि त्यो गलत हो।

पछिल्ला वर्षहरूमा कुनै पनि विषय र सन्दर्भलाई प्रभावित गर्न सक्ने गरी डिजिटल स्पेसमा मिथ्या सूचना, दुराशययुक्त सूचना र अफवाहहरूको बाढीको अवस्था रहेको यथार्थलाई अस्वीकार गर्न सकिंदैन। कतिपय अवस्थामा झुटा भिडियो, फोटो सम्पादन, एआई मार्फत बनाइएका नक्कली आवाज, भ्रामक तथ्याङ्क आदिको प्रयोग गरी आम व्यक्तिलाई भ्रमित पार्ने प्रयास भइरहेको देखिन्छ। यसले आम व्यक्तिको मनोविज्ञानमा प्रभाव पार्छ, उनीहरूलाई अन्योलमा पार्छ र गलत निर्णय लिन प्रेरित गर्न सक्छ।
गएको निर्वाचनमा ‘एल्गोरिदम’को निकै बढी प्रयोग भएको विश्लेषण गरिएको छ। भन्नेले त निर्वाचनका सन्दर्भमा योजनाबद्ध ढंगले नै एल्गोरिदमको प्रयोग भएको थियो पनि भन्छन्, तर प्रमाणित त कसरी गर्न सकिएला खै ? खासमा एल्गोरिदमद्वारा सिर्जित हुने ‘इको चेम्बर’ डिजिटल प्लेटफर्मको महत्वपूर्ण चुनौती हो। सामाजिक सञ्जालले प्रयोगकर्तालाई उनीहरूले रुचाएका वा पहिले हेरेका वा प्रयोग गरेका जस्तै सामग्री बारम्बार देखाउँछ। यसले व्यक्ति एउटै विचारधारामा सीमित हुने र फरक दृष्टिकोण सुन्न नचाहने अवस्था सिर्जना गर्छ। यस अवस्थामा स्वस्थ बहस र सहिष्णु संवादको संस्कृति कमजोर हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन।
वर्तमानमा, डिजिटल स्पेस असुरक्षित बन्दै गएको आकलन गरिएको छ। जानकारहरूका अनुसार व्यक्तिगत डाटा चोरी, गोपनीयता उल्लङ्घन, ट्रोलिङ, साइबर दुर्व्यवहार र घृणात्मक अभिव्यक्ति जस्ता समस्या पछिल्ला समयमा बढेका छन्। यस्तो वातावरणमा आम व्यक्तिले मानसिक दबाब महसुस गर्न सक्छन्। लगातार नकारात्मक सन्देश, उत्तेजक सामग्री र भय पैदा गर्ने सूचनाले तनाव र असुरक्षा बढाउनु स्वाभाविक हो। अहिलेको गणेश नेपालीको मृत्युका सन्दर्भमा पनि यो प्रवृत्ति हाबी हुन खोजेको छ भन्नु असङ्गत हुँदैन। एआई प्रविधि स्वयंमा सकारात्मक सम्भावना बोकेको साधन हो, तर हाल एआईको नकारात्मक प्रयोग बढी हुन थालेको आशङ्का छ। उदाहरणका लागि, एआई मार्फत नक्कली भिडियो वा अडियो बनाएर व्यक्तिको छवि बिगार्ने प्रयास, गलत उद्धरण फैलाउने वा सामाजिक विभाजन बढाउने सामग्री उत्पादन गर्ने जस्ता गतिविधि हुनसक्छन्। निश्चय पनि यसबाट आम व्यक्तिको सही सूचना प्राप्त गर्ने लोकतान्त्रिक अधिकार कुण्ठित हुने अवस्थाको सिर्जना हुन्छ।
लोकतन्त्रको आत्मा भनेको स्वतन्त्र, सूचित र विवेकी नागरिक हुन्। व्यक्ति भ्रमित भए, मानसिक दबाबमा परे वा गलत सूचनाबाट प्रभावित भए भने समाजको दिशा नै बदलिन सक्छ र अवाञ्छितहरूले स्वार्थसिद्ध गर्न सक्ने सम्भावना बढ्छ। त्यसैले डिजिटल स्पेसमा फैलिने मिथ्या तथा दुराशययुक्त सूचनालाई नियन्त्रण गर्नु आवश्यक छ। यसका लागि राज्य, राजनीतिक दल, सञ्चारमाध्यम, प्रविधि कम्पनी र नागरिक सबैको साझा जिम्मेवारी हुन्छ।
पत्रकारितामा पछिल्ला वर्षमा देखिएका फरकपनाबारे बुटवललाई कार्यक्षेत्र मानेर पत्रकारिता गरिरहेका अग्रज पत्रकार डीआर घिमिरे भन्छन्- सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म मार्फत ‘भाइरल’ सामग्री बनाउन सके केही मात्रामा भए पनि आम्दानी गर्न सकिन्छ भन्ने धारणा व्यापक छ। केहीले यसबाट आर्थिक लाभ पनि हासिल गरेका छन्, तर भाइरल हुने प्रतिस्पर्धामा पत्रकारिताका आधारभूत सिद्धान्त, तथ्य परीक्षण, सन्तुलन र सम्पादकीय उत्तरदायित्वलाई उपेक्षा गर्ने प्रवृत्ति भने बढ्दै गएको पाइन्छ।
घिमिरेका अनुसार पत्रकारितामा ‘भाइरल’ हुनुलाई प्रभावको वास्तविक मापन मान्न सकिंदैन। सबैभन्दा धेरै हेरिने वा पढिने सामग्री नै सबैभन्दा उपयोगी, सत्य वा सामाजिक रूपमा जिम्मेवार हुन्छ भन्न सकिंदैन।प्रायः रिस, डर, आक्रोश, आश्चर्य, करुणा वा घृणा उत्पन्न गर्ने सामग्री नै तीव्र रूपमा भाइरल हुने गर्छन्। दुर्घटनाका भिडियो, राजनीतिक आरोप–प्रत्यारोप, रोदन वा भावुक दृश्य तथा धार्मिक तनाव जस्ता सामग्री धेरै हरिने र शेयर गरिने प्रवृत्ति छ।
निश्चय पनि आजको पत्रकारिता तीव्र सङ्क्रमणको चरणमा छ भनियो भने असंगत ठहर्दैन। एक समय थियो जब सम्पादक, समाचार कक्ष र संस्थागत मिडियाले सार्वजनिक सूचना प्रवाहको नियन्त्रण गर्थे। त्यतिबेला तथ्य परीक्षण, सम्पादकीय उत्तरदायित्व र नैतिक मापदण्ड पत्रकारिताको आधार मानिन्थ्यो, तर डिजिटल प्रविधि, स्मार्टफोन र सामाजिक सञ्जाल मार्फत गरिने पत्रकारिताका सन्दर्भमा त सूचना उत्पादनको संरचना नै बदलिएको छ भन्दा फरक पर्दैन। आज कुनै ठूलो मिडिया संस्था नभए पनि एक जना व्यक्तिले मोबाइल र इन्टरनेटको भरमा लाखौं मानिसमाथि प्रभाव जमाउन सक्छ। यस अर्थमा व्यक्ति स्वयम् ‘मिडिया’ बन्न पुगेको छ।
आजको सन्दर्भमा एउटा बहसमा भने मिडियाकर्मीहरू सहभागी हुनैपर्ने भएको छ, त्यो के भने एउटा पत्रकारको परिचय बनाएकाको सामाजिक सञ्जालमा हुने उपस्थितिलाई कसरी मूल्यांकन गर्ने ? उनी पत्रकार हुन् कि आम व्यक्ति, कि दुवै ? एउटा कुरा त स्वीकार्नैपर्छ, अहिले सामाजिक सञ्जाल मार्फत सतहमा देखिएको वाक्युद्धमा यस्तै दोहोरो परिचयका आधारमा उन्मुक्ति खोज्नेहरूकै उपस्थिति बढी छ।
पत्रकारले आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल (फेसबुक, एक्स) जस्ता एकाउन्ट प्रयोग गर्दा पत्रकारिताको मर्यादा कायम राख्नुपर्छ कि पर्दैन ? पत्रकारले सेयर गर्ने स्टाटस वा विचारले उसको मिडियाको तटस्थतामा प्रश्न उठ्छ कि उठ्दैन ? केही यस्ता प्रश्न छन् जसको उत्तरको उपस्थितिमा मात्र व्यावसायिक र नागरिक पत्रकार बीचको भेदबारे कुनै स्पष्ट धारणा बनाउन सकिन्छ र अहिलेको वास्तविक दोषी को हो भन्ने किटान गर्न सकिन्छ।
प्रतिक्रिया 4