+
+
Shares

कोशी राजमार्ग, भेडेटार-रवि-राँके र तमोर कोरिडोरमा सवारी सञ्चालनमा रोक

प्रशासनले धनकुटाको मुख्य सडक कोशी राजमार्ग सहित भेडेटार-रवि-राँके सडक र तमोर कोरिडोर सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।

ईश्वर थापा ईश्वर थापा
२०८३ साउन २ गते १७:४१

२ साउन, धनकुटा। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेअनुसार जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।

अविरल वर्षाको सम्भावना र त्यसबाट हुन सक्ने बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो ।

प्रशासनले धनकुटाको मुख्य सडक कोशी राजमार्ग सहित भेडेटार–रवि–राँके सडक र तमोर कोरिडोर सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।

भेडेटार–रवि–राँके सडकखण्ड, मुलघाटदेखि पाँचथरको सीमासम्मको तमोर कोरिडोरमा सवारी सञ्चालनमा पूर्णपुरमा रोक लगाइए पनि कोशी राजमार्गमा भने अवस्था अनुसार रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी दिए ।

उनका अनुसार भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने सवारीसाधन सञ्चालनमा रोक लगाएको भएपनि भेडेटारबाट धनकुटा मात्रै आउने सवारीमा भने रोक लगाइएको छैन ।

जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा शनिबार र आइतबार देशका विभिन्न भूभागसहित धनकुटामा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त व्यवस्था गरिएको प्रशासकीय अधिकृत धमलाले बताए ।

यस्तै, अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ । तीनै तहका सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रशासकीय अधिकृत धमलाको भनाइ छ ।

जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन गरिएको छ । पहिरो तथा बाढीको जोखिममा रहेका बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि प्रशासनले सम्बन्धित निकायलाई निर्देशन दिएको उनको भनाइ छ ।

धमलाले खोला, नदी र खहरेको आसपास तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै आकस्मिक अवस्थामा नेपाल प्रहरीको हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण शनिबार र आइतबार वर्षाका २३ बढी जिल्लामा बाढीको उच्च जोखिम रहेकोले सतर्क रहन आग्रह गरे अनुसार जिल्ला प्रशासन कार्यालय धनकुटाले सतर्कता सहित सडकमा सवारी सञ्चालनमा रोक लगाएको हो ।

प्राधिकरणका अनुसार दुई दिन धनकुटा सहित पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा उच्च जोखिममा रहेका छन् ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?