+
+
Shares
विचार :

समाजवादको नयाँ बाटो : मार्क्सवाद र बुद्ध दर्शन बीच संवाद

मार्क्सवादलाई बुद्ध दर्शनसँग मिश्रण गर्नु होइन; बरु मानव सभ्यताका उत्कृष्ट वैचारिक उपलब्धिहरूसँग सिर्जनात्मक संवाद गर्दै समाजवादी आन्दोलनको वैचारिक क्षितिजलाई फराकिलो बनाउनु हो।

हरिबोल गजुरेल हरिबोल गजुरेल
२०८३ साउन ८ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट आन्दोलनले आधुनिक विज्ञान, बुद्ध दर्शन र मार्क्सवादबीच सिर्जनात्मक संवाद गर्दै आफ्नो वैचारिक आधारलाई समयानुकूल विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।
  • समाजवादको सफलताका लागि आर्थिक संरचना परिवर्तनसँगै मानवीय चेतना, नैतिकता र कार्यसंस्कृतिमा समेत व्यापक रूपान्तरण गर्नुपर्ने कुरामा जोड दिइएको छ।
  • विगतका वैचारिक उपलब्धिहरूको जडसूत्रवादी प्रयोग वा परित्यागभन्दा पनि वैज्ञानिक समीक्षा र आलोचनात्मक बहसका माध्यमबाट समाजवादी कार्यदिशा निर्माण गर्नु आजको मुख्य चुनौती हो।

विश्वको एक तिहाइ भूभागमा आफ्नो प्रभाव स्थापित गरेको कम्युनिस्ट आन्दोलन आजको समयमा आइपुग्दा अत्यन्त रक्षात्मक अवस्थामा पुगेको छ। यस्तो किन भयो भन्ने तथ्यपरक विश्लेषण र भविष्यमा त्यसको पुनरावृत्ति नहुने वैचारिक आधार निर्माण गर्नु आजको प्रमुख चुनौती हो।

प्रतिक्रान्तिलाई प्रभावकारी रूपमा रोक्न सक्ने स्तरसम्म मार्क्सवादको सिर्जनात्मक विकास नगर्दासम्म समाजवादी क्रान्तिको सफलता र स्थायित्व सुनिश्चित हुन सक्दैन। माओले यही उद्देश्यका साथ सांस्कृतिक क्रान्तिको अवधारणा अघि सारे पनि त्यसले अपेक्षित सफलता हासिल गर्न सकेन। नेपालको कम्युनिस्ट आन्दोलन पनि आज यही समस्यासँग जुधिरहेको छ।

मार्क्सवादको विकास भएको ऐतिहासिक कालमा आज उपलब्ध आधुनिक विज्ञान, न्युरोसाइन्स तथा पूर्वीय दार्शनिक परम्पराको अनुभवजन्य अध्ययनसँग पर्याप्त संवाद हुन नसक्नु पनि यसका केही सीमामध्ये एक कारण हुन सक्छ कि ?

यदि हो भने पूर्वीय सभ्यता र दर्शन, विशेषतः बुद्ध दर्शनका अनुभवजन्य तथा मानव–केन्द्रित पक्षसँग वैज्ञानिक र आलोचनात्मक संवाद गर्नु आजको आवश्यकता देखिन्छ। 

मार्क्सवादको गतिशीलता र विकासको प्रश्न

मार्क्सवाद अन्तिम वा अपरिवर्तनीय विचार प्रणाली होइन; यो विज्ञान, समाज र मानवीय अनुभवसँगै निरन्तर विकसित हुने विश्वदृष्टि हो। आज एकाधिकार पूँजीवादको नाफामुखी अन्धदौडले मानव अस्तित्व, सामाजिक न्याय र पृथ्वीको पर्यावरणलाई गम्भीर सङ्कटमा पुर्‍याइरहेको छ।

यस्तो अवस्थामा समाजवादको आवश्यकता झन् बढेको छ। तर यी चुनौतीको सामना समाजवादको परम्परागत व्याख्या र अभ्यासले मात्र गर्न सक्दैन। त्यसैले २१औं शताब्दीका नयाँ यथार्थ, वैज्ञानिक उपलब्धि र मानव सभ्यताका अनुभवलाई आत्मसात् गर्दै मार्क्सवादको सिर्जनात्मक विकासका साथै समाजवादी रूपान्तरणको नयाँ मौलिक कार्यदिशा र अभ्यासको खोज अपरिहार्य बनेको छ।

यसका लागि द्वन्द्वात्मक भौतिकवादका आधारलाई अझ समृद्ध बनाउन बुद्ध दर्शनमा विशेष रूपमा विकसित चेतना, मानव व्यवहार, करुणा, आत्मानुशासन र मानसिक परिष्कार सम्बन्धी अनुभवजन्य चिन्तनसँग वैज्ञानिक तथा आलोचनात्मक संवाद आवश्यक छ। यसको उद्देश्य मार्क्सवादलाई कुनै धार्मिक वा आध्यात्मिक दर्शनसँग मिश्रण गर्नु होइन; बरु मानव रूपान्तरणका प्रश्नमा उपयोगी अनुभवलाई आलोचनात्मक रूपमा आत्मसात् गर्नु हो।

विदेशी अनुभवबाट धेरै सिकिए पनि आफ्नै समाजमा विद्यमान ज्ञान, दर्शन र सामुदायिक अभ्यासका प्रगतिशील पक्षलाई आधुनिक विज्ञानको दृष्टिले पुनर्पाठ गर्दै समाजवादी चिन्तनसँग जोड्ने प्रयास अपेक्षाकृत कमजोर रह्यो।

साथै, बुद्धले आफ्नो समयको सामाजिक–ऐतिहासिक परिवेशमा अहिंसा, करुणा र सदाचारलाई किन विशेष महत्त्व दिए भन्ने प्रश्नको पनि वस्तुगत अध्ययन आवश्यक छ। त्यस्तै, साध्य र साधनको सम्बन्धलाई समाजवादी आन्दोलनले कसरी बुझ्यो र व्यवहारमा त्यसको प्रयोगबाट के–कस्ता सकारात्मक वा नकारात्मक अनुभव प्राप्त भए भन्ने विषयमा पनि खुला र तथ्यपरक बहस आवश्यक छ।

समाजको रूपान्तरण केवल आर्थिक संरचना परिवर्तनबाट मात्र सम्भव हुँदैन। उत्पादन सम्बन्धको परिवर्तन अनिवार्य भए पनि त्यो मात्र पर्याप्त हुँदैन। समाज बदल्न मानवीय चेतना, नैतिकता, व्यवहार, कार्यसंस्कृति र मनोवैज्ञानिक पक्षमा पनि रूपान्तरण आवश्यक हुन्छ। आर्थिक मुक्ति र मानवीय रूपान्तरण एकअर्काका पूरक प्रक्रिया हुन्।

यी दुवै प्रक्रिया अन्ततः पदार्थ र चेतना बीचको द्वन्द्वात्मक अन्तरसम्बन्ध र परस्पर निर्भरतासँग जोडिएका छन्। 

नेपालको सन्दर्भमा मार्क्सवाद

नेपाल तथा दक्षिणएशियाको सन्दर्भमा समाजवादी आन्दोलनले आफ्नै इतिहास, दर्शन, संस्कृति र बौद्धिक परम्पराको सिर्जनात्मक अध्ययनमा अपेक्षित ध्यान दिन सकेको छैन। विदेशी अनुभवबाट धेरै सिकिए पनि आफ्नै समाजमा विद्यमान ज्ञान, दर्शन र सामुदायिक अभ्यासका प्रगतिशील पक्षलाई आधुनिक विज्ञानको दृष्टिले पुनर्पाठ गर्दै समाजवादी चिन्तनसँग जोड्ने प्रयास अपेक्षाकृत कमजोर रह्यो।

यद्यपि, युद्धका क्रममा केही महत्त्वपूर्ण मौलिक वैचारिक पहल भएका थिए। २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनले विश्व कम्युनिस्ट आन्दोलनको इतिहासलाई पुनर्मूल्याङ्कन गर्दै त्यसको नेतृत्व मुख्यतः स्टालिन र सामान्यतः माओसँग जोडिएको इतिहासका नकारात्मक पक्षहरूको समीक्षा गर्ने प्रयास गरेको थियो। त्यसैगरी, २०६० को दुम्ला बैठकले प्रतिक्रान्तिको सम्भावना न्यूनीकरणसँग सम्बन्धित ‘एक्काइसौं शताब्दीको जनवाद’ को अवधारणा अघि सारेको थियो भने २०६२ को चुनवाङ बैठकले लोकतान्त्रिक गणतन्त्र सम्बन्धी नयाँ वैचारिक दृष्टिकोण प्रस्तुत गरेको थियो। यी प्रयासहरूले आन्दोलनलाई नयाँ ऊर्जा र वैचारिक आत्मविश्वास प्रदान गरेका थिए।

तर शान्ति प्रक्रियापछि आफ्नै अनुभवका आधारमा सिद्धान्तको सिर्जनात्मक विकास गर्ने क्रम क्रमशः कमजोर बन्दै गयो। अझ गम्भीर कुरा त, पार्टीले स्वयं अघि सारेका र करिब सर्वसम्मत रूपमा पारित गरेका वैचारिक निष्कर्षहरूलाई व्यवहारमा लागू गर्ने त परै जाओस्, पार्टीभित्र विधिवत् छलफल समेत नगरी मुख्य नेतृत्वले एकपछि अर्को गर्दै तिनलाई उल्ट्याउँदै गयो।

विश्वमा भएका प्रतिक्रान्तिका अनुभवका आधारमा मुख्य नेतृत्व सरकारमा नजाने भन्ने ‘एक्काइसौं शताब्दीको जनवाद’ को मर्म विपरीत पटक-पटक सरकारको नेतृत्व गर्ने विडम्बनापूर्ण बाटो अवलम्बन गरियो।

यसरी आफ्नै अनुभवबाट विकसित वैचारिक उपलब्धिहरूको संरक्षण, परीक्षण र विकास गर्नुको सट्टा तिनैलाई क्रमशः परित्याग गर्ने प्रवृत्तिले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक र राजनीतिक दुवै रूपमा कमजोर बनाएको छ। आज आन्दोलनले सामना गरिरहेको सङ्कटको एउटा प्रमुख कारण यही हो।

यस सन्दर्भमा मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) को अवधारणाका सकारात्मक र नकारात्मक दुवै पक्षको वस्तुगत समीक्षा आवश्यक छ। सोभियत सङ्घको विघटनपछिको अन्तर्राष्ट्रिय परिस्थिति र नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनको पृष्ठभूमिमा यो अवधारणा अगाडि आएको थियो।

त्यस सन्दर्भलाई ध्यानमा राख्दा मदन भण्डारीको उद्देश्यप्रति अनावश्यक शङ्का गर्नु उपयुक्त देखिँदैन। उनको नियत नै खराब थिएन, बरु नेपालमा कम्युनिस्ट आन्दोलनलाई विश्वव्यापी सङ्कटबाट बचाउने खोजीसँग सम्बन्धित थियो। तर मदन भण्डारीको निधनपछि उक्त अवधारणाको प्रयोग मूल उद्देश्यभन्दा क्रमशः फरक दिशातर्फ मोडिंदै गयो।

यदि उक्त अवधारणालाई व्यावहारिक आवश्यकतासँगै पर्याप्त सैद्धान्तिक गहिराइका साथ संवाद गरिएको भए त्यसमा रहेका अन्तरविरोधहरू अझ स्पष्ट रूपमा समाधान हुनसक्थे। तर, त्यसलाई सच्याउनुको सट्टा एमालेमा क्रमशः संसदीय प्रतिस्पर्धालाई नै मूल रणनीतिका रूपमा ग्रहण गर्ने प्रवृत्ति बलियो बन्दै गयो। २०६३ सालपछि त यसलाई समाजवादी कार्यदिशाकै नयाँ मोडेलका रूपमा व्याख्या गर्ने प्रयास समेत देखियो, जसले यसको मूल सन्दर्भ र सीमामाथि थप बहस आवश्यक बनाएको छ। वरिष्ठ नेता झलनाथ खनालले जबजमाथि उठाएको प्रश्न यसै कुरासँग सम्बन्धित छ।

कुनै पनि वैचारिक अवधारणाको मूल्याङ्कन त्यसको मूल उद्देश्य र व्यावहारिक प्रयोगलाई अलग-अलग आधारमा गर्नुपर्छ। यदि युद्धको तयारीकै क्रममा माओवादी नेतृत्व र मदन भण्डारी बीच गम्भीर वैचारिक संवाद हुनसकेको भए, दुवै धाराका सकारात्मक अनुभवहरूको संश्लेषण गर्ने सम्भावना अझ बलियो बन्न सक्थ्यो।

आजको आवश्यकता ‘मनको लड्डु घिउसित खाने’ कल्पनामा रमाउनु होइन; आफ्नै प्राचीन इतिहास, दर्शन र बौद्धिक सम्पदालाई मार्क्सवाद र आधुनिक विज्ञानको कसीमा पुनः अध्ययन गर्नु हो।

केही राजनीतिक टिप्पणीकारहरूले युद्ध थालनी हुनु केही समय पहिले माओवादी नेतृत्वसँग मदन भण्डारीले वैचारिक संवादको प्रयास गरेको र तारतम्य मिलाइदिन भनेको तर अर्को पक्षले विभिन्न बहाना बनाएर टारेको उल्लेख गरेका छन्। यद्यपि यस्ता दाबीहरूको ऐतिहासिक पुष्टि र थप अध्ययन आवश्यक छ।

आजको आवश्यकता भनेको जबजको न त निरपेक्ष समर्थन गर्नु हो, न अस्वीकार; बरु त्यसका सकारात्मक पक्षको वैज्ञानिक मूल्याङ्कन र सीमाहरूको आलोचनात्मक समीक्षा गर्दै समाजवादी सिद्धान्तको सिर्जनात्मक विकासका लागि खुला वैचारिक संवाद अघि बढाउनु हो। 

पदार्थ, चेतना, बुद्ध दर्शन र आधुनिक विज्ञान

आजको आवश्यकता ‘मनको लड्डु घिउसित खाने’ कल्पनामा रमाउनु होइन; आफ्नै प्राचीन इतिहास, दर्शन र बौद्धिक सम्पदालाई मार्क्सवाद र आधुनिक विज्ञानको कसीमा पुनः अध्ययन गर्नु हो। यही सन्दर्भमा यस लेखले एउटा मूल प्रश्न उठाएको छ- के २१औं शताब्दीमा द्वन्द्वात्मक भौतिकवाद, आधुनिक विज्ञान र बुद्ध दर्शनका अनुभवजन्य तथा व्यावहारिक पक्ष बीच सिर्जनात्मक संवाद सम्भव छ ? यदि सम्भव छ भने, त्यसले समाजवादी आन्दोलनलाई नयाँ वैचारिक ऊर्जा र विकासको नयाँ दिशा दिन सक्छ। यही सम्भावनाको खोज नै यसको उद्देश्य हो।

पदार्थ र चेतना एकअर्काका विरोधी होइनन्; तिनीहरू एउटै विकास प्रक्रियाका परस्पर सम्बन्धित पक्ष हुन्। चेतनाको सम्भावना पदार्थभित्रै निहित हुन्छ र पदार्थ निश्चित स्तरको जटिलतामा विकसित भएपछि चेतनाको उदय हुन्छ। पदार्थ र चेतना बीच यान्त्रिक विभाजन गर्नु आवश्यक छैन।

मानव मस्तिष्क यसको सबैभन्दा विकसित उदाहरण हो। मस्तिष्क पदार्थबाट बनेको भए पनि त्यसकै जटिल विकासबाट विचार, स्मृति, भावना, निर्णय क्षमता र आत्मचेतना जस्ता गुणहरूको विकास भएको छ। एकपटक विकसित भएपछि चेतनाले मानव व्यवहार, सामाजिक सम्बन्ध र इतिहास निर्माणमा सक्रिय भूमिका खेल्छ। त्यसैले पदार्थ र चेतनाको सम्बन्ध एकतर्फी होइन, द्वन्द्वात्मक र परस्पर क्रियाशील हुन्छ। मनोदैहिक अवस्था सम्बन्धी केही अनुसन्धानले मानसिक अवस्था र शारीरिक स्वास्थ्य बीच घनिष्ठ अन्तरसम्बन्ध रहेको देखाएका छन्। यसले चेतना र भौतिक प्रक्रिया बीचको अन्तरक्रियालाई थप स्पष्ट पार्छ।

द्वन्द्वात्मक भौतिकवादले पदार्थको प्रधानतामा जोड दिन्छ। तर यसको अर्थ चेतनाको भूमिका निष्क्रिय छ भन्ने होइन। चेतना पदार्थकै उच्च विकसित रूप भएकाले त्यसले समाज परिवर्तनमा महत्त्वपूर्ण, यहाँसम्म कि कतिपय अवस्थामा निर्णायक भूमिका पनि खेल्न सक्छ। कुनै पनि सामाजिक परिवर्तन अन्ततः मानिसको सचेत क्रियाकलापबाट सम्भव हुन्छ। यस अर्थमा चेतना, नैतिकता र आत्म रूपान्तरणका सम्बन्धमा बुद्ध दर्शनले विकास गरेका अनुभवजन्य विचारहरूले मार्क्सवादको सिर्जनात्मक विकासमा उपयोगी योगदान दिन सक्छन्।

बुद्ध दर्शनले पनि पदार्थ र चेतनालाई पूर्ण रूपमा अलग वा शाश्वत सत्ता मानेको छैन। प्रतीत्यसमुत्पाद, अनित्यता र अनुभवमा आधारित यसको दृष्टिकोणले सबै वस्तु र घटनाहरू परस्पर सम्बन्धित र निरन्तर परिवर्तनशील रहेको देखाउँछ। यही कारण बुद्ध दर्शन र द्वन्द्वात्मक भौतिकवाद बीच केही महत्त्वपूर्ण वैचारिक संवाद सम्भव देखिन्छ।

यद्यपि यी दुई दर्शनका ऐतिहासिक सन्दर्भ, पद्धति र निष्कर्ष फरक भएकाले तिनलाई एउटै सिद्धान्तका रूपमा बुझ्न मिल्दैन। हाम्रो उद्देश्य दुवैलाई एकअर्काका विरुद्ध उभ्याउनु वा दुवै एउटै हुन् भन्नु पनि होइन; बरु मानव चेतना, परिवर्तन र नैतिक विकासका प्रश्नमा सम्भावित संवादको खोज गर्नु हो।

आधुनिक न्युरोसाइन्सले पनि चेतना कुनै अलौकिक शक्ति नभई मस्तिष्कको जटिल विकासबाट उत्पन्न हुने गुण भएको देखाउने प्रमाणहरू प्रस्तुत गरिरहेको छ। न्युरोप्लास्टिसिटी सम्बन्धी अनुसन्धानले अनुभव, अभ्यास र सिकाइका आधारमा मस्तिष्कको संरचनामा परिवर्तन आउन सक्ने देखाएको छ। यसले मानव व्यवहार जन्मजात रूपमा स्थिर हुँदैन, अभ्यास, शिक्षा र सामाजिक वातावरणद्वारा परिवर्तनशील हुन्छ भन्ने दृष्टिकोणलाई पनि वैज्ञानिक आधार प्रदान गर्छ।

यसले चेतना र भौतिक अवस्था बीच निरन्तर अन्तरक्रिया हुने द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई थप बल पुर्‍याउँछ। यद्यपि बुद्ध दर्शनका सबै धार्मिक वा आध्यात्मिक पक्ष वैज्ञानिक भौतिकवादसँग मेल खान्छन् भन्ने निष्कर्ष निकाल्न मिल्दैन। यहाँ चर्चा गरिएको विषय मुख्यतः त्यसका अनुभवजन्य, नैतिक र मनोवैज्ञानिक पक्षसँग सम्बन्धित हो।

यसले बुद्ध दर्शन र आधुनिक भौतिक विज्ञानका केही अवधारणा बीच सम्भावित वैचारिक समानता बारे थप अनुसन्धान र संवादको आवश्यकता औंल्याउँछ।

हाम्रो समाजवादी आन्दोलनले आफ्नै इतिहास, बुद्ध दर्शन, लोकपरम्परा, सामुदायिक जीवन तथा अन्य बौद्धिक सम्पदालाई आधुनिक विज्ञान र समकालीन समाजवादी चिन्तनसँग सिर्जनात्मक संवादमा जोड्न सके नयाँ वैचारिक सम्भावनाको ढोका खुल्न सक्छ।

यसरी वैज्ञानिक भौतिकवादले पदार्थको आधार स्पष्ट गर्छ, बुद्ध दर्शनले मानवको आन्तरिक संसार बारे महत्त्वपूर्ण दृष्टि दिन्छ र आधुनिक न्युरोसाइन्सले चेतनाको वैज्ञानिक व्याख्यालाई अझ समृद्ध बनाउने प्रयास गर्छ। २१औं शताब्दीको समाजवादी चिन्तनले यी तीनै क्षेत्रका उपलब्धिलाई खुला र आलोचनात्मक दृष्टिले अध्ययन गर्नुपर्छ।

यसले मार्क्सवादको आधार परिवर्तन गर्दैन; बरु त्यसलाई अझ वैज्ञानिक, जीवन्त र समृद्ध बनाउँछ। वैज्ञानिक हुनुको अर्थ नयाँ प्रमाण, नयाँ ज्ञान र नयाँ अनुभवप्रति खुला हुनु पनि हो। त्यसैले आधुनिक विज्ञान र बुद्ध दर्शनसँगको सिर्जनात्मक संवाद मार्क्सवादको विकासको स्वाभाविक र आवश्यक प्रक्रिया हो। 

नेपालको यथार्थ र समाजवादी चिन्तनको नयाँ दिशा

हरेक सफल क्रान्तिले आफ्नो देशको इतिहास, समाज र संस्कृतिको गहिरो अध्ययन गर्दै आफ्नै यथार्थ अनुकूल सिद्धान्त विकास गरेको हुन्छ। कुनै पनि विचारधाराले अर्को देशको अनुभवलाई जस्ताको तस्तै अनुकरण गरेर दीर्घकालीन सफलता हासिल गर्न सक्दैन। नेपाल र दक्षिणएशियाको पनि आफ्नै ऐतिहासिक, सांस्कृतिक र दार्शनिक विशेषता छन्।

तर समाजवादी आन्दोलनले यी पक्षहरूको अपेक्षित गहिराइमा अध्ययन र तिनको सिर्जनात्मक उपयोग गर्न सकेको छैन। विदेशी अनुभवबाट धेरै सिकिए पनि आफ्नै समाजमा विद्यमान बौद्धिक, सांस्कृतिक र सामुदायिक परम्पराका प्रगतिशील पक्षलाई आधुनिक वैज्ञानिक दृष्टिले पुनर्पाठ गर्दै समाजवादी चिन्तनसँग जोड्ने प्रयास अपेक्षाकृत कमजोर रह्यो।

यसको अर्थ परम्परालाई जस्ताको तस्तै स्वीकार गर्नु होइन। इतिहास र परम्परामा प्रगतिशील र सीमित दुवै पक्ष हुन्छन्। वैज्ञानिक दृष्टिकोणको अर्थ तिनको आलोचनात्मक मूल्याङ्कन गर्दै समाजको प्रगतिमा योगदान गर्ने पक्षलाई ग्रहण गर्नु र परिवर्तनका बाधक पक्षलाई त्याग्नु हो।

त्यसैले हाम्रो समाजवादी आन्दोलनले आफ्नै इतिहास, बुद्ध दर्शन, लोकपरम्परा, सामुदायिक जीवन तथा अन्य बौद्धिक सम्पदालाई आधुनिक विज्ञान र समकालीन समाजवादी चिन्तनसँग सिर्जनात्मक संवादमा जोड्न सके नयाँ वैचारिक सम्भावनाको ढोका खुल्न सक्छ। यो अतीतमा फर्कने प्रस्ताव होइन; बरु आफ्नै बौद्धिक सम्पदालाई आधुनिक विज्ञानको कसीमा पुनर्मूल्याङ्कन गर्दै भविष्य निर्माणमा उपयोग गर्ने प्रयास हो।

आजको चुनौती केवल पूँजीवादको आलोचना गर्नु मात्र होइन, आफ्नै सिद्धान्तलाई पनि समयानुकूल सिर्जनात्मक रूपमा विकास गर्नु हो। विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता, जैविक विज्ञान, न्युरोसाइन्स तथा अन्य उदीयमान ज्ञान–विज्ञानले मानव जीवन र समाजबारे नयाँ प्रश्न उठाइरहेका छन्। यस्ता प्रश्नको उत्तर पुराना व्याख्याले मात्र दिन सक्दैन। त्यसैले वैज्ञानिक भौतिकवादलाई आधार बनाएर आधुनिक विज्ञान, लोकतान्त्रिक अनुभव र मानव चेतना बारे विकसित ज्ञानसँग संवाद गर्दै मार्क्सवादलाई अझ जीवन्त, वैज्ञानिक र मानवीय बनाउनु आवश्यक छ।

नेपालले पनि विश्व अनुभवबाट सिक्दै आफ्नै इतिहास, संस्कृति, दर्शन र जनअनुभवका आधारमा समाजवादी चिन्तनको सिर्जनात्मक विकास गर्न सक्छ। यही प्रक्रियाबाट मात्र नेपालको समाजवादी आन्दोलनले आफ्नो मौलिक वैचारिक पहिचान निर्माण गर्दै विश्व समाजवादी आन्दोलनमा अर्थपूर्ण योगदान दिन सक्नेछ। 

२१औं शताब्दीमा मार्क्सवादको सिर्जनात्मक विकास

बीसौं शताब्दीमा समाजवादी आन्दोलनले शिक्षा, स्वास्थ्य, औद्योगिकीकरण, सामाजिक समानता तथा उपनिवेशवाद विरुद्धको सङ्घर्षमा ऐतिहासिक योगदान दियो। तर धेरै समाजवादी व्यवस्थाहरू दीर्घकालसम्म टिक्न सकेनन्। यसको कारण बाह्य दबाब मात्र होइन, वैचारिक, सङ्गठनात्मक र संस्थागत कमजोरीहरू पनि थिए।

यसले एउटा गम्भीर प्रश्न उठाउँछ- के समाजवादी आन्दोलनले आर्थिक र भौतिक पक्षलाई जति महत्त्व दियो, मानव चेतना, नैतिकता, सङ्गठनात्मक संस्कृति र आत्म रूपान्तरणलाई पनि त्यत्तिकै गहिराइमा आत्मसात् गर्न सक्यो ? यो प्रश्नको उत्तर दिन मार्क्सवादले आधुनिक विज्ञानका नयाँ उपलब्धिलाई निरन्तर आत्मसात् गर्दै इतिहासका टुटेका कडी जोड्दै आफ्ना व्याख्यालाई समृद्ध बनाइरहनुपर्दछ। अनि इतिहास, वर्तमान र भविष्य बीच निरन्तर तादात्म्यता राख्न सक्नुपर्छ।

प्रमाणित तथ्य हो, अतीतको पुनरावृत्ति जुनसुकै रूपमा भए पनि त्यसले प्रतिगमनलाई नै निम्त्याउँछ। यस अर्थमा जडसूत्रवाद र अनुभववाद एउटै सिक्काका दुई पाटा हुन्। सिधै अगाडिबाट कान समाउनु र पछाडिबाट समाउनु जस्तै हो। क्रान्तिकारी (अग्रगमन) पक्ष विज्ञान, आफ्नै सभ्यता र जनअनुभवसँगको निरन्तर सिर्जनात्मक संवादमा निहित छ। जसरी लेनिन र माओले आ–आफ्नो ऐतिहासिक यथार्थका आधारमा मार्क्सवादलाई नयाँ उचाइ दिएका थिए, त्यसैगरी हामीले पनि आफ्नै इतिहास, दर्शन, संस्कृति र जनअनुभवका आधारमा यसको सिर्जनात्मक विकासमा योगदान दिन सक्नुपर्छ।

यसका लागि, युरोपमा प्रभुत्व जमाएको राजतन्त्रात्मक–सामन्तवादी कालो युग विरुद्ध १५औं–१६औं शताब्दीमा युनानी–रोमी सभ्यताबाट प्रेरणा ग्रहण गर्दै ‘समानता, स्वतन्त्रता र भ्रातृत्व’ का आदर्शलाई केन्द्रमा राखेर पूँजीवादी चेतनाको विकास गराएको पुनर्जागरण आन्दोलन जस्तै, आज मानव सभ्यतालाई नै सङ्कटतर्फ धकेलिरहेको एकाधिकार पूँजीवादको युग विरुद्ध २१औं शताब्दीमा ‘बाँच र बाँच्न देऊ, सबैका लागि समान अवसर’ भन्ने मूल मान्यतामा आधारित समाजवादी वैचारिक पुनर्जागरण आन्दोलन आवश्यक छ।

यस्तो आन्दोलनको प्रेरणास्रोत युनानी–रोमी सभ्यताभन्दा पनि प्राचीन पूर्वीय सभ्यता, विशेषतः बुद्ध दर्शनले प्रतिपादन गरेको करुणा, प्रज्ञा, मध्यममार्ग, मानवमुक्ति र नैतिक उत्तरदायित्वको परम्परा बन्न सक्छ।

यसको अर्थ मार्क्सवादलाई बुद्ध दर्शनसँग मिश्रण गर्नु होइन; बरु मानव सभ्यताका उत्कृष्ट वैचारिक उपलब्धिहरूसँग सिर्जनात्मक संवाद गर्दै समाजवादी आन्दोलनको वैचारिक क्षितिजलाई फराकिलो बनाउनु हो। यसको उद्देश्य केवल समाजवादी क्रान्तिलाई सफल बनाउनु मात्र होइन, प्रतिक्रान्तिका वैचारिक, राजनीतिक र सामाजिक आधारहरूलाई क्रमशः निष्प्रभावी बनाउँदै समाजवादी रूपान्तरणका लागि दीर्घकालीन अनुकूल वातावरण निर्माण गर्नु पनि हो। त्यसका लागि गहिरो अनुसन्धान, निर्भीक वैचारिक बहस, वैज्ञानिक समीक्षा र व्यावहारिक परीक्षणलाई एकाधिकार पूँजीवाद विरुद्धको वर्गसङ्घर्षसँग एकीकृत गर्दै अघि बढाइने नयाँ बौद्धिक अभियान आजको ऐतिहासिक आवश्यकता बनेको छ।

यही प्रक्रियाबाट मात्र २१औं शताब्दीमा मार्क्सवाद अझ वैज्ञानिक, मानवीय, लोकतान्त्रिक र जीवन्त विश्वदृष्टिका रूपमा विकसित हुन सक्छ। यस दिशामा नेपालको कम्युनिस्ट आन्दोलनसँग विगत सात दशकमा सङ्कलित समृद्ध अनुभव, उपलब्धि र असफलताबाट प्राप्त महत्त्वपूर्ण पाठहरू छन्। अब आवश्यक छ— दृढ इच्छाशक्तिमा आधारित, अनुभववाद (संसद्‌वाद) र जडसूत्रवादबाट मुक्त क्रान्तिकारी वैचारिक ध्रुवीकरण।

 निष्कर्ष

समाजवादी आन्दोलनको भविष्य अतीतको पुनरावृत्तिमा होइन, आफ्नै अनुभव, आधुनिक विज्ञान र मानव सभ्यताका उत्कृष्ट उपलब्धि बीचको सिर्जनात्मक संवादमा निर्भर रहनेछ। जसरी मार्क्स, एङ्गेल्स, लेनिन र माओले आफ्नो समयका नयाँ यथार्थका आधारमा मार्क्सवादलाई निरन्तर विकसित गरे, त्यसैगरी नेपाल र दक्षिणएशियाका चिन्तकहरूले पनि आफ्नै इतिहास, दर्शन र सामाजिक अनुभवका आधारमा यसको सिर्जनात्मक विकासमा महत्त्वपूर्ण योगदान दिन सक्छन्।

नयाँ ज्ञानप्रति खुलापन, गहिरो अनुसन्धान, आलोचनात्मक बहस र व्यावहारिक परीक्षण नै वैचारिक विकासका आधार हुन्। यही प्रक्रियाबाट मात्र २१औं शताब्दीमा मार्क्सवाद अझ वैज्ञानिक, मानवीय, लोकतान्त्रिक र जीवन्त विश्वदृष्टिका रूपमा विकसित हुन सक्छ। त्यस्तो विकासशील, आत्मालोचनात्मक र वैज्ञानिक मार्क्सवादले मात्र प्रतिक्रान्तिका आधारहरू क्रमशः कमजोर पार्दै समाजवादी रूपान्तरणलाई दिगो, लोकतान्त्रिक र जनमुखी दिशामा अघि बढाउने वैचारिक मार्गदर्शन प्रदान गर्न सक्छ।

लेखक
हरिबोल गजुरेल

गजुरेल, नेपाली कम्युनिष्ट पार्टीको पूर्वनेता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?