२३ साउन, रुकुमपूर्व । हरियाली पहाडले घेरिएको शान्त दह । पानीमाथि फक्रिएका गुलाबी कमल । त्यहीमाथि चराचुरुंगीको चीरबीर ।
यतिबेला रुकुमपूर्वको कमलदह पुग्ने पर्यटकलाई यही दृश्यले लोभ्याइरहेको छ ।
सिस्ने गाउँपालिका–५, रुकुमकोटमा रहेको कमलदहमा कमल फुल्ने मौसम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको छ । स्थानीयसँगै जिल्लाबाहिरबाट आउनेहरू पनि कमलको फूल हेर्न, तस्वीर खिच्न र प्राकृतिक सौन्दर्यमा रमाउन कमलदह पुग्न थालेका छन् ।

कमलका पातबीच फक्रिएका गुलाबी फूलले दहको सौन्दर्य थप मनमोहक बनाएको छ । दहमा देखिने फूल, पानीको प्रतिबिम्ब र वरिपरिको हरियालीले कमलदहलाई फोटो खिच्ने र घुमफिर गर्नेहरूका लागि आकर्षक गन्तव्य बनाएको छ ।
पछिल्लो समय कमलदहका तस्वीर तथा भिडिओ सामाजिक सञ्जालमा समेत चर्चामा आउन थालेपछि यसको परिचय जिल्लाबाहिरसम्म फैलिँदै गएको छ । कमल फुलेको समयमा यहाँ पुग्नेहरूको संख्या अझ बढ्ने गरेको स्थानीय बताउँछन् ।

कमलदहको बढ्दो आकर्षणसँगै यसलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना पनि देखिएको छ । दहसम्म सहज पहुँच, पैदलमार्ग, विश्रामस्थल, खानेपानी, शौचालय र फोहोर व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार थप व्यवस्थित गर्न स्थानीय स्थानीय सक्रिय भएको स्थानीय मदन शाहले बताए ।
पर्यटक बढेसँगै दहको प्राकृतिक स्वरूप जोगाउनु पनि उत्तिकै चुनौतीपूर्ण छ । कमलका फूल तथा जलक्षेत्रको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्नसके कमलदह स्थानीय आयआर्जन र रोजगारीको स्रोतसमेत बन्न सक्ने शाहले बताए ।
अहिले कमलदहमा फक्रिएका गुलाबी कमलले पर्यटक तानिरहेका छन् । प्रकृतिले दिएको यही सुन्दरतालाई संरक्षण र प्रचारसँग जोड्नसके कमलदह रुकुमपूर्वको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा अझ स्थापित हुनसक्ने स्थानीयको भनाइ छ ।
तस्वीरहरू :








प्रतिक्रिया 4