प्लास्टिक फोहोरबाट फर्निचर बनाइरहेका तन्नेरी
News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाका राहुलले प्लास्टिकजन्य फोहोर व्यवस्थापन गरी दिगो भविष्य निर्माण गर्ने उद्देश्यले \'परामेन्दो नेपाल\' संस्था स्थापना गरेका छन्।
- धादिङको रिगाउँमा संकलित प्लास्टिकलाई प्रशोधन गरेर बलियो तथा टिकाउ प्लास्टिक बोर्ड र फर्निचर बनाउने कार्य सुरु गरिएको छ।
- क्याम्ब्रिज विश्वविद्यालयलगायतका संस्थाहरूसँग सहकार्य गर्दै उहाँहरू फोहोरलाई पुनःप्रयोगमा ल्याउने \'सर्कुलर इकोनोमी\' मोडललाई देशव्यापी विस्तार गर्ने तयारीमा छन्।
काठमाडौंको कक्षाकोठामा गणितका समीकरण मिलाउँदै गर्दा एउटा बालकले शायदै कल्पना गरेको थियो, एक दिन उसले आफ्नो थातथलोबाट कुनै सम्बन्ध नभएको गाउँठाउँमा पुगेर त्यस्तो काम गर्नेछ, जसलाई सबैले फोहोर भनेर आँखा चिम्लिन्छन्। तर, धादिङको बस्तीमा फोहोर पछ्याइरहेका राहुल दिगो भविष्यको नक्शा कोरिरहेका छन्। यो उनको व्यवसायको सुरुआत त हो नै, तर उनी यसलाई काठमाडौंको सुविधाभोगी जीवनबाट पर, विकट गाउँमा केही गर्ने चेतनाको परिणाम मान्छन्।
राहुलको पुर्ख्यौली घर दोलखाको भीमेश्वर नगरपालिकास्थित जिलुमा छ। तर बाल्यकाल काठमाडौंको बाफलका गल्लीहरूमा बित्यो। निम्नवर्गीय परिवारमा हुर्किएका उनी औपचारिक शिक्षा लिने पहिलो पुस्ताका प्रतिनिधि हुन्, जसलाई अभिभावकले ‘पढाइ‘ को महत्व पलपलमा सम्झाएका थिए।

खासगरी गणितका अंकहरूसँग खेल्न मन पराउने राहुलले प्लस टुमा म्यानेजमेन्ट रोज्दा धेरैले सोधेका थिए, किन साइन्स नपढेको? ‘मेरा धेरैजसो साथीहरू म्यानेजमेन्टतिरै थिए, मैले पनि त्यही बाटो पछ्याएँ‘, उनी भन्छन्। बाफलकै हार्बर्ड इन्टरनेशनल स्कूल पढेका उनी प्लस टु सकेपछि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ग्रिनफिल्ड कलेजमा सोसल वर्क र मास कम्युनिकेसनमा भर्ना भए। त्यहाँ एउटा ओरिएन्टेसन कार्यक्रममा शिक्षिका सन्जिता थापा मगरले ‘सोसल वर्क किन महत्त्वपूर्ण छ‘ भनेर सुनाएको सन्दर्भले समाजप्रति राहुलको दृष्टिकोण नै फेरिदियो।
चेपाङ बस्ती हुँदै हुम्लासम्म
सन् २०१८ तिर स्नातक पहिलो वर्षमा पढ्दै गर्दा राहुल पहिलो पटक चितवनको शक्तिखोरस्थित चेपाङ बस्ती पुगे। काठमाडौंको कोठा र कलेजको चौरमा पढिने समाज भन्दा स्थानीय वास्तविकता नितान्त भिन्न थियो। त्यहाँको अभाव र भूगोलमा उनलाई टिक्न गाह्रो भयो। ‘त्यहाँ बस्न मन थिएन, घर फर्किहाल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो‘, उनी सम्झन्छन्। तर, जब उनले त्यहाँका मानिसहरूसँग कुरा गरे र उनीहरूको पीडा र आशालाई नजिकबाट नियाले, तब आभास भयो, असली नेपाल त यहाँ रहेछ।
त्यही चेपाङ बस्तीको आँगनबाट उनले ‘इम्प्याथी‘, अर्थात् अरूको जुत्तामा खुट्टा हालेर सोच्ने क्षमता सिके। अरूलाई गर्ने सहयोगमा मात्र आफ्नो जीवनको अर्थ छ भन्ने आमाको दीक्षा पनि उनलाई मार्गनिर्देशित गरिरहेको थियो।
चितवनको चेपाङ बस्ती त एक झलक मात्रै थियो, उनलाई अब समग्र नेपाल बुझ्ने भोक लाग्यो। हरेक वर्ष एउटा नयाँ र दुर्गम ठाउँ पुग्ने लक्ष्यका साथ उनी कहिले स्याङ्जा पुगे, कहिले डोल्पा, कहिले रुकुम र कहिले हुम्ला पुगे।

रुकुमको तकसेरामा स्कूले साथी रिपेन्द्र घर्तीको गाउँ पुगेर परम्परागत जीवनशैली नियाले भने हुम्लाको चौगनफया र स्याडा जस्ता दुर्गम बस्तीमा गएर युवा र बालबालिकासँग संवाद गरे। ‘हाम्रो भूगोललाई दया होइन, एउटा दिगो पहल चाहिएको रहेछ भन्ने मलाई लाग्यो‘, राहुल भन्छन्, ‘तर त्यहाँ म एक्लैले गर्न सक्ने धेरै अवस्था थिएन।‘
मेकाथनदेखि परामेन्दो नेपालसम्म
सन् २०२१ को डिसेम्बरमा उनको जीवनमा अर्को ‘टर्निङ प्वाइन्ट‘ आयो। भौतिक वस्तुहरूबाट निश्चित समयमा तोकिएको समस्याको समाधान निकाल्ने प्रतियोगिता, अर्थात् ‘मेकाथन‘, आयोजना भएको थियो काठमाडौंमा। त्यही सन्दर्भमा इम्प्याक्ट हबमा उनको भेट भयो, धादिङको रिगाउँका विशाल दामोदर र इसाल तामाङसँग। यो प्रतियोगितामा विशाल र इसाल आफ्नो गाउँको समस्या बोकेर आएका थिए, समस्या थियो- प्लास्टिक फोहोर। बाँकी नेपालमा जस्तै धादिङको रिगाउँमा पनि प्लास्टिकको खपत बढ्दो थियो तर व्यवस्थापन गर्ने उपाय थिएन। स्थानीयहरू कि त फोहोर जलाउँथे कि त खोलामा फाल्थे, जसले वातावरण र खेतीपाती सबैमा क्षति पुर्याइरहेको थियो।
त्यही फोरममा मेकानिकल इन्जिनियर सुजित श्रेष्ठ पनि आएका थिए। सुजितसँग मेकानिकल ज्ञान थियो, विशाल र इसालसँग समुदायको समझ थियो, राहुलसँग सामाजिक काम गरेको अनुभव र इच्छाशक्ति। चार तन्नेरीको सोच मिलेपछि ‘परामेन्दो नेपाल‘ जन्मियो। अहिले यो कम्पनीमा राहुल प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन्।
कम्पनीले मुख्यतया प्लास्टिक फोहोर प्रशोधन गरेर टाइल र बोर्ड बनाउने काम गर्छ। यद्यपि फोहोरलाई कसरी प्रशोधन गर्ने प्रविधि र मोडेल तयार पार्न उनीहरूलाई केही वर्ष लाग्यो।

फोहोरलाई मोहर बनाउने ‘सर्कुलर इकोनोमी‘
हाल उनीहरूले धादिङको रिगाउँ र टावलमा ‘कलेक्सन एन्ड रिसाइक्लिङ सेन्टर‘ स्थापना गरेका छन्। रिगाउँका ११५ घरधुरीलाई फोहोर वर्गीकरण गर्न सिकाइएको छ। ‘हामीले उहाँहरूलाई एक एक वटा डोको दिएका छौं, कुहिने फोहोर उहाँहरू आफैं व्यवस्थापन गर्नुहुन्छ, नकुहिने प्लास्टिक त्यही डोकोमा जम्मा गर्नुहुन्छ‘, राहुल सुनाउँछन्। हप्ताको दुई पटक कम्पनीका कर्मचारी गाउँ डुलेर त्यो फोहोर संकलन गरी सेन्टरमा ल्याउँछन्। टावलमा भने स्थानीय पालिकाको गाडीले नै फोहोर उठाउँछ।
उनीहरूले मुख्यतया LDPE (लो डेन्सिटी पोलिथिन), HDPE (हाई डेन्सिटी पोलिथिन), PP (पोलिफ्रोपाइलिन) र MLP (मल्टि लेयर प्लास्टिक) जस्ता प्लास्टिकलाई रिसाइकल गर्छन्। संकलित प्लास्टिकलाई मेसिनमा हालेर टुक्रा पारेर सफा गरेपछि मेसिनमा उच्च तापक्रममा प्रेस गरी ‘प्लास्टिक बोर्ड‘ तयार गरिन्छ। ‘यो बोर्ड साधारण काठभन्दा बलियो र टिकाउ हुन्छ, कीराले खाँदैन, पानीले बिगार्दैन‘, राहुल दाबी गर्छन्। यसबाहेक उनीहरूले मोबाइल स्ट्यान्ड, टेबल, कुर्सी र विभिन्न फर्निचर पनि बनाइरहेका छन्।

तर, रिगाउँ जस्तो दुर्गम ठाउँमा पनि वार्षिक करिब ४० टन प्लास्टिक फोहोर निस्कने बताइन्छ र त्यो सबै रिसाइकल गर्न नसकिने उनी बताउँछन्। बाँकी प्लास्टिक र रबर व्यवस्थापनका लागि उनीहरू अझै नयाँ प्रविधिको खोजीमा छन्। यो अभियानमा क्याम्ब्रिज विश्वविद्यालय, फ्याब ल्याब नेपाल र इम्प्याक्ट हब जस्ता अन्तर्राष्ट्रिय संस्थाले प्राविधिक सहयोग गरिरहेका छन्। मेसिनरीहरूको डिजाइन र गुणस्तरमा क्याम्ब्रिजले सहयोग गरेको छ भने रिसाइकल सेन्टरको भवन बनाउन स्थानीय सरकारले जग्गा उपलब्ध गराएको छ।
हाल उनीहरू युरोपियन लिग रेसबाट प्राप्त अनुदानबाट ‘सर्कुलर इकोनोमी‘ मा काम गरिरहेका छन्। सर्कुलर इकोनोमी भनेको यस्तो आर्थिक पद्धति हो, जहाँ सामग्रीहरूको प्रयोग सिधा रूपमा नभई चक्रीय रूपमा गरिन्छ। ‘हामीले जे सामान प्रयोग गर्छौं, त्यो फोहोर बनेर खेर नजाओस्, बरु फेरि नयाँ सामान बनेर उपभोक्ता बीच आओस् भन्ने हाम्रो चाहना हो‘, राहुल भन्छन्।
अहिले कम्पनीका संस्थापकहरू सहित १४ जनाले काम गरिरहेका छन्। काठमाडौंको झम्सिखेलस्थित कार्यालयमा उनीहरू अनुसन्धान र नवप्रवर्तनको काम बढी गर्छन्। अब यो मोडललाई नेपालका अन्य पालिकामा पनि ‘फ्रेन्चाइज‘ का रूपमा विस्तार गर्ने उनीहरूको योजना छ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी