News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी समयानुसार शुक्रबार एट्लान्टामा प्रस्तुति दिने कन्दराले रसुवालगायतका बाढीपीडितप्रति श्रद्धाञ्जली र स्मृति कार्यक्रम गर्ने भएको छ।
- ब्यान्डले कन्सर्टबाट उठ्ने रकम आकस्मिक राहत कोषमा जम्मा गरी पीडित समुदायसम्म पुर्याउने जनाएको छ।
- गायक विवेक श्रेष्ठले ‘हाम्रो आवाज, हाम्रो संगीत र हाम्रो मञ्च नै हाम्रो माध्यम हो । त्यसैले यसपटक संगीतलाई सेवामा समर्पण गरी शोकलाई शक्तिमा बदल्नेछौं ।’ भने।
काठमाडौं । अमेरिकाको सांगीतिक भ्रमणमा रहेको लोकप्रिय ब्यान्ड ‘कन्दरा’ ले आगामी प्रस्तुतिलाई श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा परिणत गर्ने भएको छ ।
कन्दराले अमेरिकी समयानुसार शुक्रबार एट्लान्टमा प्रस्तुति दिने तय छ । यो कन्सर्टलाई ब्यान्डले रसुवालगायत विभिन्न क्षेत्रमा आएको भीषण बाढीमा ज्यान गुमाउनेप्रति समर्पित हुने बताएको छ ।
अकल्पनीय विपदप्रति दुःख व्यक्त गर्दै ‘कन्दरा’ ले मनोरञ्जनभन्दा मानवीय संवेदना महत्वपूर्ण भएकाले कार्यक्रमको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको जनाएको हो ।
‘देश दुखिरहेको छ । आउनुहोस् । हामी एकजुट बनौँ । शोकलाई शक्तिमा बदलौँ, संगीतलाई सेवामा बदलौं’ कन्दराले अपिल गर्दै भनेको छ ।
कन्दराले कार्यक्रमबाट प्राप्त हुने रकम आकस्मिक राहत कोषमा जुटाउने र आवश्यकताअनुसार पीडित तथा प्रभावित समुदायसम्म पुर्याउने पनि जनाएको छ ।
यसबारे ब्यान्डका गायक विवेक श्रेष्ठले भने, ‘हाम्रो आवाज, हाम्रो संगीत र हाम्रो मञ्च नै हाम्रो माध्यम हो । त्यसैले यसपटक संगीतलाई सेवामा समर्पण गरी शोकलाई शक्तिमा बदल्नेछौं ।’
कन्दराले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइते र प्रभावित सबैमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
७ अगस्टदेखि आगामी ३० सेप्टेम्बरसम्म दुई महिना लामो अमेरिकाको टुरमा रहेको कन्दराले बोस्टन सहरबाट कन्सर्ट सुरु गरेको थियो । ‘रिदम अफ चेन्ज’ नाम दिइएको टूरलाई निरन्तरता दिँदै ब्यान्डले एटलान्टापछिका बाँकी दुई सहर भर्जिनिया र कोलोराडोमा प्रस्तुति दिनेछ ।
प्रतिक्रिया 4