+
+
Shares
वार्ता :

‘लाङटाङ उत्तरको हिमचट्टान दुई हजार मिटर तल बजारिएपछि बाढी आयो’

पाँच हजार मिटरको उचाइबाट ठूलो हिमचट्टान तल झर्दा उत्पन्न हुने गतिले निकै ठूलो उर्जा निस्किन्छ । त्यही ऊर्जाले हिमनदीलाई छिटो पग्लिन मद्दत गरेको प्रारम्भिक अनुमान गरेका छौं ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा ल्हेन्दे खोलामाथिको लाङटाङ हिमालको उत्तरी पाखोबाट खसेको हिमचट्टान र हिमपहिरोले विनाशकारी बाढी आएको अनुसन्धानकर्ता सन्तोष नेपालले बताए।
  • नेपालले रसुवाको बाढीलाई हिमताल विस्फोट होइन, करिब ५ हजारदेखि ५५ सय मिटर उचाइबाट ३ हजार मिटर तल खसेको ग्लेसियर आइस फलसँग मिल्दोजुल्दो भनेका छन्।
  • उनले पूर्वसूचना प्रणालीलाई रिमोट सेन्सिङ, एआई र अन्तरदेशीय सूचना आदानप्रदानसँग परिमार्जन गर्नुपर्ने बताउँदै जलवायु संकटका कारण जोखिम बढेको उल्लेख गरे।

गत बुधबार बिहान नेपाल–तिब्बत सीमामा पर्ने ल्हेन्दे खोलाको माथिल्लो भागबाट सुरु भएको विनाशकारी बाढीले रसुवादेखि मुग्लिनसम्म जनधनको ठूलो क्षति पुर्‍यायो । लाङटाङ हिमालको उत्तरी पाखोमा रहेको ठूलो हिमचट्टान सहितको पहिरो तल बजारिएपछि भीषण बाढी आएको थियो ।

जलस्रोत तथा जलवायु परिवर्तनको क्षेत्रका अनुसन्धानकर्ता सन्तोष  नेपाल (पीएचडी) दुई हजार मिटर तल खसेर बजारिएको हिमचट्टानबाट निस्किएको उर्जा नै विनाशकारी बाढीको कारक हुनसक्ने बताउँछन् । लाङटाङ हिमपहिरो र त्यसपछि आएको रसुवा बाढीको कारणबारे अनुसन्धानकर्ता नेपालसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोलामा आएको बाढीले नेपालका धेरै ठाउँ तहसनहस गर्‍यो । यसरी अचानक यति ठूलो बाढी आउनुको कारण के होला ?

रसुवामा गएको बाढी अति नै विनाशकारी देखियो । नेपालको इतिहासमा यो तहको फ्लास्ट फ्लड (अचानक आएको ठूलो बाढी) देखेका थिएनौं ।

पहाडी भेगमा यस्तो खालको विनाशकारी बाढीका अनेक कारण हुन सक्छन् । हिजो हामीले सेटेलाइटबाट केही तस्वीरहरू प्राप्त गरेपछि के कारणले पहिरो गएको रहेछ भन्ने थाहा पाउन सकिएको छ ।

सुरुमा धेरै विशेषज्ञहरूले हिमताल विस्फोट अथवा त्यही खालका घटनाका कारण यति ठूलो मात्रामा पानी बग्यो भनेर अनुमान गरेका थिए । अहिले फरक तथ्य आयो । यस्तो किन भयो ?

हिमाली क्षेत्रमा प्रशस्तै हिमतालहरू छन् । यस्तो ठाउँमा ठूलो बाढी जाँदा पहिलो शंका हिमतालमाथि नै हुन्छ । फेरि भोटेकोशीमाथि हिमतालहरू पनि देखिएको हुनाले विशेषज्ञहरूले हिमतालमाथि शंका गर्नु स्वाभाविक नै हो ।

जब प्लानेट ल्याबको सेटेलाइट इमेज आयो, त्यसले आम अनुमानलाई अर्कै सावित गरिदिएको छ । लाङटाङ हिमालको उत्तरतिरको भागमा करिब पाँच हजारदेखि ५५ सय मिटरको उचाइमा रहेको ग्लेसियर (हिमनदी) खसेको देखिन्छ ।

सेटेलाइट फोटोमा त्यहाँनिर ठूलो पहिरो गएको देख्दा ग्लेसियर्स आइस (हिमनदीमा रहेको बरफ) र हिउँ तल खसेको हुनसक्छ । त्यसरी खस्दा हिमचट्टान र अरू गेग्रेटो खसेको प्रारम्भिक अनुमान छ । करिब पाँच हजार मिटरबाट तीन हजार मिटर तल हिमचट्टान, हिउँ र पहिरो करिब दुई हजार मिटर तल सोझै खसेको देखियो ।

त्यति ठूलो हिमचट्टान झर्दा त्यसको गतिले निकै ठूलो ऊर्जा पनि निस्किन्छ । त्यो ऊर्जाले हिमनदीलाई छिटो पग्लिन मद्दत गरेको प्रारम्भिक अनुमान पनि गरेका छौं । हिमचट्टान सहितको पहिरोले ल्हेन्दे खोलालाई कति समय थुन्यो ? पानी कति संकलन भयो ? र, कसरी फुट्यो भन्नेबारे विस्तृत विवरण केही दिनमा थाहा होला ।

तपाईंले ‘ग्लेसियर्स आइस फल’ अर्थात् हिमपर्वतको पहिरोलाई नै बाढीको मुख्य कारण मान्नुभयो । त्यसको कारण के होला ?

हिमालका चट्टानहरूमा हिमपात भएर लामो समयसम्म हिउँ बसेको हुन्छ । लामो समय अर्थात् सयौं वर्षपछि त्यही हिउँ ग्लेसियर भएर रहेको हुन्छ । ग्लेसियर हिमनदी हो, जुन विस्तारै तलतल सरिरहे पनि हामीले हेर्दा बगेको देखेका हुदैनौं । तर वार्षिक रूपमा हेर्दा वा अध्ययन गर्दा केही न केही बगेको देखिन्छ ।

ठूलो मात्रामा हिमचट्टानको पहिरो जाने अनि बाढी आउने घटनाहरू यसअघि पनि कतै देखिएको थियो ?

पहिलेका घटनाहरू अध्ययन गरियो भने यस्तो खालको विपद् देखेका छौं । बाढीपहिरो जस्ता प्रकोपहरू सामान्य प्रकृतिका भए । सबै पक्ष जोडिएर पनि यस्ता घटना हुन्छन्, जसलाई हामीले ‘मल्टी हाजार्ड’ भनेर बुझ्छौं ।

ठूलो पानी आउने, झरीपछि पहिरो जाने र पहिरोले थुनिएको खोला फुटेर बाढी आउने घटनाहरू यसका उदाहरण हुन् । मनसुनका बेलामा यस्ता घटना नेपालमा भइरहेका छन् ।

केही विपतका घटना धेरै समयको अन्तरालमा देखिने खालका हुन्छन् । सन् २०१३ मा भारतको उत्तराखण्डमा यस्तै ‘मल्टी हाजार्ड’ खालको प्रकोप देखिएको थियो । त्यतिबेला त्यहाँ निकै ठूलो मात्रामा पानी परेर एकैसाथ ठूला बाढी आएका थिए ।

माथिल्लो भेगमा ज्यादा पानी परेर मेलम्ची भेगमा पनि यस्तै खालको घटना भएको थियो । सन् २०२१ मा हिउँ सोहोरिएको थियो र त्यहाँ जम्मा भएको पानीले लेदो र गेगरसहित बाढीको रूप लिएर मेलम्ची क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो ।

तर, अहिले रसुवाको घटनासँग मिल्दोजुल्दो चाहिँ भारतको चमोलीको बाढी हो, जसलाई ‘चमोली फ्लड’ भनेर चिनिन्छ । उत्तराखण्डमा सन् २०२१ मा चमोलीमा यसैगरी ग्लेसियर खसेर बाढी आएको थियो । हाम्रोमा मेलेम्चीमा बाढी आउनुभन्दा पाँच/छ महिनाअघि त्यहाँ गत बुधबारको रसुवाको जस्तो बाढी गएको थियो ।

नन्दादेवीको पर्वत शृंखलाबाट ग्लेसियर र आइस–रक खसेर त्यहाँ घटना भएको थियो । ठूलो मात्रामा उछिट्टिएको ढुंगा तल बजारियो । त्यसले हिँउ र अरू गेग्र्यानहरूलाई सोहोरेर ल्यायो । अनि बगेर आएको हिउँ तत्काल पग्लियो र ठूलो मात्रामा बाढी आएर ठूलो जनधनको क्षति भयो । विभिन्न जलविद्युत आयोजनाहरूलाई असर गर्‍यो ।

अहिलेसम्मको प्रारम्भिक आकलन र मेरो अनुमानमा रसुवाको घटना चमोलीको बाढीसँग मिल्दोजुल्दो देखिन्छ । यो तुलनात्मक रूपमा मेलम्ची बाढीसँगभन्दा पनि चमोलीको घटनासँग चरित्र र अरू लक्षणका हिसाबले मिल्दोजुल्दो देखिन्छ ।

गत वर्ष असारमा ल्हेन्दे खोलामा यसैगरी बाढी आएको थियो, क्षति पनि पुर्‍यायो । त्यो घटना र यो कत्तिको मिल्दोजुल्दो हो ?

त्यसलाई ‘ग्लेसियल लेक आउटब्रस फ्लड’ भन्छौं । सुप्राग्लेसियल लेकहरू विस्फोट भएर त्यो बाढी आएको हो । गर्मीयाममा हिमाली क्षेत्रमा हिउँ पग्लिएर ससाना पानीका कुण्ड बन्छन्, जसलाई सुप्राग्लेसियर लेक भनिन्छ । त्यही विस्फोटको नतिजा नै गत वर्षको पहिरो हो ।

त्यसलाई हामीहरूले त एउटा ताल छचल्किएर अर्कोमा पुग्यो अनि पानी बगेर आएको हो भनेका छौं । यसको ‘ट्रिगरिङ मेकानिज्म’ भने फरक हो । त्यतिबेला हिमताल विस्फोट भएर बाढी आएको हो, जब कि तालको आकार त्यति ठूलो थिएन भन्ने गरिन्छ । यसपालि भने हिमनदी (ग्लेसियर) नै बेस्सरी तल खसेर बजारिएपछि आएको बाढी हो ।

यसपालिको बाढीमा निकै कम समयमा ठूलो परिमाणको पानी सोहोरिएर बगेको छ । त्यति ठूलो पानीको मात्राबारे विज्ञहरूको मत पनि फरकफरक छ । के कारणले एकैचोटी त्यति ठूलो पानी सोहोरियो ?

पानीको मात्रा एकदमै ठूलो र भयावह रूपमा देखिएको छ । यसमा म पनि अचम्ममा परेको छु । हाम्रो समुदाय पनि यत्तिको पानीको मात्रामा आश्चर्य व्यक्त गरेर अध्ययन, अनुसन्धान गरिरहेका छौं । त्यसका विभिन्न कारण हुन सक्छन् ।

त्यो मात्रामा र गतिमा जसरी पानी आयो, कतै थुनिएर विस्फोटसहित खुल्दा त्यसरी पानी आएको हुनसक्छ भन्ने अनुमान छ । अबको केही दिनमा सेटेलाइट इमेजबाट आउने विवरणहरूबाट पनि त्यसलाई हामीले स्पष्ट पार्न सकिएला । तर जुन गति र मात्रामा पानी प्रवाह भयो, त्यो निकै नै आश्चर्यलाग्दो छ ।

बाढी सुरु भएको समयमा रसुवाको लाङटाङ क्षेत्र नजिक भूकम्पको सानो कम्पन पनि मापन भएको छ । त्यो कम्पनको असरस्वरूप पहिरो गयो अनि बाढी आयो भन्ने कतिपयको आशंका छ । कतिपय विज्ञले हिमपर्वत खसेर तल बजारिएपछि जमिनको सतहमा कम्पन आएको र त्यसैलाई भूकम्पको रूपमा उपकरणहरूले मापन गरेको पनि भनेका छन् । भूकम्पपछि हिमपहिरो गयो कि हिमपहिरोले भूकम्पझैं कम्पन गरायो ?

मलाई जहाँसम्म लाग्छ, ठूलो बरफको चट्टान खसेर ९ बजेर ३८ मिनेटमा जमिनमा झड्का परेपछि ‘ट्रेमर’ आएको हो । केही समयपछि यसको बारेमा अझै जानकारी आउला ।

भारतको चमोलीमा पनि यस्तै खालको घटना हुँदा चट्टान खसेपछि भूकम्पको सानो धक्का रेकर्डमै देखिएको थियो । त्यसलाई प्राविधिक रूपमा भूकम्प नभन्न वा भूकम्पको परिभाषामै नराखिएको पनि हुनसक्छ ।

तपाईंले करिब पाँच हजार मिटरको उचाइबाट खसेको हिमपहरो करिब तीन हजार मिटरको उचाइमा झरेर बजारिएको भन्नुभएको छ । त्यत्रो तौल भएको हिमपहाड दुई हजार मिटर झर्दा त्यसले पैदा गरेको ऊर्जा नै त्यो तहको बाढी सिर्जना गर्न पर्याप्त थियो कि त्यहाँ अरू थप केही घटना भएको हुनसक्छ ?

अहिले नै हामीले ठ्याक्कै यो भएको हो भनी निष्कर्ष निकाल्न सक्ने अवस्था छैन । तर के देखिन्छ भने, माथिबाट जुन तहमा गेग्र्यान, हिमचट्टान र बरफ खसेको छ, माथिबाट चोइटिएको भाग मात्रै तलको खोला वा नदीमा पुग्दैन । त्यसले गेगेर र वरपरका फोहोर पनि सोहोरेर तलको खोलामा मिसिन्छ ।

तल खोलामा फेरि पानीसँग मिसिएपछि लेदो बन्छ र त्यसले तलका अरू चिज सोहोर्दै थप क्षति गराइरहेको हुन्छ । तर रसुवाको घटनामा ठ्याक्कै यस्तो भयो भन्न सक्ने अवस्था छैन । केही दिनपछि थप स्पष्ट हुनसक्ने अनुमान छ । यस क्रममा ल्हेन्दे खोला केहीबेर थुनिएको हुनसक्ने अनुमान छ, जुन अहिलेसम्म अनुमान मात्रै हो ।

यदि ल्हेन्दे खोला थुनिएको हो भने त तलपट्टिका जलमापन केन्द्रहरूमा पानीको सतह घटेको आँकडा रेकर्ड हुन्छ होला । होइन र ?

कहिलेकाहीँ नदी पूर्ण रूपमा थुनिँदा तलपट्टिको बहाव रोकिनु एउटा पक्ष हो । तर आंशिक रूपमा रोकिएको भए तल पानी पनि बगिरहेको हुनसक्छ । तर मैले सुनेअनुसार खोला तथा नदीहरूमा जलसतह नाप्न राखिएका उपकरण र पूर्वचेतावनी दिने संयन्त्रहरू पनि बगाएको भन्ने सुन्नमा आएको छ ।

घटनापछि अनुमानमा सीमित रहेका यसबारेका विज्ञ एवं विशेषज्ञहरू स्याटेलाइट डाटा आएपछि भने हिमचट्टान खसेको कुरामा करिब एकमत छन् । स्याटेलाइट फोटोका आधारमा मात्रै घटनाको निर्क्योल गर्ने विधि कत्तिको भरपर्दो हो ?

यस्तो अवस्थामा हामीले दुई तरिकाले जानकारी लिन्छौं । एउटा स्याटेलाइट इमेजको विश्लेषण नै हो । अहिले हाम्रोमा मनसुन लागिरहेका कारण बादलले गर्दा सेटेलाइट इमेजहरू त्यति स्पष्ट हुँदैनन् । तर मौसम सफा भएका बेला ती इमेलहरूले स्पष्ट डेटा दिन्छन् ।

त्यस्तो अवस्थामा हामीले कति लम्बाइको, कति चौडाइको, कति गहिरो भन्नेबारे स्पष्ट विवरण थाहा हुन्छ । त्यहाँ ढुंगा थियो कि माटो थियो, बरफ कति थियो, दुई/तीन दिनअघि हिमपात भएको थियो कि थिएन भन्ने सबै विवरण थाहा हुन्छ ।

सन् २०२१ मा नन्दादेवीको पर्वत शृंखलाबाट ग्लेसियर र आइस–रक खस्यो । ठूलो मात्रामा उछिट्टिएको ढुंगा तल बजारियो । अनि, बाढी आएर ठूलो जनधनको क्षति भयो । रसुवा बाढी भारतको यही चमोली घटनासँग मिल्दोजुल्दो छ ।

हामीले अहिले आकलन गरिरहेका कतिपय कुराहरू पनि अर्कै हुन सक्छन् । त्यसैले विश्वसनीय र आधिकारिक विवरण थाहा पाउन स्थलमै पुग्नुपर्ने हुन्छ । तर त्यसका लागि समय अनुकूल हुनुपर्छ । हामीले तत्कालका लागि सेटेलाइट इमेलहरू लिन्छौं, अनुकूल भएपछि स्थलगत रूपमा पुग्ने गरिन्छ । स्थलगत रूपमा नगए पनि एक/दुई सातामा भने यसको सही कारण के रहेछ भनेर निर्क्योल गर्न निकै सहज हुन्छ । अहिले भने सीमित विवरण र डेटाका आधारमा घटनाको कारण विश्लेषण गरिरहेका हुन्छौं ।

हिउँ र बरफको प्रभावबाट उत्पन्न ऊर्जाले द्रुत गतिमा हिउँ पगाल्ने काम गरेको (र्‍यापिड मेल्टिङ) भनेर लेख्नुभएको छ । सामान्य ढुंगामाटो सोहोरिँदा हुने क्षति र बरफ या हिउँ नै मिसिएरको पहिरोले पार्ने क्षतिमा के फरक हुन्छ ?

कुनै पनि चिज माथिबाट खस्दा परिणाम (मास)का हिसाब गर्दा धेरै ठूलो टनको मास हुन्छ, जुन हामी पछि हिसाब गरेर निकाल्न सक्छौं । गुरुत्व बलका कारण त्यसले निश्चय पनि ठूलो ऊर्जा उत्पन्न गर्छ । चमोली बाढीका बेलामा खसेको पहिरोबाट कति मेगाटनको ऊर्जा निस्कियो भन्नेबारे हिसाब निस्किएको छ ।

त्यो ऊर्जाले पनि हिउँलाई छिटो पगाल्ने काम गर्छ । अर्कोतर्फ, ५ हजारबाट ३ हजार मिटरको उचाइमा खस्दा दुई हजार मिटरको उचाइ फरक पर्छ । दुई हजार मिटर उचाइको फरकमा करिब १२ डिग्री सेल्सियस फरक हुन्छ, अर्थात् माथिभन्दा तल तातोपन बढ्छ । त्यसले पनि हिउँ पगाल्ने कामलाई छिटो बनाएको हुनुपर्छ ।

हिउँको पहिरो तल आएर पानीमा मिसिँदा पनि पग्लन थप सहज हुन्छ, किनभने हिउँको तुलनामा पानीको तापक्रम पनि बढी हुन्छ । यी सबै पक्षहरूले हिउँ पगाल्न भूमिका खेलेको हुन्छ ।

सुरुमा तिब्बतमा रहेको कुनै हिमताल विस्फोटको अनुमान भयो । पछि लाङटाङ हिमालको उत्तरी पाखोमा हिमचट्टानको पहिरो गएको भन्ने कुरा आयो । लाङटाङमा हिमपहिरो जाँदा चीनबाट आएको ल्हेन्दे खोलामा कसरी बाढी आयो ?

लाङटाङको उत्तरतिरको भाग पनि नेपालकै भूभाग रहेछ । त्यहाँबाट पारि चीनको भूभाग पर्छ भने बीचमा ल्हेन्दे खोला बगिरहेको छ । र, हिउँको पहिरो तल खोलामा झरेको हुनुपर्छ ।

सुरुमा अनुमान गर्दा तिब्बतमा रहेका तीन वटा हिमताल विस्फोट भएको भनिएको थियो । पछि अर्कै कारण खुलेपछि ती हिमताल यथावत् रहेको थाहा भयो । ती तालहरू पनि त कुनै पनि बेला विस्फोट हुने गरी जोखिमका रूपमा रहेका छन् । हैन र ?

इसिमोडको अध्ययनले नेपाललाई जोखिममा पर्ने हिमतालहरूको पहिचान गरेको छ । २७ वटा त्यस्ता हिमताललाई ‘पोटेन्सियल्ली डेन्जरस ग्लेसियर’ भनेर वर्गीकरण भएको छ ।

तिनीहरू विस्फोट हुन सक्छन्, तिनीहरूको विस्फोटको सम्भावना छ भनेको हो । तर त्यसको अर्थ भोलि नै विस्फोट हुने छन् भनेर ठोकुवा गरेको होइन । त्यसैले आजभोलि नै विस्फोट हुनसक्छ भनेर अफवाह पनि फैलाउनु भएन । तर यत्तिको पहिचान भइसकेपछि निदाएर बस्ने अवस्था पनि हैन ।

त्यस्ता जोखिमयुक्त हिमताल छन् भने हामीले हिमताल विस्फोटन हुनुभन्दा अगाडि नै कस्ता कार्यहरू गर्ने, कसरी जोखिमलाई घटाउने, कसरी खोला किनारामा रहेका समुदायलाई जोगाउने भन्ने कुरामा काम गर्नुपर्छ ।

एक वर्ष अगाडि र अहिले घटना भएका बेला रसुवाको ल्हेन्दे खोला आसपासको क्षेत्रमा ठूलो वर्षा भएको थिएन । दुवै घटनाको कारण ‘भारी वर्षा’ होइन है ?

अहिलेको घटनामा भारी वर्षा देखिएको छैन । थोरै मात्रामा पानी परेको हुनसक्छ । पानी नआएको बेलामा पनि भएको घटनाका कारण त अघि सुरुमा नै उल्लेख भइसकेको छ ।

गत वर्ष ल्हेन्देखोलामा बाढी आएको थियो । त्यो भन्दा पहिले थामे, लिमी अनि सिन्धुपाल्चोकका बाढीहरूले नेपाली समाजमा क्षति पुर्‍याइसकेका थिए । शृंखलाबद्ध रूपमा भइरहेका यी घटनाहरूलाई जोड्ने कारण के होला ?

पहिलो, नेपाल पर्वतीय क्षेत्र जोखिमपूर्ण अवस्थामा रहेको छ । अर्कोतर्फ, वर्षको ८० प्रतिशत पानी पर्ने मनसुन याममा छोटो समयमा ठूलो पानी परेको हुन्छ । मनसुनले विभिन्न विपत निम्त्याइरहेको छ ।

तेस्रो कडी जलवायु परिवर्तन हो । पहिले जस्तो विस्तारै तापक्रम बढ्ने, विस्तारै पानीको मात्रा बढी हुने अवस्था अब रहेन । जलवायु संकट निम्त्याउन यस्ता घटना छिटोछिटो हुन थाले । अतिवृत्ति र अनावृष्टि भइरहेको छ । लामो खडेरी हुने, तापक्रम बढ्ने जस्ता घटनाहरू भइरहेका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको अध्ययनले हाम्रो जस्तो पर्वतीय मुलुक जलवायु परिवर्तनको जोखिममा छ भन्ने निष्कर्ष निकालेका छन् । कल्पनै नगरिएका घटनाहरू हुन थालेकाले जोखिम अझै बढ्दो छ ।

हिमाली भेगमा तापक्रम बढ्दो छ । त्यो क्षेत्र दिउँसो निकै तात्छ भने राति चिसिन्छ । त्यसले त्यहाँका चट्टान र पत्थरलाई कमजोर बनाएको छ । तातेको ठाउँमा पानी छिर्ने, चिसिएपछि बरफ बन्ने अनि दरार पैदा हुने घटना भइरहेका छन् ।

मेलम्ची बाढी आउँदा हामीले अब जलवायु संकट पनि हाम्रै सामु देखियो भनेर चेतावनी दिएका थियौं । अब परम्परागतको तुलनामा भिन्न र फरक खालका विपत सामना गर्नुपर्ने देखिएको छ । एकपछि अर्को प्रकृतिका प्रकोपहरू देखिएको छ । पहाडी क्षेत्रमा ‘क्यास्केडिङ हाजार्ड’ देखिएको छ र यसलाई हामीले रणनीतिक रूपमा सामना गर्नु पर्नेछ ।

हिमाली क्षेत्रमा उत्पन्न हुने प्रकोपहरू क्रमश: बढ्दै छन् । त्यसको कारण तापमान वृद्धि नै हो कि अरू पनि छन् ?

ठूलो मात्रामा विपतका घटना हुनुमा दुई वटा कारण हुन्छन् । एउटा, जोखिम कतिले बढ्यो भन्ने हो । जलवायु परिवर्तनले जोखिम झनै बढाएको छ । दोस्रो, हामीले बनाउने संरचना, हामी बस्ने क्षेत्र, हाम्रा कृषि क्षेत्र, ठूला–ठूला संरचनाहरू कहाँ बनाइरहेका छौं भन्ने सोचनीय विषय छ ।

जलवायु परिवर्तनले यस्ता विपतहरूको मात्रा पनि ठूलो देखिने र घटनाहरू पनि बढ्ने भइरहेका छन् । धेरै जोखिमपूर्ण ठाउँहरूमा बनेका हाम्रा संरचनाहरूले यिनलाई थेग्छन् कि थेग्दैनन् ? अबको प्रश्न यही हो ।

कैयौं ऐतिहासिक दस्तावेज र अरू घटनाक्रमहरू हेर्दा सयौं वर्षसम्म यस्तो प्रकोप हामीले सामना गर्नुपरेको थिएन भन्ने पुष्टि हुन्छ । केही सय वर्षदेखि नदेखेका, नभोगेका विपत्ति अचानक खेपिरहेका छौं । हैन ?

मेलम्ची बाढीपछि म त्यो ठाउँमा पुगेको थिएँ । त्यहाँको एक स्थानीयले भनेको कुरा अहिले र पछिसम्म सम्झिन्छु । जुन ठाउँमा दुई तलाको घर पुगेको थियो, त्यो घरको घरधनी एवं पीडितले भन्नुभएको थियो, ‘यो बाढी हाम्रो पुर्खाले पनि देखेको होइन ।’

उहाँले फेरि भन्नुभयो, ‘पुर्खाले यहाँसम्म बाढी आउँछ, यहाँ चाहिँ हामीलाई विपत छ । खतरा छ भनेको भए हामीले किन यहाँ घर बनाउँथ्यौं र ?’

जलवायु संकटले ल्याउने विपत हामीले भोगिरहेका विपत र संकटहरूभन्दा नितान्त फरक र भिन्न प्रकृतिका हुन्छन् ।

हामीले नदेखेका, नसुनेका र पुर्खाले नभोगेका विपतहरू देख्न थालेका छौं । हामी परम्परागत रूपमा आउने विपतहरू सामना गर्न सक्षम छौं होला तर जुन किसिमका जोखिम र क्षतिहरू भइरहेका छन्, त्यसलाई सामना गर्न हाम्रा संरचनाहरू पर्याप्त छैनन् । हाम्रा नीतिगत, भौतिक र नागरिक समाजका संरचनाहरू पनि सक्षम छैनन् जस्तो लाग्न थालेको छ । त्यसलाई पनि परिमार्जन गर्नुपर्ने बेला आएको हो कि ?

अब यस्ता जोखिमबाट कसरी बच्ने ? अन्तरदेशीय सूचना आदानप्रदान, पूर्वसूचना प्रणाली वा बस्ती स्थानान्तरण । कुन उपाय प्रभावकारी होला ?

म बुँदागत रूपमा केही कुराहरू राख्न चाहन्छु ।

हामीले विभिन्न ठाउँमा पूर्वसूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) स्थापना गरेका छौं । तिनले खोलाको बाढी र त्यसको सतहसम्बन्धी सूचना तल्लो क्षेत्रमा पठाउने गरेको पाइन्छ ।

मेलेम्चीदेखि रसुवाको घटनाले परम्परागत पूर्वसूचना प्रणाली मात्रै यो खालको विपत सामना गर्न पर्याप्त छैन भन्ने देखिएको छ ।

माथिल्लोदेखि तल्लो तटीय क्षेत्रमा एकपछि अर्को गर्दै हुने शृंखलावद्ध जोखिम (क्यास्केडिङ हाजार्ड)का ठाउँहरूमा काम गर्दा जोखिम के छन् भन्ने ख्याल गर्नुपर्ने देखियो । कुनै पूर्वाधार बनाउँदा जोखिम र नोक्सानीको सम्भावनाको दृष्टिकोणले पनि हेर्न जरुरी छ ।

पूर्वसूचना प्रणालीलाई पनि परिमार्जन गरेर रिमोट सेन्सिङदेखि एआई प्रविधिहरूलाई उपयोग गर्नुपर्छ । अन्तरदेशीय सूचना प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक छ । चीनमा आउने बाढी र क्षतिले नेपालमा असर पार्ने भएकाले त्यहाँबाट आउने सूचनालाई अझै प्रभावकारी बनाउनुपर्छ ।

माथिल्ला भागमा मोनिटरिङ प्रणाली बनाउने र त्यसको सूचना रियल टाइम(उही समय)मा तल पाउने व्यवस्था गर्न सकियो भने केही हदसम्म जनधनको क्षति कम गर्न सहयोग हुन्छ । परम्परागत रूपमा निर्माण गर्ने संरचनालाई पनि बदल्न जरुरी छ ।

हामी आज बनाउने संरचना ४०/५० वर्षको बाढीको अनुमानमा आधारित भएर बनाउँछौं । तर जलवायु परिवर्तनले जुन प्रकारका ठूला र अकल्पनीय विपत ल्याएका छन्, तिनलाई धान्ने खालका संरचना बनाउन अब नीतिगत रूपमा बहस थाल्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?