News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशीको बाढीले रसुवागढी-केरुङ नाका र त्रिशूली करिडोरमा ४ सयभन्दा बढी कन्टेनर ट्रकसहित १ हजारभन्दा बढी मानिस सम्पर्कविहीन भएका व्यवसायीले बताएका छन् ।
- अध्यक्ष अर्जुनबहादुर सापकोटाले भन्सार र चेकपोस्टको ढिलासुस्तीका कारण गाडी बाटोमै रोकिँदा बाढीमा ठूलो क्षति भएको आरोप लगाएका छन् ।
- नुवाकोटको बेत्रावती क्षेत्रमा पार्किङ गरिएका करिब १ सय १५ कन्टेनरमध्ये ३० देखि ४० वटा त्रिशूली नदीले बगाएको व्यवसायीले बताएका छन् ।
१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी-केरुङ नाका र त्रिशूली करिडोर क्षेत्रमा मालवाहक कन्टेनर ट्रक व्यवसायमा अहिलेसम्मकै ठूलो र अकल्पनीय क्षति पुगेको व्यवसायीहरूले बताएका छन् ।
बाढीमा परेर ४ सयभन्दा बढी कन्टेनर ट्रक र त्यसमा कार्यरत चालक, सहचालक, मजदुर र व्यापारी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन भएको यातायात व्यवसायीहरूले बताएका हुन् ।
ती सबै कन्टेनर तिज, दसैं र तिहारका सामान लिन रसुवा नाका पुगेका थिए ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा (साविकको नेपाल ट्रक कन्टेनर व्यवसायी संघ) का अध्यक्ष अर्जुनबहादुर सापकोटाले बाढीमा बगेका कारण उनीहरूको अवस्था अज्ञात रहेको जानकारी दिए ।
अध्यक्ष सापकोटाका अनुसार संघमा मात्रै ९ सय ६६ वटा कन्टेनर दर्ता छन् । जसमध्ये बाढी आउनुअघि मात्रै करिब १ सय ७५ वटा गाडी सामान लिन केरुङतर्फ गएका थिए ।
अहिले ती गाडी र त्यसमा कार्यरत चालक, सहचालक र स्वरोजगार मजदुर (साहु आफैं) गरी ४ सयभन्दा बढी सम्पर्कविहीन छन् ।
यसका साथै सामान लिन गएका ठूला व्यापारी, भन्सार छुटाउने एजेन्ट र अन्य यात्रुसमेत जोड्दा बेपत्ता हुने र फस्नेहरूको संख्या १ हजारभन्दा धेरै माथि पुग्ने उनले बताए ।
‘चालक मात्रै ४ सयभन्दा बढी हराएका छन्, सहचालक, व्यापारी र भन्सार एजेन्टहरू समेत जोड्दा यो संख्या धेरै माथि पुग्छ,’ उनले भने ।
बाढी प्रभावित क्षेत्रमा नारायणी, बल्खु, पोखरा-गण्डकी लगायत अन्य संघसंस्थाका गाडी पनि फसेको हुँदा क्षतिको आकार कल्पना गरेभन्दा धेरै ठूलो भएको उनी बताउँछन् ।
अध्यक्ष सापकोटाले यो अकल्पनीय क्षतिको मुख्य कारण भन्सार कार्यालय र बाटोमा रहेका चेकपोस्टहरूको अव्यावहारिक नियम र ढिलासुस्ती भएको आरोप लगाएका छन् ।
भन्सार प्रक्रिया पूरा गरिसकेका गाडीलाई समेत रातको समयमा गन्तव्यमा जान नदिई बाटोमै रोकेर राख्दा विपद्मा परेको उनको आरोप छ ।
‘रसुवागढी भन्सारले गाडी पास गरेर पठाउँछ, तर धुन्चेस्थित निकुञ्जको चेकपोस्टले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै गाडी चल्न दिन्छ, भन्सार तिरेर निस्किएका ७०–८० वटा गाडीलाई हाइवेको सडक किनारमा ३/४ दिनसम्म लाइन लगाएर राख्न बाध्य पारियो,’ सापकोटाले भने, ‘त्यसरी बाटोमा असुरक्षित रूपमा पार्किङ गरेर राखिएका गाडीलाई नै पहिरो र बाढीले बगाएको हो ।’
यदि भन्सार र चेकपोस्टले समयमै कन्टेर जान दिएर गन्तव्यमा पुग्न दिएको भए यति धेरै क्षति नहुने उनको भनाइ छ ।
बेत्रावतीमा मात्रै ४० गाडी बगे
केरुङतर्फ गएका र चिनियाँ भूभागमा रहेका कन्टेनरको अवस्था के छ भन्नेबारे थाहा हुन नसकेको उनी बताउँछन् ।
त्यसैगरी नुवाकोट बेत्रावती क्षेत्रमा पार्किङ गरेर राखिएका करिब १ सय १५ मध्ये ३० देखि ४० वटा कन्टेनर ट्रक त्रिशूली नदीले बगाएको उनले बताए ।
‘बेत्रावतीमा हाम्रै साथीले जोखिम मोलेर धेरै कन्टेनर भगाउन भ्याउनुभयो,’ उनले भने, ‘तर, त्यहाँ पनि ३०–४० वटा गाडी बगेका छन्, सचेत गराउँदा गराउँदै नमानेर बसेका केही पर्यटक बस पनि नदीमा खसेको देखियो ।’
व्यवसायीले बेपत्ता भएका मजदुरको तत्काल खोजी र उद्धार गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया 4