News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ भने ९ सय ३४ जना सम्पर्कविहीन छन् ।
- रसुवाका ७ आयोजनामा ७ सय ३० जना सम्पर्कविहीन छन्, जसमा माथिल्लो त्रिशूली–१ मा मात्रै ५ सय ७६ जना छन् ।
- नुवाकोटका ६ आयोजनामा २ सय ४ जना सम्पर्कविहीन छन्, र इप्पानले हेलिकप्टरमार्फत उद्धार प्रयास भइरहेको जनाएको छ ।
१२ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढी प्रभावित आयोजनामा रहेका ९ सय ३४ जना सम्पर्कविहीन छन् ।
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले उपलब्ध गराएको विवरण अनुसार रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको हो । यी आयोजनामा रहेका कर्मचारी तथा कामदार बाढी र पहिरोका कारण सम्पर्कविहीन बनेका हुन् ।
रसुवामा मात्रै ७ वटा जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् । ती आयोजनामा ७ सय ३० जना सम्पर्कविहीन छन् । रसुवाका प्रभावित आयोजनामध्ये चार वटा सञ्चालनमा छन् भने तीन निर्माणाधीन छन् ।
सञ्चालनमा रहेका चार आयोजनाको कुल क्षमता १ सय ५८ मेगावाट छ भने निर्माणाधीन तीन आयोजनाको क्षमता ३ सय ४२ मेगावाट छ ।
रसुवामा सबैभन्दा ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएको आयोजना २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ हो । निर्माणाधीन उक्त आयोजनामा मात्रै ५ सय ७६ जना सम्पर्कविहीन छन् ।
त्यस्तै १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना, १ सय २० मेगावाटको रसुवा–भोटेकोशी आयोजनामा ४, २० मेगावाटको लाङटाङ खोला आयोजनामा ४२, २२ मेगावाटको चिलिमे आयोजनामा ८ र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा ७ जना सम्पर्कविहीन छन् ।
नुवाकोटमा भने ६ वटा प्रमुख जलविद्युत् आयोजना बाढीबाट प्रभावित छन् । ती आयोजनामा २ सय ४ जना सम्पर्कविहीन रहेको विवरण छ ।
नुवाकोटका प्रभावित आयोजनामध्ये चार वटा सञ्चालनमा छन् भने दुइटा निर्माणाधीन छन् । सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता १ सय २३ मेगावाट र निर्माणाधीन आयोजनाको कुल क्षमता ५२.६ मेगावाट छ ।
नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा सबैभन्दा धेरै १ सय ५८ जना सम्पर्कविहीन छन् । त्यस्तै ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२, २४ मेगावाटको त्रिशूली जलविद्युत आयोजनामा एक, १४.१ मेगावाटको देवीघाट जलविद्युत् आयोजनामा एक र १५.६ मेगावाटको मिडिल त्रिशूलीगंगा आयोजनामा दुई जना सम्पर्कविहीन छन् ।
उपलब्ध विवरण अनुसार बाढीबाट सबैभन्दा गम्भीर मानवीय संकट माथिल्लो त्रिशूली–१, लाङटाङ, माथिल्लो त्रिशूली–३ ‘ए’ र चिलिमे जलविद्युत् आयोजनामा देखिएको छ । यी आयोजनामा तत्काल उद्धार आवश्यकता देखिएको विवरणमा उल्लेख छ ।
माथिल्लो त्रिशूली–१ मा रहेका २ सय ५४ जनाको मात्र उद्धार गर्न सकिएको छ । बाँकी सम्पर्कविहीनको उद्धारका लागि हेलिकप्टर मार्फत उद्धार प्रयास भइरहेको इप्पानले जनाएको छ ।


प्रतिक्रिया 4