News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढीपछि सत्तारुढदेखि प्रतिपक्षी दलहरूले उद्धार र राहतका लागि आफ्ना पार्टी पंक्ति र सुरक्षा निकायसँग समन्वय गरेर परिचालन गरेका छन् ।
- रास्वपाले र्याटमार्फत करिब ६०० जनाको उद्धार गरेको र नुवाकोटका पाँच सेल्टरमा करिब ५०० जनालाई राखेको जनाएको छ ।
- कांग्रेसले मोहन आचार्यको संयोजकत्वमा समन्वय तथा सहजीकरण समिति गठन गरी राहत कोषमा रकम जम्मा गर्ने र तरुण दलले काठमाडौंमा राहत संकलन अभियान सुरु गरेको छ ।
१२ भदौ, काठमाडौं । राजनीतिक मुद्दामा फरक–फरक धारमा उभिँदै आएका राजनीतिक दलहरू रसुवाको बाढीपछि उत्पन्न मानवीय संकटको सामनाका लागि एकजुट भएका छन् ।
बाढीपछि उत्पन्न मानवीय संकटमा सत्तारुढदेखि प्रतिपक्षमा रहेका दलहरू आ–आफ्नै ढंगले उद्धार र राहतको साझा जिम्मेवारीमा जुटेका छन् । दलहरूले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आ–आफ्ना पार्टी पंक्तिलाई खटाएका छन् ।
रास्वपा ‘र्याट’ उद्धार र राहतमा सक्रिय
सत्तारुढ दल रास्वपाले पार्टी पंक्तिलाई र्याट (आरएटी) मार्फत सुरक्षा निकायसँगको समन्वयमा उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार उद्धार र राहतको संयोजनको जिम्मा र्याटका पूर्वसंयोजक आशिष थापालाई दिइएको छ ।
महामन्त्री आचार्यले १० भदौमा विज्ञप्ति जारी गर्दै केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी समिति, सदस्य तथा शुभेच्छुकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर उद्धार तथा राहतमा सक्रिय हुन निर्देशन दिएका थिए ।

रास्वपाले उद्धार तथा राहत परिचालनका लागि संयोजनको जिम्मा र्यापिड एक्सन टिम (र्याट) का पूर्वसंयोजक आशिष थापालाई दिएको छ । थापाका अनुसार पार्टीबाट औपचारिक जिम्मेवारी आउनुअघि नै ‘र्याट’ प्रभावित क्षेत्रमा पुगिसकेको थियो ।
‘विपद् आइलागेपछि हामी पार्टीले जिम्मेवारी दिनुअघि नै बुधबार २ बजे नुवाकोट पुगिसेकाका थियौं । नुवाकोटका सीडीओ, एपसी साबसँग कोर्डिनेसन गरेर गएका थियौं,’ उनले भने, ‘र्याटको पहिलाको विभागीय प्रमुख भएकाले राजनीतिभन्दा पनि मानवताका हिसाबले आएका हौं । टिम लिएर त्रिशूली पुगिसकेको थिएँ ।’
थापाले रसुवाको मैलुङस्थित सेते ओडारबाट बिहीबार एकै दिन करिब अढाई सय जनाको उद्धार गरिएको बताए । ‘र्याट’ले झण्डै ६०० जनाको उद्धार गरेको उनको भनाइ छ ।
‘हिजो रसुवाको मैलुङमा रहेको सेते ओडार भन्ने ठाउँबाट समन्वय गरेर झण्डै अढाई सयको उद्धार भयो,’ थापाले भने, ‘हिजो लगभग ६०० जनाको उद्धार भएको छ ।’
उद्धार गरिएका मानिसहरूलाई नुवाकोटका पाँच वटा सेल्टरमा राखेर खाना तथा बसोबासको व्यवस्था गरिएको पनि उनले जानकारी दिए । ‘र्याट’ले उद्धार गरिएकाहरूलाई बसमार्फत काठमाडौं पठाउने कामसमेत अघि बढाएको छ ।
‘उद्धार गरेर ल्याइएका मानिसहरूलाई हामीले हिजो नुवाकोटमा पाँच वटा सेल्टरमा राखेका छौं । खान, बस्नको व्यवस्था गरेका छौं । झण्डै ५०० मानिसहरू सेल्टरमा हुनुहुन्छ,’ उनले भने, ‘आज बिहान बसहरू मगाएर हिजो उद्धार गरेकाहरूलाई काठमाडौं पठाउने काम पनि भइरहेको छ ।’
थापाका अनुसार बिहीबार रास्वपाका सांसदहरू पनि औषधि, पीपीई, ग्लोब्सलगायत स्वास्थ्य सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका थिए । ‘हिजो धेरै जना माननीयज्यूहरू पनि आउनुभएको थियो । केही माननीयज्यू डाक्टरको हैसियतले आउनुभएको थियो,’ उनले भने, ‘औषधि, पीपीए, ग्लोब्सलगायतका अत्यावश्यक सामानहरू बोकेर आउनुभएको थियो । राहत सामग्री पनि थियो ।’
प्रभावित क्षेत्रमा पुग्ने राहत सामग्रीलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्न सीडीओ, एसपी तथा सुरक्षा निकायसँग समन्वय गरिएको थापाले बताए । हामीहरूले आएको राहतको विवरण लिने, कुन संस्थाबाट कति आयो । ‘हामीले वान डोर सिस्टम गर्नका लागि सीडीओ, एसपी र क्याप्टेन साबहरूसँगको कोर्डिनेसनमा एकै ठाउँमा राखेका छौं,’ उनले भने ।
कांग्रेसले बनायो समन्वय तथा सहजीकरण समिति
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उद्धार र राहतका लागि ‘रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ । केन्द्रीय सदस्यसमेत रहेका रसुवाका सांसद मोहन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
उनका अनुसार समितिमा बाढी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरबाट केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य, सांसदहरू समितिमा छन् ।
कांग्रेसले बाढी प्रभावित जिल्लाबाट बागमती प्रदेश कार्यसमितिमा प्रतिनिधित्व गर्ने नेता, ती जिल्लाका पार्टी सभापतिहरू, प्रदेशसभा सदस्यहरू र पार्टीबाट निर्वाचित स्थानीय सरकारका प्रमुख–उपप्रमुखहरूलाई पनि समितिमा राखेको छ ।
आचार्य संयोजकत्वको समितिमा भ्रातृ संघ–संस्थाका अध्यक्ष र शुभेच्छुक संघ–संस्थाका अध्यक्षहरू पनि सदस्य रहेका महामन्त्री पौडेलले जानकारी दिए ।
‘रसुवाबाट निर्वाचित सांसद मोहन आचर्यजीको संयोजकत्वमा समिति गठन गरेका छौं । प्रभावित जिल्लाका सभापति, सांसद, जनप्रतिनिधिहरू समितिमा राखेका छौं,’ पौडेलले भने, ‘समितिले उद्धार, राहत र व्यवस्थापनमा मद्दत पुर्याइरहेको छ ।’

कांग्रेसले सरकारको राहत कोषमा एकमुष्ट रकम जम्मा गरेर सहयोग गर्नेे पनि उनले जानकारी दिए । ‘आन्तरिक रूपमा सबैलाई सहयोग गर्न लगाएर एकमुष्ट सरकारको राहत कोषमा रकम जम्मा गर्ने गरी सहयोग पुर्याउन कोसिस गरिरहेका छौं,’ महामन्त्री पौडेलले भने, ‘हाम्रा सांसद, जनप्रतिनिधिहरूको तलब दिने गरी आन्तरिक रूपमा सर्कुलर गरेको स्थिति छ ।’
हामीले सूचना प्रवाह गर्ने कुरामा पार्टीको संयन्त्रलाई निरन्तर सक्रिय बनाउने र व्यवस्थापकीय पक्षमा सहयोग पुर्याउने गरी केन्द्रीय कार्यालयमा डेस्क स्थापना गरेका छौं । सूचना र समन्यव डेस्क भनेर राखेका छौं ।
कांग्रेसले बाढी प्रभावित क्षेत्रका पार्टी संरचनाहरूलाई उद्धार र राहतमा जुट्न भनेको छ । ‘हामीले बाढी प्रभावित सबै क्षेत्रका साथीहरूलाई उद्धार र राहतमा जुट्न भनेका छौं,’ उनले भने, ‘भ्रातृ–शुभेच्छुक संस्थाका प्रमुखहरूलाई हामीले उद्धार र राहत र व्यवस्थापनमा विशेष रूपले सक्रिय बनाएको स्थिति छ ।’
कांग्रेसले केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क पनि स्थापना गरेको छ । पार्टीका तर्फबाट हुने सबैखाले सहयोग आचार्य संयोजकत्वको समितिको समन्वयमा हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाटै पार्टी पदाधिकारी तथा प्रभावित भूगोलका केन्द्रीय सदस्यहरू अन्य कार्यक्रममा सहभागी नभई उद्धार, राहत र व्यवस्थापनमा केन्द्रित रहने निर्णय गरेको छ ।
कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बाढी प्रभावितका लागि शुक्रबारदेखि काठमाडौंमा राहत सामग्री संकलन अभियान सुरु गरेको छ । तरुण दलले नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल र ठमेलमा स्टल राखेर राहत सामग्री संकलन अभियान सुरु गरेको हो ।
नयाँ बानेश्वरको स्टलमा भेटिएका तरुण दलका पूर्वकेन्द्रीय सदस्य रमेश खड्काले खाद्यान्न र लत्ताकपडा संकलनका लागि चार स्थानमा स्थल राखिएको जानकारी दिए । उनले अभियानअन्तर्गत तरुण दलले नगद भने संकलन नगर्ने बताए ।
‘आजदेखि तीन दिका लागि चार ठाउँमा राहत संकलनका लागि स्टल राखेका हौं,’ उनले भने, ‘खानेकुरा, लुगाकपडा लिन्छौं । नगद चाँहि लिन्नौं ।’
एमालेको उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा
अर्को प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० भदौमा विज्ञप्ति जारी गर्दै पार्टीका नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएका थिए ।
एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार आकस्मिक बैठकमार्फत एमालेले बाढी प्रभावितको उद्धार र राहतका लागि पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरिसकेको छ ।
एमालेले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीलाई बिहीबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पठाएको छ । उक्त टोली नुवाकोटको त्रिशूली क्षेत्रको निरीक्षण गरेर फर्किएको अधिकारीले जानकारी दिए ।
‘पार्टीको उच्चस्तरीय टिमले प्रभावित क्षेत्रको भ्रमण गर्ने भनेर हिजो महासचिवको नेतृत्वमा जनसंगठनहरू, पार्टीका सचिवहरू, राजधानीका जिम्मेवारी साथीहरू, जिफन्टका साथीहरू, अरू क्षेत्रका भूपूसैनिक तथा पूर्वप्रहरी संगठनका अध्यक्षलगायतको टोलीले विभिन्न ठाउँमा गएर निरीक्षण गर्यो,’ उनले भने ।

एमालले बाढी प्रभवितको उद्धार र राहतका लागि भ्रातृ संगठनहरू अनेरास्ववियु, युवा संघलगायतका संगठनका सदस्यहरूलाई खटाएको छ । एमाले नेतृत्वको बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगर आफैं प्रभावित क्षेत्रमा पुगेका छन् ।
‘अनेरास्ववियु, युवा संघका साथीहरू प्रभावित क्षेत्रमा खटिनुभएको छ,’ एमालेका कार्यालय सचिव अधिकारीले भने, ‘हाम्रो नेतत्वमा प्रदेश सरकार भएकाले मुख्यमन्त्री पनि उतै गएर बसिरहनुभएको छ ।’
एमालेबाट बाढी प्रभावित जिल्लाको पार्टी पंक्ति यसअघि नै परिचालित भइसकेको छ । थप जनशक्ति पठाउन पार्टी तयारी अवस्थामा रहेको एमालले जनाएको छ । ‘प्रभावित क्षेत्रको स्थानीय पार्टी पंक्ति त परिचालित भइसकेकै छ,’ अधिकारीले भने, ‘यहाँबाट पनि थप शक्ति पठाउनका लागि हामी पूर्वतयारीको अवस्थामा छौं ।’
माओवादी केन्द्रसहित अन्य दल पनि उद्धार र राहतमा सक्रिय
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० भदौमा सामाजिक सञ्जालमार्फत पार्टी पंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा मानवीय सेवामा जुट्न र स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएका थिए ।
‘नेकपाका सम्पूर्ण पार्टी पंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र मानवीय सेवामा जुट्न तथा स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन गर्छु,’ उनले फेसबुकमा लेखेका थिए ।
संयोजक प्रचण्डले बिहीबार रास्वपा अध्यक्ष रवि लामिछानेले बोलाएको सर्वपक्षीय बैठकमा विपत्तिका बेला राजनीतिक मतभेदलाई थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए ।
‘आज पनि देशमा राजनीतिक मतभेद र विमति छन् । लोकतन्त्रमा ती स्वाभाविक हुन्,’ उनले बैठकमा भनेका थिए, ‘तर विपत्तिका बेला ती मतभेदलाई केही समय थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्छ ।’

रसुवाको भोटेकोशी बाढीले सिर्जना गरेको गम्भीर संकटबाट पार पाउन सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने प्रचण्डको भनाइ थियो । ‘हाम्रो पार्टीले हिजै बैठक बसेर यस विषयमा आवश्यक निर्णय गरिसकेको छ,’ उनले बैठकमा भनेका थिए, ‘पार्टीको पंक्तिलाई उद्धार, राहत तथा सहयोगका काममा सरकारी निकायसँग समन्वय गरेर परिचालित हुन निर्देशन दिइसकेको छ ।’
जसपा नेपालले पनि बाढी प्रभावित क्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको जनाएको छ । अध्यक्ष उपेन्द्र यादवले बाढी प्रभावित क्षेत्रमा नेता–कार्यकर्ता परिचालन गरिएको जानकारी दिए ।
‘हामीले बाढी प्रभावित क्षेत्रमा खटाएका छौं,’ अध्यक्ष यादवले अनलाइनखबरसँग भने, ‘कोही स्पटमा गएका छन् । कोही विभिन्न रूपमा राहत संकलन गरिरहेका छन् । कोही मेडिकल्ली सहयोग गरिरहेका छन् ।’
अध्यक्ष यादवले मधेश केन्द्रित तथा पहिचानवादी विभिन्न ८ दलको संयुक्त मोर्चा ‘अग्रगामी मोर्चा’का तर्फबाट पनि बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताए ।
‘अग्रगामी मोर्चा’मा रहेको आम जनता पार्टीले पनि युवाको टोलीलाई प्रभावित क्षेत्रमा पठाएको छ । अध्यक्ष प्रभु साहले पार्टी निकट जेनजी टिम, आईटी आर्मीमार्फत उद्धार र राहतको काममा सहयोग पुर्याइएको बताए ।
‘हाम्रो पार्टीकै जेनजीको टिम छ, विकेश साहको नेतृत्वमा । उनको नेतृत्वमा के–के आवश्यक पर्छ भनेर टिम गइसकेको छ,’ उनले भने ।

पार्टीले युवा संगठन आईटी आर्मीलाई सरकार तथा सुरक्षा निकायसँग समन्वय गरेर स्थानीय आवश्यकता पहिचान गरी सहयोग गर्न आफ्ना संगठनलाई निर्देशन दिएको अध्यक्ष साहले जानकारी दिए ।
राप्रपाले पनि पार्टीका सबै तहका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई उद्धार, राहत र मानवीय सहयोगमा सक्रिय हुन आह्वान गरेको छ । प्रवक्ता मोहन श्रेष्ठले प्रभावित क्षेत्रका पार्टी कमिटीलाई उद्धारमा सक्रिय हुन र राहत संकलनमा सहयोग गर्न भनिएको जानकारी दिए ।
राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका सम्पूर्ण तहका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई उद्धार, राहत र मानवीय सहयोगका कार्यमा स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गर्दै सक्रिय हुन पार्टी पंक्तिलाई आह्वान गरेको थियो ।
यसैगरी, श्रम संस्कृति पार्टीले पनि बाढी प्रभावित क्षेत्रमा नेता–कार्यकर्ताहरू खटाएको छ । उक्त पार्टीका सांसद आरेन राई आफैं प्रभावित क्षेत्रमा पुगेका छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको भोटेकोशी नदीको बाढीबाट प्रभावितलाई सहयोग गर्न संसारभरि छरिएर रहेका नेपालीहरूलाई अपिल गरेका छन् । सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै उनले यो संकटको घडीमा एकजुट भएर सहयोग गर्न अपिल गरेका छन् ।
उनले भनेका छन्, ‘यो काम सरकारको मात्र जिम्मेवारी होइन । सरकारको नेतृत्वमा हामी सबैको साझा जिम्मेवारी हो । सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिक सबै एकजुट भएर यो संकटको सामना गर्नुपर्ने बेला हो ।’
प्रतिक्रिया 4