१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन छुट्टै गर्ने गरी कार्यतालिका ल्याउने भएको छ ।
इतर समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार विज्ञप्ति जारी गरेर कार्यतालिका ल्याउने बताएका छन् ।
सर्वोच्च अदालतबाट महाधिवेशन रोक्ने आदेश नआएका कारण १५ औं महाधिवेशन गर्ने वैधानिक दायित्व बोध गरेर कार्यतालिका सार्वजनिक गर्न लागिएको इतर समूहको भनाइ छ ।
‘सर्वोच्च अदालतवाट रोक्ने आदेश नआएपछि १४ औं महाधिवेशनवाट निर्वाचित हाम्रो वैधानिक केन्द्रीय कार्यसमितिले १५ औं महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएको बोध गर्दै १५ औं अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी पुन: प्रक्रिया प्रारम्भ गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।
संयोजक कोइरालाले नेता–कार्यकर्ताहरूलाई विशेष महाधिवेशन पक्षधरले गर्ने महाधिवशेनमा सहभागी नहुन पनि आग्रह गरेका छन् ।
‘विशेष महाधिवेशनवाट स्वघोषित कार्यसमितिले गर्ने गराउने अधिवेशन तथा महाधिवेशनसम्बन्धी गतिविधिमा सामेल नभई १४ औं महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न सबै तहका इमान्दार, स्वाभिमानी एवं जिम्मेवार पदाधिकारी, सदस्य, प्रतिनिधि, सर्मथक तथा शुभचिन्तक साथीहरूमा हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।


प्रतिक्रिया 4