+
+
Shares

चिलिमे सुरुङभित्र उद्धार प्रयास गरेको पर्वतारोही समूह भन्छ- छातीसम्म लेदो छ

डोरीको सहायताले सुरक्षित रूपमा अघि बढ्दै टोली करिब १२० देखि १३० मिटर सुरुङभित्र प्रवेश गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १९:३६

१३ भदौ, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका पर्वतारोही तथा सिम्रिक हेलिकप्टरको टोलीले सुरुङभित्र पुगेर अवस्थाको मूल्याङ्कन गर्दै उद्धार प्रयास गरेको छ ।

टोलीले सुरुङभित्रको अवस्थाको निरीक्षण गर्दा गहिरो हिलो, माटो तथा लेदोले सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ ।

डोरीको सहायताले सुरक्षित रूपमा अघि बढ्दै टोली करिब १२० देखि १३० मिटर सुरुङभित्र प्रवेश गरेको थियो । तर छातीसम्म आउने हिलोका कारण थप अघि बढ्न अत्यन्त कठिन भएपछि पूर्ण रूपमा अवरुद्ध भएको स्थानसम्म पुग्न नसकिएको टोलीले जनाएको छ।

उद्धारलाई थप प्रभावकारी बनाउन अब होज पाइप तथा पम्प/मोटर प्रणाली प्रयोग गरी सुरुङभित्र जमेको हिलो र लेदो हटाउने पर्ने र अवरुद्ध भाग सफा गर्न सके सुरुङभित्र फसेका व्यक्तिहरूसम्म पुग्ने सम्भावना रहेको टोलीको विश्वास छ।

आजको खोज तथा उद्धारका क्रममा सुरुङबाहिर एक जना मृत अवस्थामा फेला परेका छन्। नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरी घटनास्थलबाट बाहिर ल्याएको ल्याएको थियो ।

नेपाल सरकारले जहाँ र जुनसुकै समयमा परिचालनका लागि आह्वान गरे पनि खोज तथा उद्धार कार्यमा सहयोग गर्न आफूहरू तयार रहेको टोलीले जनाएको छ। टोलीमा पर्वतारोही आशिष गुरुङ, दोर्जी शेर्पा, जेन्जेन लामा, सविन ठकुरी, तुलिसिङ गुरूङ र पासाङ तेण्डी शेर्पा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?