काठमाडौं । भोटेकोशी बाढीले प्रभावित एक परिवारलाई मिस नेपालले आर्थिक सहयोग प्रदान गरेका छन् । १० भदौको बिहान भोटेकोशीमा उर्लिएको बाढीमा रसुवाको उत्तरगया-५, बेत्रावतीका राजकुमार डंगोलले पनि सबथोक गुमाए ।
सबैभन्दा ठूलो पीडा चाहिँ मिर्गाैला रोगी पत्नी विष्णुकुमारीको उपचारका लागि उनले जुटाएको २५ लाख रुपैयाँ र गरगहना गुमाउँदा भयो ।
दुःख गरेर कमाएको रकम र जोडेको गरगहना बाढीले बगाएपछि सामाजिक संजालमा उनले रुँदै याचना गरेका थिए । उनको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
यस्तोमा, पूर्वमिस नेपाल आश्माकुमारी केसी, पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाह र त्रिसरा रेस्टुरेन्टले संयुक्तरुपमा ती पुरुषलाई राहतस्वरुप ३ लाख रुपैयाँ रकम प्रदान गरेका हुन् ।
धनसम्पत्ति बाढीमा बगेपछि उनले उनलाई हातमुख जोर्न मात्र होइन, श्रीमतीको उपचारमा पनि खर्च जुटाउने चुनौती आइलागेको छ ।
आश्माले विपद्को समयमा पीडित परिवारलाई एक्लो महसुस हुन नदिन सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताइन् । ‘प्राकृतिक विपत्तिले मानिसको जीवनमा ठूलो क्षति पुर्याउँछ’ उनले भनिन् ।’
‘यस्तो कठिन अवस्थामा पीडित परिवारलाई साथ र सहयोगको आवश्यकता हुन्छ । हामीले गरेको सहयोग ठूलो समाधान नहुन सक्छ, तर उहाँहरूको दुःखमा हामी पनि साथमा छौँ भन्ने महसुस गराउन सकियोस भन्ने उद्देश्य हो ।’
उनले उपचारका लागि आवश्यक रकमसमेत बाढीले गुमाएका परिवारप्रति समाजका सबै पक्ष संवेदनशील बन्नुपर्ने बताइन् । ‘उहाँहरूको पीडा सुनेपछि सकेको सहयोग गर्नुपर्छ भन्ने लाग्यो । हामी सबै मिलेर सहयोग गर्यौं भने कठिन परिस्थितिमा रहेका परिवारलाई केही सहज बनाउन सक्छौँ’ उनले भनिन् ।
प्रतिक्रिया 4