News Summary
Generated by OK AI. Editorially reviewed.- डोटीका बोगटान फुड्सिल गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन २६ प्रतिशत काममै अल्पत्र छ, जबकि पाँचौं पटक थपिएको म्याद पनि गत साउनमै सकिएको छ।
- केआई सिंह आधारभूत अस्पताल भवन पाँच वर्षमा २१ प्रतिशत मात्र बनेको छ र बडीकेदार गाउँपालिकाको १० शय्याको अस्पताल भवन ८५ प्रतिशत मात्र प्रगति भएको छ।
- जोरायल र सायल गाउँपालिकाका आधारभूत अस्पताल भवन पनि क्रमशः ११ प्रतिशत र १६ प्रतिशत मात्र बनेका छन्, र पालिकाहरूले ठेकेदारको ढिलासुस्तीले बेरुजु बढेको बताएका छन्।
२५ भाद्र, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–२ केदारआखडामा १५ शय्याको आधारभूत अस्पताल निर्माण कार्य अल्पत्र छ । भवन निर्माणका लागि गाउँपालिका र सीएम–प्रसन्न जेभीबीच १८ असार २०७८ सालमा सम्झौता भएको थियो । सम्झौता अनुसार २० असार २०७९ सालमा भवन निर्माण सक्नुपर्ने थियो । तर सम्झौता भएको भवनको हालसम्म २६ प्रतिशत मात्रै काम भएको छ । १६ करोड ८५ लाख ४२ हजार रुपैयाँमा सम्झौता भएकोमा निर्माण व्यवसायीले तीन करोड ९२ लाख ७५ हजार रुपैयाँ भुक्तानी लिइसकेका छन् । उक्त ठेक्काको पाँचौं पटक थपिएको म्याद पनि गत साउनमै सकिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज आवस्थीका अनुसार गाउँपालिकाले नियमित रूपमा ताकेता गर्दा पनि काम हुन सकेको छैन ।
उनले भने, ‘पालिकाको तर्फबाट प्राविधिक टोली समेत खटाएर नियमित अनुगमन तथा सहजीकरण गर्ने कार्य भइरहेको छ ।’
ठेकेदारको ढिलासुस्ती, भौगोलिक विकटता र सामग्री ढुवानीमा कठिनाइका कारण बेलैमा काम हुन नसकेको उनले बताए ।
यो समस्या बोगटान फुड्सिल गाउँपालिकाको मात्रै होइन, अन्य चार आधारभूत अस्पालका भवनहरू पनि यस्तै अल्पत्र छन् । १५ मंसिर २०७७ सालमा तत्कालीन सरकारले तीन सय ९६ वटा स्थानीय तहहरूमा आधारभूत अस्पताल निर्माण गर्ने भन्दै एकसाथ सिलान्यास गरेको थियो । सोही दिन डोटीका सात स्थानीय तह (दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिका बाहेक) मा आधारभूत अस्पतालका भवन सिलान्यास भएका थिए । सातमध्ये शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाका आधारभूत अस्पतालका भवन मात्र निर्माण कार्य सम्पन्न भयो । पाँच अस्तालका भवनहरू भने उठ्न सकेका छैनन् ।
२३ असोज २०७९ सालभित्र सम्पन्न भइसक्नु पर्ने केआई सिंह आधारभूत अस्पतालको भवन पनि अल्पत्रै छ । १० शय्या क्षमताको उक्त अस्पताल निर्माणका लागि २३ असार २०७८ सालमा सम्झौता भएको थियो । केएस–तेडी–मनिलेक जेभीले निर्माण जिम्मा लिएको उक्त भवन सम्झौता भएको पाँच वर्ष बित्दा समेत जम्मा २१ प्रतिशत मात्रै काम भएको छ । आठ करोड १५ लाख ८५ हजार रुपैयाँ लागतमा निर्माण हुने भनिएको उक्त भवन पाँच पटकसम्म म्याद थप भइसकेको छ । ठेकेदारले एक करोड ३१ लाख ८३ हजार रुपैयाँ भुक्तानी लिएको गाउँपालिकाका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिए ।
बडीकेदार गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल भवन निर्माणका लागि धुलिखेल एलबी एण्ड एबी जयश्री बालाजी जेभीसँग ४ असोज २०७८ सालमा सम्झौता भएको थियो । सम्झौता अनुसार भवनको निर्माण कार्य २९ मंसिर २०७९ सालभित्र सम्पन्न भइसक्नु पर्ने थियो । तर पाँच वर्ष बित्दा पनि उक्त भवनको भौतिक प्रगति ८५ प्रतिशत मात्रै भएको छ । उक्त ठेक्काको म्याद छैटौं थपिएको छ । सात करोड २६ लाख १९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म निर्माण व्यवसायीले हालसम्म ६ करोड चार लाख १४ हजार रुपैयाँ भुक्तानी लिएको गाउँपालिकाले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।
जोरायल गाउँपालिकाको आधारभूत अस्पतालको अवस्था पनि उस्तै छ । २०८० साल असार मसान्तमा निर्माण भइसक्नु पर्ने १५ शय्या क्षमताको उक्त भवनको हालसम्म ११ प्रतिशत मात्रै काम भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले दिएको जानकारी अनुसार भवन निर्माणका लागि बराह डेभलपर्स प्रालि (साविकको राजेन्द्र निर्माण सेवा) सँग १९ साउन २०७८ सालमा सम्झौता भएको थियो ।
कामै नगरी ठेक्का सम्झौताको म्याद सकिएपछि १९ साउन २०८२ सालसम्मका लागि पुन: म्याद थप गरिएको थियो । त्यसपछि उक्त सम्झौताको म्याद समेत थप भएको छैन । ११ करोड २१ लाख ५८ हजार रुपैयाँमा सम्झौता भएकोमा ठेकेदारले एक करोड ९६ लाख रुपैयाँ पेश्की लिएका थिए । सो पेश्की रकमलाई महालेखापरीक्षकको कार्यालयले बेरुजु देखाएको छ ।
३० साउन २०८१ सालमा सम्पन्न हुनु पर्ने सायल गाउँपालिकाको आधारभूत अस्पतालको भवनमा हालसम्म १६ प्रतिशत मात्रै काम भएको छ । १० शय्या क्षमताको आधारभूत अस्पताल सञ्चालन हुने गरी निर्माण हुने भनिएको उक्त भवनको टीडीआर कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । आठ करोड ४६ लाखमा निर्माण गर्ने भनी ३० साउन २०७८ सालमा ठेक्का सम्झौता भई निर्माण व्यवसायीलाई कार्यादेश दिइएको थियो । तोकिएको समयमा काम सम्पन्न नहुँदा थपिएको म्यमाद पनि गत साउन मसान्तमा सकिएको छ । ठेक्का सम्झौताको म्याद समाप्त भई दुई पटक म्याद थप गर्दा समेत कार्य प्रगति नभएको गाउँपालिकाले जानकारी दिएको छ । सो भवनमा ठेकेदारले १० प्रतिशत पेश्की लिएको छ ।
निर्माण व्यवसायीले ठेक्का सम्झौता गरी पेश्की लिने तर पेश्की फर्छ्योट समेत नगरिदिने भएपछि पालिकाहरूको बेरुजु बढेको छ ।
प्रतिक्रिया 4