२५ भदौ, तेह्रथुम । विद्यालयका कक्षाकोठामा पठनपाठनका लागि आवश्यक सामग्रीको व्यवस्थापन शिक्षण-सिकाइको महत्वपूर्ण पक्ष हो । किताब, कापी र अन्य शैक्षिक सामग्रीसँगै तिनलाई व्यवस्थित रूपमा राख्ने तथा कक्षाकोठामा प्रयोग गर्ने संरचना नहुँदा शिक्षक र विद्यार्थी दुवैले दैनिक पठनपाठनमा असहजता भोग्नुपर्ने अवस्था आउँछ ।
तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यास्थित पञ्चकन्या माध्यमिक विद्यालयमा पनि यस्तै आवश्यकतालाई मध्यनजर गर्दै शैक्षिक सामग्री उपलब्ध गराइएको छ ।
स्व. कृष्णबहादुर खजुम प्रतिष्ठानले विद्यालयलाई कक्षा १ देखि ३ सम्मका लागि बुक र्याक (पुस्तक दराज) तथा कक्षा ६ देखि १० सम्मका लागि पोडियम हस्तान्तरण गरेको प्रतिष्ठानका सदस्य चित्रबहादुर खजुमले बताए । त्यसैगरी स्थानीय डम्बर लिम्बूले स्व. कुमारी लिम्बूको स्मृतिमा कक्षा ४ र ५ का लागि दुई वटा पोडियम प्रदान गरेका छन ।
यसअघि प्रारम्भिक कक्षाका विद्यार्थीले प्रयोग गर्ने पुस्तक तथा शैक्षिक सामग्री व्यवस्थित रूपमा राख्न पर्याप्त दराजको अभाव थियो । त्यसले कक्षाकोठामा सामग्री व्यवस्थापन गर्न असहजता हुने गरेको विद्यालयले जनाएको छ । त्यस्तै, कक्षा ४ देखि १० सम्म शिक्षण गर्दा शिक्षकले प्रयोग गर्ने पोडियमको समेत आवश्यकता रहेको थियो ।
शैक्षिक सामग्री प्राप्त भएपछि भने कक्षाकोठा व्यवस्थापनसँगै शिक्षण–सिकाइ प्रक्रियामा केही सहजता थपिएको विद्यालयका प्रधानाध्यापक डम्बर श्रेष्ठले बताए । उनका अनुसार बुक र्याकमा विद्यार्थीका पुस्तक तथा शैक्षिक सामग्री व्यवस्थित रूपमा राख्न सकिनेछ भने पोडियमले शिक्षकलाई कक्षाकोठामा विषयवस्तु प्रस्तुत गर्न सहज हुनेछ । ‘विद्यालयमा आवश्यक सामग्रीको उपलब्धताले शिक्षक र विद्यार्थी दुवैलाई नियमित शैक्षिक गतिविधिमा सहज हुन्छ’, प्रधानाध्यापक श्रेष्ठले भने ।
विद्यालयमा आवश्यक सामग्रीको अभाव सधैँ ठूलो पूर्वाधारसँग मात्र जोडिएको हुँदैन । कक्षाकोठामा दैनिक प्रयोग हुने सामान्य सामग्रीको अभावले पनि शिक्षण–सिकाइमा प्रत्यक्ष प्रभाव पार्न सक्छ । पुस्तक राख्ने उपयुक्त ठाउँ नहुँदा सामग्री व्यवस्थापनमा समस्या आउन सक्छ भने शिक्षकका लागि आवश्यक संरचना नहुँदा कक्षामा विषयवस्तु प्रस्तुत गर्न असहज हुन सक्छ । त्यसैले विद्यालयको आवश्यकता पहिचान गरी उपलब्ध गराइने सामग्रीले दैनिक शैक्षिक गतिविधिलाई व्यवस्थित बनाउन सहयोग पुर्याउने भएको छ ।
छथर गाउँपालिका–३ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देउमान लिम्बूले विद्यालयको आवश्यकता पूरा गर्न समुदाय तथा विभिन्न पक्षबाट प्राप्त सहयोग उपयोगी हुने बताए । विद्यालयको शैक्षिक विकासका लागि स्थानीय तह, विद्यालय र समुदायबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । ‘विद्यालयको आवश्यकता पूरा गर्न सबै पक्षको सहकार्य आवश्यक हुन्छ । प्राप्त सहयोगले विद्यालयको नियमित शैक्षिक गतिविधिमा सहयोग पुग्छ’, लिम्बूले भने ।
विद्यालयलाई प्रतिष्ठानका तर्फबाट आनन्दरानी चेम्जोङ खजुम, चित्रबहादुर खजुम र रामकुमारी खजुम आङ्लाले सामग्री हस्तान्तरण गरेका थिए । प्रतिष्ठानले यसअघि पञ्चकन्या खेलमैदानमा ६ लाख ७५ हजार रुपैयाँको लागतमा मञ्च निर्माण गरी वडा कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ । आगामी दिनमा पनि सामाजिक क्षेत्रमा आवश्यक काम गर्दै जाने लक्ष्य रहेको प्रतिष्ठानका अध्यक्ष जुरेन्द्र खजुमले बताए ।
प्रतिष्ठानले स्व.कृष्णबहादुर खजुमको स्मृतिमा विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले सामग्री उपलब्ध गराएको प्रतिष्ठानका सदस्य बुद्धीसागर खजुमले बताए । विद्यालयमा उपलब्ध गराइएका बुक–याक र पोडियमले कक्षाकोठामा रहेका सबै आवश्यकता पूरा नगरे पनि दैनिक पठनपाठनमा देखिँदै आएको केही असहजता कम गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4