News Summary
Generated by OK AI. Editorially reviewed.- विकास सुवेदीको आगामी कथानक फिल्म ‘शिरजरा : द सङ अफ ग्रान्ड मदर’ टोकियो-ग्याप फाइनान्सिङ मार्केटअन्तर्गतको लगानी तथा निर्माण बजारमा छनोट भएको छ।
- विश्वभरबाट परेका सयौं आवेदनमध्ये ‘शिरजरा’ छनोट भएको २४ परियोजनामध्ये नेपाल र भारतसहित दक्षिण एसियाबाट एकमात्र फिल्म बनेको छ।
- किङ्डम नेटवर्कको निर्माणमा बन्न लागेको फिल्मको कथा कृत्रिम बुद्धिमत्ता विशेषज्ञ युवतीको पुर्ख्यौली थलो नेपाल यात्रामा केन्द्रित छ।
काठमाडौं । निर्देशक विकास सुवेदीको आगामी कथानक फिल्म ‘शिरजरा : द सङ अफ ग्रान्ड मदर’ जापानको टोकियो-ग्याप फाइनान्सिङ मार्केटअन्तर्गतको लगानी तथा निर्माण बजारमा छनोट भएको छ ।
टोकियो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत आयोजना हुने यस बजारका लागि विश्वभरबाट परेका सयौं आवेदनमध्ये ‘शिरजरा’ छनोट भएको हो । यस वर्ष छनोट भएका विश्वका उत्कृष्ट २४ परियोजनामध्ये ‘शिरजरा’ नेपाल र भारतसहित दक्षिण एसियाबाट छनोट हुने एकमात्र फिल्म हो ।
छनोट सूचीमा कान्समा पुरस्कृत सिंगापुरका निर्देशक जुनफेङ बु, कजाकिस्तानका निर्देशक आदिलखान येर्जानाभ, कान्स विजेता फिल्म ‘टाइगर स्ट्राइप्स’को निर्माण कम्पनी इन्डोनेसियाको कावानकावान मिडिया, भेनिस विजेता भियतनामी निर्देशक डिएप नुएन होआङ र बर्लिन महोत्सवमा फिल्म प्रदर्शन गरिसकेका ब्राजिलियन निर्देशक माथियास मारियानीका परियोजना पनि समावेश छन् ।
किङ्डम नेटवर्कको निर्माणमा बन्न लागेको फिल्मको कथा कृत्रिम बुद्धिमत्ता (एआई) विशेषज्ञ युवतीको यात्रामा केन्द्रित छ । मानवीय संवेदना र भावना बुझ्न सक्ने डिजिटल प्रविधि विकासमा तल्लीन उनी हजुरआमासँगै आफ्नो पुर्ख्यौली थलो नेपाल पुग्छिन् ।
करिब ५ हजार मिटरको उचाइमा पुगेपछि प्रकृतिका अगाडि आधुनिक प्रविधिको अहंकार कसरी निरीह बन्छ र आफूले खोजिरहेको मानवीय संवेदनाको तथ्यांक बाहिरी संसारमा नभई आफ्नै पुर्खाको रगत र चेतनामा पहिलेदेखि नै सुरक्षित रहेको यथार्थ उनले कसरी बोध गर्छिन् भन्ने दार्शनिक तथा आध्यात्मिक यात्रालाई फिल्मले प्रस्तुत गर्नेछ ।
यसअघि सन् २०२० मा मीनबहादुर भामको फिल्म ‘शाम्बाला’ पनि यही टोकियो बजारमा छनोट भएको थियो । उक्त फिल्मले उत्कृष्ट परियोजनाको पुरस्कारसमेत जितेको थियो ।
प्रतिक्रिया 4