+
+
Shares

सैनिक अस्पतालको आईसीयूमा लिइयो स्वास्थ्य प्रोटोकल र पत्रकारिताको हुर्मत

सञ्जयलाई डिस्चार्ज नै भइसकेको अवस्थामा समेत सञ्चारकर्मीसँग बोल्न बन्चित गरेको सेनाले युट्युबर ठकुरीका लागि भने आईसीयूभित्रै विशेष व्यवस्था मिलाइदियो । नेपालको सुरक्षा स्वास्थ्य अनि सन्चार दुवै क्षेत्रमाथि अन्तर्राष्ट्रिय रुपमै प्रश्न उठ्न सक्नेगरी यो घटना कसरी भयो त ?

आदित्य नेपाल आदित्य नेपाल
२०८३ भदौ २९ गते २०:२९
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्जय साह र कवीर महर्जन उपचाररत छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा युट्युबर सुरजसिंह ठकुरीले अन्तर्वार्ता लिएपछि अनुमति र आचारसंहिताबारे प्रश्न उठेको छ।
  • सञ्जयका परिवारले परिवारको अनुमति नलिई आईसीयू पुगेको भन्दै आपत्ति जनाएका छन् भने नेपाली सेनाले कसले अनुमति दियो भन्नेबारे बुझिरहेको बताएको छ।
  • प्रेस काउन्सिलले अस्पताल, प्रस्तोता र मेडिकल काउन्सिललाई पत्र पठाएर आईसीयूभित्र मिडिया प्रवेश र अन्तर्वार्ताबारे छानबिन अघि बढाएको छ।

२९ भदौ, काठमाडौं। भदौ २६ गते बिहान आठ बजे छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत सञ्जय साहले आँखा खोल्ने बित्तिकै केही कमजोरी महसुस गरे।

ओछ्यानमा पल्टिएका उनलाई केहीबेर अझै पल्टिरहुँ जस्तै भयो । दुई टुक्रा ब्रेड खाएर थकाइ मारिरहेका बेला एउटी नर्स बोलिन्, ‘एउटा मिडियाको टिम आउँदैछ भनेर सुनेँ ।’

त्यही दिन डिस्चार्ज हुने भएर सञ्जयले यो कुरा खासै वास्ता गरेनन्। उनलाई लाग्यो- ‘आईसीयूभित्रै त के छिर्लान् र, बाहिरिने बेला ५-७ मिनेट कुरा गर्ने होला।’

२०-२५ मिनेटपछि क्यामेरासहितको टोली आईसीयू कक्षभित्र प्रवेश गर्‍यो । सञ्जय अक्क न बक्क भए। ठूल्ठूला क्यामेरा देखेर आफूलाई असहज भएको उनले अनलाइनखबरलाई सुनाए ।

रसुवाको भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि भदौ १९ गते सञ्जय जीवितै उद्धार भएका थिए। उद्धारको केही बेरमै सेनाले हेलिकप्टरबाट उनलाई काठमाडौं ल्यायो र आफ्नै अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थाल्यो।

सञ्जयको उपचार अहिले सकिएको पनि छैन, तर उनी उपचाररत आईसीयूमै सुरजसिंह ठकुरीसहितको टोलीले युट्युबका लागि लामो अन्तर्वार्ता गरेको भिडियो सार्वजनिक भएपछि ‘आईसीयू जस्तो संवेदनशील कक्ष’मा उनले कसरी अन्तर्वार्ताको अनुमति पाए? भनेर प्रश्न सार्वजनिक वृत्तमा उठिरहेको छ ।

‘कहाँ र कोबाट कुरा गरेर भित्र छिरे मलाई थाहा भएन। आउने बित्तिकै हामी स्वास्थ्य मापदण्ड पालना गरेर आएको हुँ भन्नुभयो,’ सञ्जयले अनलाइनखबरसँग भने, ‘आईसीयूमा सबैलाई जान दिँदैन भन्ने त मलाई थाहा थियो। झन् मिडिया नै कसरी आइपुगे बुझ्नै सकिनँ।’

ठकुरीले सञ्जयका परिवारसँग अनुमति लिएका थिए वा थिएनन् भनेर अनलाइनखबरले उनको भाइ सञ्जीवसँग सोधेको थियो। तर सञ्जीवले आफ्नो परिवारसँग कुनै अनमुति नलिई सिधै आईसीयूमा पुगेर प्रश्नकर्ताले सञ्जयलाई हैरानी दिएको र सोप्रति आफूहरूको आपत्ति भएको बताउँछन्।

अन्तर्वार्ताका लागि अनुमति लिएको नलिएकोबारे अनलाइनखबरले सञ्जयका बुबा रामफल साहलाई अस्पताल अगाडी पुगेर सोधेको थियो। उनले आफूलाई भित्र भइरहेको केही जानकारी नभएको दुखेसो गरे ।

सञ्जय भएकै आईसीयू कक्षमा सोही दिन उद्धार भएका कवीर महर्जन पनि थिए । सञ्जय हाल अस्पतालबाट डिस्चार्ज भइसके पनि महर्जन अहिले पनि आईसीयूमै छन्।

उनका भाइ अमिर महर्जनसँग ठकुरीसहितको टोलीले अन्तर्वार्ताका लागि अनुमति लिए कि लिएनन् भन्ने प्रश्नमा उनले भने, ‘हामीलाई कुनै जानकारी गराइएन। कमसेकम जानकारी त हुनुपर्ने हो। दाइ यस्तो संवेदनशील क्षणमा हुनुहुन्छ। अहिले पनि उनलाई डिस्चार्ज हुन हप्ता-दश दिन लाग्छ रे । मिडियाले यस्तो कुरा बुझ्नुपर्थ्यो, तर बुझेनन्।’

सेनाका प्रवक्ता भन्छन्- ‘मलाई थाहा भएन’

सुरजसिंह ठकुरीले सञ्जय साह र कवीर महर्जनसँग लिइएको अन्तर्वार्तालाई ‘इन्साइड दी बङ्कर’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्।

झन्डै डेढ घण्टाको उक्त अन्तर्वार्ताको शुरूआतमै उनले भनेका छन्, ‘इन्साइड दी बङ्करको लास्ट एडिसन वाज इन्साइड दी टनेल। र आजको यो एडिसन भने इन्साइड दी हस्पिटल।’

ठकुरीले अन्तर्वार्ताको शुरूआतमा छाउनी अस्पताल अगाडी उभिएर आफूले यसका लागि सम्बन्धित निकायसँग अनुमति, समन्वय र दुवै पात्रसँग स्वीकृतिसमेत लिएको दाबी गरे । त्यतिमात्रै नभइ आफूले डाक्टरहरूसँग पनि अनुमति लिएको र सोको समन्वय प्रमुख सेनानी अनुप थापाले गरेको भन्दै उनीसँग भिडियोमा हात मिलाएको देखिन्छन्।

क्यामेराले दुवैजनाको नाटकीय शैलीमा अस्पतालभित्र प्रवेश गर्दै सिधै आईसीयू कक्षमा छिरेको देखाउँछ।

आइसीयु कक्ष अस्पतालको संवेदनशील कक्ष मानिन्छ । स्वास्थ्य अवस्था नाजुक भएकै कारण बिरामीलाई यो कक्षमा भर्ना गरिन्छ।

हत्तपत्त परिवारकै सदस्यलाई नै प्रवेश नदिने यो कक्षमा ठकुरीको सहज प्रवेश अनि त्यति लामो वार्ता कसरी सम्भव भयो ? कसले कुन प्रयोजनका लागि उनलाई अन्तर्वार्तासम्मकै अनुमति दियो?

हामीले यो प्रश्न नेपाली सेनाका प्रवक्ता तथा विभिन्न युनिटलाई सोध्न खोज्यौं । तर जंगी अड्डाकै जवाफ आधिकारिक हुने ती युनिटले अनलाइनखबरलाई दिए ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत यो विषयमा आफू बेखबर भएको बताउँछन्। उनकाअनुसार ठकुरीलाई कसले अनुमति दियो भनेर जंगीअड्डालाई नै थाहा छैन। उनी भन्छन् ‘हामी यो विषय बुझ्ने क्रममा छौं।’

वीरेन्द्र सैनिक अस्पताल स्वायत्त संस्था होइन, यो पूरापूरी सैनिक मुख्यालय जंगीअड्डा अन्तर्गत पर्छ । अस्पतालमा कार्यरत कुनै चिकित्सकलाई अस्पताल र बिरामीबारे कुनै सूचना वा जानकारी औपचारिक रूपमा दिने छुट छैन। यसका लागि जंगीअड्डाकै प्रवक्ता भएर जानुपर्छ, किनकी यो अधिकार उनैसँग छ।

तर, प्रवक्ता बस्नेतले जंगीअड्डाले कसैलाई अनुमति नदिएको बताउँदै भने, ‘त्यस्तो अनुमति भन्ने नै हुँदैन। यो विषयमा के कसो भएको हो हामी बुझेर भन्छौं।’

सैनिक अस्पतालकै सेवानिवृत्त एक उच्च अधिकृत चिकित्सक भने जंगीअड्डाले अनुमति नदिएसम्म सैनिक अस्पतालभित्र कोही छिर्न नपाउने बताउँछन् ।

वीरेन्द्र सैनिक अस्पताल । फाइल तस्वीर ।

उनकाअनुसार जंगीअड्डाले कुनै मौखिक वा लिखित अनुमति नदिएसम्म अस्पतालले स्वीकृति दिने कुनै सम्भावना रहँदैन।

‘यो त सरासर गलत हो नि। कहाँ पाउँछ यसरी अन्तर्वार्ता लिन ? तर कहीँ पनि एउटा नियम हुन्छ अर्को अपवाद हुन्छ । सधैं नियम मात्र नभइ कहिलेकाहीँ अपवादले पनि काम गर्छ,’ ती अधिकृतले अनलाइखबरसँग भने, ‘अब यहाँनेर के अपवाद थियो त्यो मलाई थाहा भएन। कुनै न कुनै बाध्यता वा स्वार्थ नभइकन यस्तो अपवाद सैनिक अस्पतालमा देखिँदैन।’

सेनाले भदौ २६ गते साँझ सञ्जय डिस्चार्ज भएर बाहिरिइसक्दा पनि उनलाई कुनै सञ्चारकर्मीसँग बोल्न दिएको थिएन । सञ्जयकै लागि सैनिक अस्पताल अगाडी धेरैजसो विदेशी र केही नेपाली मिडियाका पत्रकार उभिएका थिए ।

तर सञ्जय उनीहरूसँग नबोलुन भनेरै ट्याक्सी भित्रै नआउञ्जेल र गेटबाहिरका पत्रकार नजाउञ्जेल उनलाई बाहिरिनसमेत दिइएन । पत्रकारहरू गेटवरीपरिबाट हटेपछि मात्रै ट्याक्सी बाहिरिन पायो। सञ्जयका अनुसार उनलाई पहिल्यै भनिएको थियो, ‘बाहिर कुनै पत्रकारसँग नबोल्नु। सिधै घर गएर आराम गर्नु, अहिले आरामको जरूरत छ।’

जबकि डिस्चार्ज नै भइसकेको अवस्थामा पनि सञ्जयलाई अरु सन्चारकर्मीसँग बोल्न बन्चित गरेको सेनाले युट्युबर ठकुरीका लागि भने आईसीयूभित्रै विशेष व्यवस्था मिलाइदियो ।

यो विषयमा ठकुरीकै कुरा सुन्न अनलाइनखबरले उनलाई सम्पर्क गरेको थियो। तर उनले आफ्नो फोन हिजैदेखि ‘स्वीच अफ’ राखेका छन् । ह्वाट्असप सम्पर्कमा भने उनले आफू चीनमा रहेको बताए । अरु प्रश्नको जवाफ फर्काएनन् ।

आईसीयूमा अन्तर्वार्ता कति उचित?

आईसीयू अस्पतालको सघन उपचार कक्षको रूपमा चिनिन्छ। अस्पतालको साधारण वार्डभन्दा धेरै उच्चस्तरको निगरानी, उपचार र जीवनरक्षक सहयोग आवश्यक पर्ने बिरामीका लागि यो एक विशेष इकाइ हो।

आईसीयूमा बिरामीको सुरक्षा र उपचार प्रक्रियालाई प्रभावकारी बनाउन केही गतिविधिहरू निषेध गरिएको हुन्छ । जस्तै अनावश्यक भीडभाड गर्न, अनुमति बिना धेरै समयसम्म बस्न, हात सफा नगरी प्रवेश गर्न, चिकित्सक वा नर्सको निर्देशनबिना बिरामीलाई छुन पाइँदैन।

त्यस्तै, आईसीयूभित्र मोबाइल फोन चलाउन, ठूलो आवाजमा कुराकानी गर्न, फोटो वा भिडियो खिच्न निषेध गरिएको हुन्छ।

किनकि यसले बिरामीको गोपनीयता र शान्त वातावरणमा असर गर्छ। बाहिरको खाना, फूल वा संक्रमण फैलाउन सक्ने वस्तुहरू भित्र लैजान प्रायः अनुमति हुँदैन। भित्र छिर्नेहरूका लागि तोकिएको पोशाक, टोपी, पञ्जा र मास्क अनिवार्य हुन्छ।

तर सुरजसिंह ठकूरी आईसीयूको मापदण्डविरूद्ध गएका देखिन्छन्। उनले औपचारिकताका लागि पोशाक लगाएको त देखिन्छन् तर त्यहीँ प्रयोग हुने टोपी, पञ्जा र मास्क लगाएको देखिँदैनन्।

ठकुरी यो गतिविधि स्वास्थ्य संवेदनशीलताको चस्माबाट हेर्दा कति उचित छ? आईसीयूमा अन्तर्वार्ता लिन आईसीयूको मापदण्डभित्र पर्दैन तर उनले पाए, कसरी ? भनेर अनलाइनखबरले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष ढुण्डीराज पौडेललाई सोधेको थियो। जवाफमा उनले भने, ‘यही त नेपालको दुर्भाग्य हो।’

नेपाली सेनाले ठकुरीलाई कसैको दबाबमा अनुमति दिएको पौडेलको आशंका छ। उनले सेनाले दिन नहुने अनुमति दिएको र ठकुरीले गर्न नहुने काम गरेको बताउँछन्।

‘त्यो पनि लामो समय रहेछ। आइसीयुको बिरामीकहाँ गएर दुई घन्टासम्म अन्तर्वार्ता गर्नु नेपालका लागि मात्रै होइन विश्वकै स्वास्थ्य क्षेत्रलाई असर पार्ने घटना भयो,’ उनी भन्छन्, ‘यो त हाम्रो क्षेत्राधिकार भित्र पर्दैन। तर कसैले ध्यानाकर्षण गरायो भने त कारबाही गर्नसकिन्छ। फेरी सेना मातहतको निकाय उसैको हेडक्वाटरले पनि केही गर्नुपर्ने हो।’

विश्व स्वास्थ्य संस्थाको ‘बिरामी सुरक्षा अधिकार’ले बिरामीको सुरक्षा र अधिकारलाई केन्द्रमा राख्नुपर्ने भन्छ । जसमा बिरामीको गोपनियता र विश्वसनीयताको संरक्षण महत्वपूर्ण भएको जिकीर गरिएको छ ।

त्यस्तै नेपालको जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा १४ ले पनि स्वास्थ्य सेवा प्रदान गर्दा सेवाग्राहीको स्वास्थ्य अवस्था, निदान र प्राप्त उपचारसम्बन्धी सूचना गोप्य राख्नुपर्ने व्यवस्था गरेको छ । पत्रकार आचारसंहितले पनि प्रभावित व्यक्तिको गोपनियता र अन्तर्वार्ताकारले अपनाउनु पर्ने सजगताबारे बोलेको छ ।

‘यसलाई पत्रकारिता भनिंदैन’

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा सुरजसिंह ठकुरीले गरेको अन्तर्वार्ता आचारसंहिताविरूद्ध भएको बताउँछिन्। ठकुरीले भ्युज बटुल्न आचारसंहिताको हुर्मत लिएको भन्दै आलोचना गर्छिन् । आचारसंहिताको ज्ञान नहुनेले यस्तो संवेदनशील क्षेत्रमा पत्रकारिता गर्न नहुने उनको भनाइ छ।

‘यसलाई पत्रकारिता पनि भन्न मिल्दैन। यो विशुद्ध रूपमा भाइरल हुन प्रतिस्पर्धा गरेको जस्तो देखियो। फेरी कुनै संस्थाका लागि नभई युट्युबका लागि रहेछ,’ शर्माले अनलाइनखबरसँग भनिन्, ‘पत्रकारितामा संवेदनशीलताको ख्याल गरिन्छ, युट्युबका लागि बनाउने कन्टेन्टमा गरिँदैन।’

यो प्रकरणमा थप अध्ययन अनुसन्धान भइरहेको भन्दै सोमबार प्रेस काउन्सिलले सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिललाई पत्रचार गरेको छ ।

‘प्रेस काउन्सिलले हालै जारी गरेको विपद् सञ्चार निर्देशिका अनुकूल यो अन्तर्वार्ता छैन । यस विषयमा हामीले अस्पताल प्रशासन, प्रस्तोता र मेडिकल काउन्सिललाई छुट्टाछुट्टै पत्र पठाएका छौं’ काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले भने ।

अस्पताल प्रशासनलाई अनुमति दिएको हो कि होइन र उपचारमा संलग्न चिकित्सकहरूलाई सोधिएको छ कि छैन भन्ने प्रश्न गरेर पत्र पठाइएको छ ।

प्रस्तोता ठकुरीलाई अस्पताल प्रशासनको अनुमति लिए नलिएको, कति समयसम्म आईसीयूमा बसेको, कतिजनाको क्रु मेम्बर लिएर आईसीयूमा छिरेको, विरामीको अनुमति लिए नलिएको, विरामीको परिवारको अनुमति लिए नलिएको र उपचारमा संलग्न चिकित्सकहरूसँग पनि अनुमति लिए नलिएकोबारे प्रश्न गरेर काउन्सिलले पत्र पठाएको छ ।

काउन्सिलले मेडिकल काउन्सिललाई आईसीयूभित्र मिडिया प्रवेशबारे काउन्सिलको कुनै प्रोटोकल छ कि छैन भनेर जिज्ञासा राखेर पत्र पठाएको छ । आईसीयूभित्र अन्तर्वार्ता लिएको विषयमा काउन्सिलले पत्र काटेपछि सञ्चारकर्मी ठकुरीले अहिले यूटुयूवमा अपलोड गरेको भिडियोको हेडलाइन फेरेका छन् ।

उनले यसअघि ‘इन्साड द आसीयू’ भन्दै हेडलाइन राखेका थिए । अहिले फेरेर ‘इन्साइड द टनेल’ भनेर राखेका छन् । हेडलाइनमा यो शब्दपछिको बाँकी वाक्य चाहिँ एउटै छ ।

काउन्सिलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यसअघि पनि सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शकको अस्पतालमा उपचाररत रहेको अवस्थामा आईसीयूबाट अन्तर्वार्ता लिई बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीको विषयमा अनुगमन गरिरहेको जानकारी दिएको छ । बीबीसीले ६ दिनसम्म सगरमाथा क्षेत्रमा हराएर फेला परेका दावा शेर्पासँग कुराकानी गरेको थियो ।

प्रेस काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहाल भने अस्पताल वा डाक्टरको अनुमति लिएर अन्तर्वार्ता गरेको हो भने सञ्चारकर्मी भन्दा अनुमति दिने व्यक्तिबाट बढी गल्ती भएको बताउँछन् ।

शिक्षक मासिकका सम्पादक समेत रहेका दाहाल भन्छन्, ‘ठ्याक्कै यो घटनालाई मैले विस्तृत रुपमा हेरिसकेको छैन । तर सिद्धान्ततः डाक्टरको अनुमति पाएरै लिएको हो भने पनि त्यो ठीक होइन । तर मेडिकल आचार संहिता विपरीत अनुमति दिइएको हो भने त त्यो पत्रकार आचार संहिता भन्दा पनि गम्भीर उल्लंघन हो ।’

लेखक
आदित्य नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?