News Summary
Generated by OK AI. Editorially reviewed.- लोचन रिजालले रसुवाको भोटेकोशी बाढी र क्यालिफोर्नियाको डढेलोका पीडितप्रति समवेदना प्रकट गर्ने ‘कथा’ गीत सार्वजनिक गरेका छन्।
- गीतमा लोचनले आरबाजो, गितार र स्वर दिएका छन् भने क्यालिफोर्नियाका संगीतकारहरूले भायोलिन, सेलो, हार्प र बेसमा सहकार्य गरेका छन्।
लोचन रिजाल संगीतलाई मनोरञ्जनको स्रोत मात्र मान्ने सर्जक होइनन् । उनी यसमा जीवनसँग, समाजसँग र राष्ट्रको पहिचानसँग जोडिएका कुराहरू देख्छन् । लोपोन्मुख नेपाली मौलिक बाजाहरूलाई समकालीन संगीतमा ढाल्न खोज्नु त यसको एउटा सानो उदाहरण मात्र हो ।
त्यसैले हुन सक्छ, उनी आफ्ना गीतहरूमार्फत भुइँमान्छेका दुःखसुख, बसाइँसराइ, चेतना, स्वतन्त्रताको अभाव, सामाजिक दबाब, भावना र दैनिक जीवनका कथा/गाथा सुनाउने गर्छन् । मुख्य कुरो उनका गीतहरू बजारिया हुँदैनन् । सम्भवत: उनमा बजारको लोभ छैन ।
ट्विस्ट के छ भने उनका गीतहरू कम समयमा र नियमित आउँदैनन् । एक पटक यो प्रश्नको उत्तर दिँदै उनले भनेका थिए – उनको ध्येय गीतको संख्यामाभन्दा पनि गीतको गुणवत्तामा हुन्छ ।
यो दावी उनको कुनै गीत सुने प्रष्ट हुन्छ ।
र, यस्तो लाग्छ – उनका गीतहरू पर्खनु आफैंमा एउटा गीतको सुस्केरा हो ।

यसपटक उनले बिल्कुलै फरक कारणले गीत ल्याए । १० भदौमा रसुवाको भोटेकोशीमा विशानकारी बाढी आयो । ठूलो जनधनको खती भयो । जुन बिर्सन अझै वर्षौं लाग्छ ।
प्राकृतिक विपत्तिले देश हेर्दैन । औकात हेर्दैन । संसारको जुनै कुनामा आए पनि हालत उही हुन्छ । त्यसले दिने पीडा समान हुन्छ । जस्तो, सन् २०२५ मा क्यालिफोर्नियाको लस एन्जलस क्षेत्रमा भएको थियो । त्यसमा पनि ठूलो खती भएको थियो । र, त्यसको पीडालाई नजिकैबाट च्याडविक क्यानन, डङ्कन थम, जोएल पार्गम्यान लगायतका लस एन्जलसका संगीतकारहरूले बुझेका थिए ।
दुई फरक भूगोलका तर एउटै पीडा भएका संगीतकारहरू त्यसपछि नयाँ गीतका लागि एकै ठाउँमा उभिए ।
यसरी लोचन रिजाल र क्यालिफोर्नियाका सङ्गीतकारहरूले गीत लिए – कथा ।
भलै यो बिल्कुलै नयाँ गीत भने होइन । रिजालले आफ्नो काँचो आवाज एल्बममा यो गीतलाई यसअघि नै समावेश गरेका थिए । अहिले निकालेको कथालाई सोही गीतको नयाँ रुप भन्न सकिन्छ ।
नेपालमा बाढीले पुर्याएको क्षति र क्यालिफोर्नियामा डढेलोले पुर्याएको विनाश – दुवै घटनामा घर, आफन्त र समुदाय गुमाएका पीडितहरूप्रति सङ्गीतमार्फत समवेदना र साझा ऐक्यबद्धता गर्न यो गीत निकालिएको रिजालले बताएका छन् ।
कथा आफैंमा एउटा भारी गीत हो । यसका शब्दहरू भित्र जीवनको यथार्थ र संघर्षका कथा लुकेका छन् ।
जस्तो,
कठिनै बेला पोल्याँ पाउ, घाउ त टालियो अब खै कता ढलौं…
यी शब्दहरूले जीवनमा साह्रै कठिन मोडमा पुगेर पनि फेरि उठ्न खोज्ने प्रत्येक मनको कथा भन्छ ।
यसरी कथाले सबै मान्छेहरूले भोग्ने पीडा र त्यसबाट पुनः उठ्ने सङ्घर्ष एउटै हुन्छ भन्ने सन्देश सांकेतिक रूपमै दिन्छ । किनकि, यो गीतमा सहकार्य गरेका क्यालिफोर्नियाका संगीतकारहरू डंकन थम, अन्जे रोजम्यान, जोएल पार्गम्यान र क्यारी केनेडी आफैंले डढेलोमा आफ्नो घर गुमाएका थिए ।

गीतका लागि क्यालिफोर्नियाका एरेन्जर च्याडविक क्याननको नेतृत्वमा लस एन्जलसका संगीतकारहरू लोचन रिजालसँग जोडिएका छन् । गीतमा लोचनले नेपाली परम्परागत बाजा आरबाजो, गितार र स्वर भरेका छन् । क्यालिफोर्नियाली टोलीको भायोलिन, सेलो, हार्प र बेस । पश्चिमा र पूर्वीय बाजाहरू मिसिँदा गीत भव्य बन्न पुगेको छ ।
अर्कोतिर यो गीतमा लोचन आफैं बाढी प्रभावित ठाउँमा पुगेर भिडियो लिएका छन् । उनले बाढीले क्षतविक्षत भएको किनारा र भत्केका संरचनाहरूको अर्काइभ राख्ने काम गरेका छन् ।
यसका साथै क्यालिफोर्नियाका संगीतकारहरूले आगलागीले क्षति पुर्याएको आफ्नो ठाउँलाई पृष्ठभूमिमा राखेर भिडियो लिएका छन् । यसरी भिजुअलमार्फत पनि फरक भूगोलको समान पीडा देखाइएको छ ।
विशेषत: गीत निकाल्नुको उद्देश्य नेपालका बाढी प्रभावितहरूलाई प्रत्यक्ष सहयोग पुर्याउनु रहेको रिजालले जनाएका छन् । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न विश्वभरका दर्शकहरूलाई लोचनले अपिल गरेका छन् ।
यी आधारमा यो गीतलाई पीडा र समवेदनाको सेतु भन्नु बढी सार्थक हुन जाला । सोहीकारण यो सांगीतिक प्रस्तुति सुन्ने र हेर्नेको लेबलभन्दा धेरै पर रहन गएको छ ।
प्रतिक्रिया 4