+
+
Shares

रोकिएन ब्याजदर घट्ने क्रम, असोजमा कुन बैंकले कति दिन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते ११:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंक तथा वित्तीय संस्थाहरूले असोजका लागि सार्वजनिक गरेको सूचीअनुसार वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ०.०४६ प्रतिशत बिन्दुले घटेको छ।
  • भदौमा ४.१३६० प्रतिशत रहेको औसत ब्याजदर असोजमा ४.०८९६ प्रतिशत कायम भएको छ, र २० मध्ये ४ बैंकले दर घटाएका छन्।
  • राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन र स्थायी निक्षेप सुविधा मार्फत बैंकबाट पैसा खिचिरहेको छ।

३१ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले असोज महिनाका लागि ब्याजदर सूची सार्वजनिक गरेका छन् । अघिल्लो महिनाका लागि हरेक मसान्तको दिन ब्याजदर सूची बैंकहरूले सार्वजनिक गर्दै आइरहेका छन् । असोज महिनामा पनि वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर घटेको छ ।

बैंकहरूले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजको औसत दर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीसँगै कर्जाको ब्याज पनि घट्न जान्छ ।

पहिले नै लामो अवधिको मुद्दती खाता खोलेकाहरूले भने त्यतिबेलाको शर्तअनुसार सोही ब्याजदर पाउँछन् । असोज महिनामा खुल्ने नयाँ मुद्दती खाता तथा यो महिनामा अवधि समाप्तपछि नवीकरण हुने मुद्दतीका हकमा मात्रै नयाँ ब्याजदर कायम हुने छ ।

जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर घटाउनका लागि दबाब पुग्छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा भदौको तुलनामा असोजमा ०.०४६ प्रतिशत बिन्दुले घटेको छ । यसअघि भदौमा पनि साउनको तुलनामा ०.०३१५ प्रतिशत बिन्दु घटेको थियो ।

भदौमा व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकहरुको अधिकतम ब्याजदरको औसत दर ४.१३६० प्रतिशत रहेकोमा असोजमा ४.०८९६ प्रतिशत कायम भएको छ । साउनमा यो दर ४.१६७५ रहेको थियो ।

भदौको तुलनामा असोजमा ४ वाणिज्य बैंकले ब्याजदर केही घटाएका छन् भने १६ ले स्थिर राखेका छन् । असोजमा ब्याजदर घटाएका बैंकमा नबिल, एभरेस्ट, स्टान्डर्ड र कुमारी छन्। अरु १६ बैंकले स्थिर राखेका छन् ।

केही बैंकले ब्याजदर सामान्य घटाउँदा औसत दर घटेको हो । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ४.५५ प्रतिशतभन्दा तल झरेको छ । असोजमा व्यक्तिगत मुद्दतीमा प्रभुको ब्याजदर अरुको भन्दा केही बढी देखिन्छ ।

तर बैंकले दिने ४.५५ प्रतिशत ब्याजदर १० वर्षभन्दा बढी अवधिको लागि मात्रै हो । तसर्थ लामो अवधिका लागि केही बढी र छोटो अवधिका लागि कम ब्याजदर बैंकले दिने गरेका छन् ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ ।

व्यक्तिगत मुद्दतीमा कुन बैंकको ब्याजदर कति ?

बैंक भदौको ब्याजदर % असोजको ब्याजदर %
कृषि विकास ४.१५ ४.१५
सिटिजन्स ३.८५ ३.८५
एभरेस्ट ४.०५ ३.५०
ग्लोबल आईएमई ४.०० ४.००
हिमालयन ४.०० ४.००
इन्भेस्टमेन्ट मेगा ४.५० ४.५०
कुमारी ३.७६ ३.७३
लक्ष्मी सनराइज ४.०० ४.००
माछापुच्छ्रे ४.५० ४.५०
नबिल ४.५५ ४.२५
नेपाल ४.१५ ४.१५
नेपाल एसबीआई ४.१० ४.१०
एनआईसी एसिया ४.०० ४.००
एनएमबी ४.५० ४.५०
प्राइम कमर्सियल ४.०० ४.००
प्रभु ४.५५ ४.५५
राष्ट्रिय वाणिज्य ४.०० ४.००
सानिमा ४.५० ४.५०
सिद्धार्थ ३.७६ ३.७६
स्ट्यान्डर्ड चार्टर्ड ३.८० ३.७५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?