+
+
Shares

नेपाल-चीन सीमा वार्तामा नाम्खा-पुलानबीच भगिनी सम्बन्धको पहल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल–चीन सीमा व्यवस्थापन, सुरक्षा र सीमावर्ती साझा विषयमा छलफल गर्न हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारीसहितको टोली चिनियाँ पुलान काउन्टी पुगेको छ।
  • चार दिनको वार्तामा भन्सार, अध्यागमन, सीमा सुरक्षा र सीमासम्बन्धी विषयमा गहन छलफल हुने सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले बताए।
  • हुम्लाको नाम्खा गाउँपालिका र चीनको पुलान काउन्टीबीच भगिनी–नगर सम्बन्ध स्थापना गर्ने आशयपत्रमा हस्ताक्षर भएको छ।

३१ भदौ, हुम्ला । नेपाल-चीन सीमा व्यवस्थापन, सुरक्षा तथा सीमावर्ती क्षेत्रका साझा विषयमा हुने बैठकमा भाग लिन हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको टोली चीनको पुलान काउन्टीमा पुगेको छ ।

चिनियाँ सरकारको निमन्त्रणामा यही भदौ २९ गते असोज १ गतेसम्मको जारी बैठकमा भाग लिन नेपाली टोली त्यहाँ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले बताए।

उनका अनुसार चार दिनसम्म चल्ने वार्तामा भन्सार, अध्यागमन, सीमा सुरक्षा तथा सीमासँग सम्बन्धितलगायतक विषयमा गहन छलफल हुनेछ । नेपाली टोलीमा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, प्रहरी नायब उपरीक्षक शङ्कर खड्का, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नन्दबहादुर साउद र चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा रहेका छन्।

त्यस्तै, बझाङबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी, प्रहरी नायब उपरीक्षक टेकबहादुर जोरा, चीनसँग सीमा जोडिएको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा तथा सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख उज्जल लामिछाने रहेको सहायक प्रमुख जिल्ला अधिकारी शाहीले बताए।

नाम्खा–पुलानबीच भगिनी सम्बन्धको पहल

यसैबीच सीमा वार्ताका क्रममा हुम्लाको नाम्खा गाउँपालिका र चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत आली प्रिफेक्चरको पुलान काउन्टीबीच भगिनी–नगर सम्बन्ध स्थापना गर्ने आशयपत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले आशयपत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल र चीनबीच आपसी मित्रता, सद्भाव, सांस्कृतिक आदानप्रदान तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले भगिनी सम्बन्धसम्बन्धी आशयपत्रमा हस्ताक्षर गरिएको अध्यक्ष लामाले बताए।

उक्त समझदारीले कृषि, पशुपालन, पर्यटन, संस्कृति तथा अन्य साझा हितका क्षेत्रमा सहकार्यका नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको बताउँदै अध्यक्ष लामाले सीमावर्ती क्षेत्रको विकास, समृद्धि तथा जनस्तरको सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?