News Summary
Generated by OK AI. Editorially reviewed.- इलाम श्रीअन्तुका गायक कुबेर राई पक्षघातपछि बौद्धधामस्थित घरमा थेरापी, योग र प्राणायाम गर्दै पुनः संगीत अभ्यास गरिरहेका छन्।
- उनी उच्च रक्तचाप र मधुमेहको उपचारपछि देब्रे पाटो नचल्ने भएपछि अस्पताल, उपचार र थेरापीको लामो क्रमबाट घर फर्किएका हुन्।
- राईले आफ्ना पुराना दिन र संघर्ष डायरीमा टिपोट गर्दै आफैंलाई लेखेर आत्मबल बढाइरहेका छन्।
इलामको बौद्धधामबाट थोरै हिँडेपछि भेटिन्छ, ठिकठाकैको एकतले घर । त्यहीँ बज्छ तानपुराको नाद । अनि त्यहीँ बस्छन्, कुबेर राई ।
सारेगमको स्वर–विन्यास पछ्याउँदै जाँदा भेटिएका थिए, यी मधुर मान्छे । बताससँगै दौडिरहेको ओसिलो कुहिरोभित्र चारकोठे घरमा उनी एकसुरमा संगीत अभ्यास गरिरहेका थिए ।
तर, स्वर त्यस्तै थिएन जस्तो पहिले थियो । शरीर उस्तै थिएन जस्तो पहिले थियो । जीवन–संगीतको धुन कहीँकतै टुटेको थियो । आखिर के भएको थियो उनलाई ?
कुनैबेला त जिल्लाभर हुने स्टेज कार्यक्रमहरूको ‘शोभा’ बढाउन उनलाई भ्याई–नभ्याई हुन्थ्यो । मेला–महोत्सव, फुटबल प्रतियोगिता, फूलपाति पर्व जहाँ पनि र जहिले पनि उनी हुनैपर्थ्यो । यी रमझमहरूमा प्रस्तोताले उनको नाम एकदमै श्रद्धा र उमंगले उद्घोष गर्थे, ‘अब आउँदै हुनुहुन्छ कुवेर राई ।’
अन्ततः उनी दुई हात जोडेर भलाद्मी ठाँटमा स्टेजमा प्रकट हुन्थे । हार्दिकताको खादा पहिरिन्थे र दुई चार थान गीत गाइदिन्थे ।

निम्तो आएजति कार्यक्रममा ‘नाइँनास्ती’ गर्न सक्दैनथे । गाईवस्तुलाई घासपात पुर्याएर सबैको मन राख्न ठाउँ–ठाउँ हाजिर हुन्थे । यसरी कार्यक्रमलाई आफ्ना गीतहरूले सुशोभित बनाएवापत उनले पाउँथे, दोसल्लासहितको सम्मान । या त मायाको चिनो ।
बेलामौकामा नि:सर्त खामबन्दी दक्षिणा पनि ।
श्रद्धाले टक्र्याएको दक्षिणा कोटको खल्तीमा घुसार्थे । त्यसपछि मोटरसाइकल हुँइक्याउँदै गाउँ श्रीअन्तु फर्कन्थे ।
गाउँ गुल्जार थियो । त्यहाँ हरेक साँझ हार्मोनियम बज्थ्यो । तबला र मादल बज्थ्यो । गितार बज्थ्यो । त्यो याममा संगीत सिक्न आउनेहरूको जमघटले डाँडाको टुप्पोमा रहेको उनको सानो घर हराभरा हुन्थ्यो ।
यसरी संगीत सिकाएबापत गुरु भेटीको रूपमा तिनीहरूले बाटो खन्न सघाउनुपर्थ्यो । किनभने कुबेर राई श्रीअन्तु, सल्लेरीसम्म मोटरबाटो बनाउन तम्सिएका थिए । आफ्नो थातथलोमा मोटर कुँदेको हेर्ने उनको उधुम चाह थियो ।

प्रवासी नेपालीलाई संगीतको तलतल लागेपछि उनैलाई सम्झन्थे । केही जोर लुगाफाटो बोकेर उनी सुटुक्कै काठमाडौं आउँथे । भिषाको प्रक्रिया मिलाउँथे । कहिले बेलायत उड्थे, कहिले हङकङ, कहिले अष्ट्रेलिया । वर्षेनी जुर्ने यस्ता अवसरहरूले उनलाई बेफुर्सदिलो बनाउँथे । गाउँघरमा गोडमेल गर्नुपर्ने अन्नबालीको मेलो बित्थ्यो ।
उनी विदेश पुग्दा कसैलाई माइती आएजस्तै हुन्थ्यो । कसैलाई सहोदर दाजुभाइ भेटेजस्तै हुन्थ्यो । सबैसँग अत्यन्तै स्नेहले भलाकुसारी गर्थे र सन्ध्याकालीन एकल गायनमा प्रस्तुत हुन्थे ।

आफ्ना गीतहरूले मनमग्न बनाइदिएपछि मिल्ने घरखर्च बोकर उनी काठमाडौं ओर्लन्थे । सौदापात गर्थे र नाइटबस चढेर ढुक्कले इलामतिर लाग्थे ।
विदेशको धपेडीले बगेको पसिना सुक्न नपाउँदै मकै गोड्न जान्थे । घाँस काट्थे, मल बोक्थे । र, घाम अस्ताएर पहाडहरू कालो धर्काजस्तो बन्दै गर्दा हार्मोनियम समातेर स्वराभ्यस गर्थे, सा..रे..ग..म..।
एवं रितले उनका दिनहरू गुज्रिन्थे ।
यो पहिलेको कुरा भयो । अहिलेको कुरा अर्कै छ ।
अवरोह : त्यसपछि जीवन बेसुर भयो
त्यो मध्यान्ह छिमेकमा काजकिरिया थियो । उनी त्यहाँ पुग्दा तिर्खाले आँत हरहर भयो । कसैले उनलाई पेयको रूपमा कफी दिए । चिनी हालेको कफी पिएर घर फर्किएँ ।
बारीमा काम गरिरहेका थिए, अनुहार एकाएक रापियो । यस्तो भयो मानौ उनी आगोको डिलैमा बसेका छन् । छेवैमा जमेको पानी अनुहारमा छ्यापे । असहज भएपछि घरमा आएर ओछ्यानमा पल्टिए । तै बिसेक भएन । छोरीज्वाइँलाई बोलाएर अस्पताल गए ।
त्यसपछि उनी उसैगरी घर फर्किएनन्, जसरी सामान्य दिनहरूमा फर्कन्थे । उपचार, औषधि, थेरापी, अस्पताल बसाइको लामो उपक्रम सकाएर जसोतसो घर फर्कँदा उनको शरीरको देब्रे पाटो चलाउनै नमिल्ने भइसकेको थियो ।
उच्च रक्तचाप र मधुमेहसँग जुधिरहेका उनको एकपाटो शरीरमा पक्षघात भएछ । त्यसतर्फका हात, खुट्टा, मुख र आँखामा जसको असर परिसकेको थियो ।

त्यसपछि उनको जिन्दगीको घडी उस्तै लयमा घुम्न छाड्यो । समाज, साथीभाइ, मेलापात, रमझम, रेकर्डिङ, कन्सर्टको पूर्ववत् तालिकामा गतिशिल हुने त्यो जिन्दगी एकै ठाउँमा टक्क रोकियो ।
चारतिर दौडिहिड्ने उनी चार पर्खालभित्र बन्द भए । जीवनको गीत र गति बेसुर भइदियो । ओसिलो सन्नटामा पट्यारलाग्दा दिनहरू गुजार्न बाध्य भए ।
तर जिन्दगीको यो सूर जहाँबाट बिघटन भयो, त्यहींबाट अर्को अध्यायको सुरु भयो । शरीरलाई पूर्ववत चालमा फर्काउन योग, प्राणायाम, थेरापीसँगै उनले आरोह–अवरोहको कथा लेख्न थाले । यस्तो भयो, मानौं जिन्दगीमा छुट्नै लागेको आफ्नै महाभारत तयार गर्न यो एउटा विश्रामको मौका हो ।
आरोह : आफ्नै कथाहरूको खोजीमा
२०३८ सालको कुनै घमाइलो मौसम । श्रीअन्तु, सल्लेरीस्थित डाँडाको टुप्पोमा रहेको घरबाट सबेरै ‘गायक बन्न’ भनी उनी हिँडे । नाइटबस चढेर काठमाडौं ओर्लिए ।
त्यसपछि के–के भयो ? के–के भएन ? बौद्धधामको घरमा बसेर उनी आफ्नै विगतलाई पत्रपत्रमा केलाउँदैछन् ।

रत्न रेकर्डिङको ‘वृहत युवा राष्ट्रिय गीत सम्मेलन’, रेडियो नेपालको ‘आधुनिक गायन प्रतियोगिता’ मा प्रथम हुँदाका ती उत्साहित दिनहरू । संगीतकार दिनेश सुब्बासँग पैसा सापटी लिई किनेको पाउरोटी तीन छाक बनाएर भोक टार्दाका त्यी अत्यासलाग्दा साँझहरू । सबै–सबै उनले नबिराई डायरीमा टिपोट गर्दैछन् । आफ्नै जीवनको सुदूरअतीतमा फर्किएर उनी बर्तमानमा बाँचिरहेको जीवनलाई भनिरहेका छन्, ‘तँ हार्ने मान्छे होइनस ।’
यही जिद्दीपनले उनले पक्षघातलाई जित्दैछन् । शरीरका शिथिल अवयवहरू तंग्रिदैछ । उनी उठ्दैछन्, हिँड्दैछन् । त्यो भन्दा बढी लेख्दैछन् ।

शरीरका यी प्रगति विवरणमा उनलाई एउटा कुराले दरिलो साथ दिएको छ, सिर्जनशिलता । जब उनको गलामा अवरोध पैदा भयो, उनका औंलाहरू सक्रिय भए । त्यसैले मस्तिष्कका तन्तुहरुलाई जागा राखे । अन्ततः उनले आफ्नै कथा लेख्न थाले । आफैंलाई लेख्न थाले ।
आफ्नो जिन्दगीका डायरीमा खाली पानाहरू भरिँदै गर्दा उनको फुर्ती बढ्न थालेको छ । त्यही जाँगरले उनलाई हरेक बिहान–साँझ नित्य संगीत साधनामा तल्लीन गराउन थालेको छ ।
बौद्धधामको त्यो एक्लो घरलाई कुहिरोले ढाक्दै गर्दा तानपुराको धुनसँगै उनको आवाज गुञ्जन थाल्छ, सा रे ग म …।

प्रतिक्रिया 4