News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दिन योगबाट शुरू हुने, ४ देखि ६ घण्टा सुत्ने र बिहान पत्रपत्रिका, इमेल तथा फोन सम्पर्कमा समय बिताउने बताएका छन्।
- मोदीले आफू शाकाहारी भएको, उपलब्ध शाकाहारी खाना खाने र कहिलेकाहीँ आफैँ खिचडी पकाउने गरेको सार्वजनिक संवादमा बताएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एकछिन राजनीतिक वृत्तबाट अलग गर्नुहोस् । उनको जीवन र शैलीलाई मात्र नियाल्नुहोस् । उनी के गर्छन् ? के खान्छन् ? यी प्रश्नहरूको उत्तर रोचक मात्र होइन अनुकरणीय पनि छ ।
मोदी एकदमै अनुशासित जीवन बिताउँछन् । सुत्ने, उठ्ने, खाने तालिका सकेसम्म नियमित हुन्छ । यो दैनिकीमा योग, ध्यान, व्यायम अभिन्न रुपले जोडिन्छ ।
लामो कार्यसमय, योग, साधारण खानपान, नियमित उपवास र कम निद्राको अभ्यासबारे उनले विभिन्न अवसरमा आफैँ बताएका छन् ।
मोदीले सन् २०१८ मा दिएको एक अन्तर्वार्तामा आफ्नो दिन योगबाट सुरु हुने बताएका थिए । योगपछि बिहानको समय पत्रपत्रिका हेर्न, इमेल जाँच्न र फोन सम्पर्क गर्न बिताउने गरेका छन् । योगले शरीर र मनलाई सक्रिय राख्न सहयोग गर्ने उनी बताउँछन् ।
उनको निद्राबारे पनि स्पष्ट रूपमा बताएका छन् । कामको बोझअनुसार आफूले सामान्यतः ४ देखि ६ घण्टासम्म सुत्ने गरेको मोदीले बताएका थिए। ओछ्यानमा गएपछि छिट्टै निदाउने र बिहान ताजा भएर उठ्ने उनको भनाइ थियो ।
मोदीको दिनचर्याको सबैभन्दा रोचक पक्षमध्ये एक हो– उनको खानपान । हालैको एउटा सार्वजनिक संवादमा उनले आफूले कुनै निश्चित ‘डाइट सिस्टम’ नअपनाउने बताएका छन् । आफू शाकाहारी भएकाले उपलब्ध शाकाहारी खाना खाने र कहिलेकाहीँ आफैँ खिचडी पकाउने गरेको उनले बताएका थिए । त्यसैले उनको खानपानलाई कुनै विशेष वा कठोर ‘डाइट प्लान’ भनेर प्रस्तुत गर्नु सही हुँदैन ।
उनको जीवनमा उपवासको पनि लामो परम्परा छ । सन् २०२५ मा अमेरिकी कम्प्युटर वैज्ञानिक लेक्स फ्रिडम्यानसँगको संवादमा मोदीले आफूले करिब ५०–५५ वर्षदेखि विभिन्न प्रकारका उपवास गर्दै आएको बताएका थिए । उनका अनुसार चतुर्मासको अवधिमा करिब चार महिनासम्म दिनमा एकपटक मात्र भोजन गर्ने अभ्यास गर्छन् ।
नवरात्रिमा उपवास अझ कडा हुने उनको भनाइ छ । सेप्टेम्बर–अक्टोबरतिर पर्ने नवरात्रिका नौ दिन आफूले खाना नखाई तातो पानी मात्र पिउने गरेको उनले बताएका छन् । त्यस्तै, मार्च–अप्रिलतिर पर्ने चैत्र नवरात्रिमा ९ दिनसम्म दिनमा एकपटक एउटा मात्र फल खाने गरेको उनले सुनाएका छन् ।
मोदीले उपवासलाई केवल खाना नखाने अभ्यासका रूपमा मात्र व्याख्या गरेका छैनन् । उनका अनुसार यो भक्ति, अनुशासन र आत्मचिन्तनसँग जोडिएको अभ्यास हो । उनले उपवासका बेला आफ्नो कार्यक्षमता घट्नुको सट्टा बढेको महसुस हुने र विचार अझ स्वतन्त्र तथा सिर्जनात्मक रूपमा प्रवाहित हुने अनुभव सुनाएका छन् ।
मोदीको दिनचर्यामा अर्को उल्लेखनीय पक्ष हो– कामको बीचमा पनि आफ्नो व्यक्तिगत अभ्यासलाई निरन्तरता दिन खोज्नु । २०२५ को संवादमा उनले उपवासकै समयमा पनि प्रधानमन्त्रीका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने गरेको उदाहरण सुनाएका थिए ।
उनले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग ह्वाइट हाउसमा भेट्दा आफू उपवासमा रहेको र आफूलाई तातो पानी दिइएको प्रसंगसमेत सुनाएका थिए ।
प्रतिक्रिया 4