News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी नदीको बाढीले रसुवा र नुवाकोटमा करिब ६०० भैँसी, १५ हजार सुँगुर–बंगुर र २ लाख व्यावसायिक कुखुरा नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ।
- नेपाल भेटेरिनरी एशोसिएसनको ९ सदस्यीय टोलीले भदौ २९ देखि ३१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेको छ।
- एशोसिएसनले पशुधन पुनर्स्थापना, संक्रामक रोग नियन्त्रण र कृषकको जीविकोपार्जन पुनर्स्थापनाका लागि सरकारलाई विशेष कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ।
१ असोज, बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट क्षेत्रमा मात्रै करिब ६०० भैँसी, १५ हजार सुँगुर–बंगुर र २ लाख व्यावसायिक कुखुरा नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ ।
बाढी प्रभावित क्षेत्रमा तेस्रो चरणको स्थलगत अनुगमन तथा पशुपन्छी स्वास्थ्य सहयोगका लागि पुगेको नेपाल भेटेरिनरी एशोसिएसन (एनभीए)को टोलीले स्थानीय पशु चिकित्सक, पशु सेवा कार्यालय, संघसंस्था तथा स्थलगत अध्ययनबाट उक्त क्षतिको विवरण संकलन गरेको हो ।
एशोसिएसनको ९ सदस्यीय टोलीले भदौ २९ देखि ३१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर पशुधनमा भएको क्षति, उद्धार तथा उपचारको अवस्था र बाढीपछि फैलिन सक्ने संक्रामक रोगको जोखिमबारे स्थलगत जानकारी लिएको थियो ।
एशोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार बाढीको तीव्र बहावका कारण पशुपन्छीमा ठूलो क्षति पुगेको हो । बाढीपछि जीवित तथा घाइते पशुपन्छी फेला पार्ने सम्भावना समेत न्यून रहेकाले क्षतिको वास्तविक विवरण अझ बढ्न सक्ने अवस्था रहेको उनले बताए ।
‘बाढीले पशुधनमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ, तत्कालको राहतसँगै बाँकी पशुपन्छीको स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण र कृषकको जीविकोपार्जन पुनर्स्थापनामा ध्यान दिनुपर्ने अवस्था छ,’ महासचिव न्यौपानेले भने ।
केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीको नेतृत्वमा गएको टोलीले रसुवाको गोसाइँकुण्ड, कालिका, उत्तरगया र नौकुण्ड, धादिङको गल्छी–देवीघाट तथा नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रमा अनुगमन गरेको थियो ।
विशेषगरी गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकामा मानवीय राहतसँगै पशुपन्छीका लागि औषधि, फिड सप्लिमेन्ट तथा आवश्यक उपकरण हस्तान्तरण गरिएको एशोसिएसनले जनाएको छ ।
बाढीले कृषकको प्रमुख आर्थिक आधार मानिएको पशुधनमा ठूलो क्षति पुर्याएकाले तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना कार्यक्रम आवश्यक रहेको एनभीएको भनाइ छ ।
एशोसिएसनले पशुधन पुनर्स्थापना, संक्रामक रोग नियन्त्रण, पशु स्वास्थ्य सुरक्षा र कृषकको जीविकोपार्जन पुनर्स्थापनाका लागि सरकार तथा सम्बन्धित निकायलाई विशेष कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया 4