News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुम पश्चिमको आठबिसकोटमा बन्ने २२.५० मेगावाटको जल्दीगाड जलविद्युत् आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ बराबर लगानी जुटेको छ ।
- राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र निफ्राले आयोजनामा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
- आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने र निर्माण अवधि ३३ महिना तोकिएको छ ।
१ असोज, काठमाडौ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जल्दीगाड जलविद्युत् आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ बराबर लगानी जुटेको छ ।
सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ प्रवर्द्धकहरूको इक्विटी लगानी रहने छ ।
जल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ । आयोजना निर्माण अवधि ३३ महिना तोकिएको छ ।
आयोजनाका लागि आवश्यक जग्गा खरिद लगायत अधिकांश पूर्वतयारीका काम सम्पन्न भइसकेकाले वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै निर्माण कार्यलाई तीव्रता दिइने प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेले बताए ।
जल्दीगाड आयोजना प्रवर्द्धन गर्ने समूहले यसअघि गोरखामा ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । उक्त आयोजना निर्धारित समयभन्दा करिब ६ महिना अगावै सम्पन्न भएको र कम्पनी सेयर बजारमा सूचीकृत छ ।
त्यस्तै यही समूहले गोरखामा ४.६ मेगावाट क्षमताको बुढीगण्डकी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनालाई आगामी ६ महिनाभित्र विद्युत् उत्पादनमा ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ ।
सांग्रिला हाइड्रोपावर अध्यक्ष खगेन्द्र न्यौपानेले वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजना निर्माणका लागि थप उत्साह र ऊर्जा मिलेको बताए । उनले यसअघि पनि यही समूहले आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न गरी पुरस्कृत भएको स्मरण गर्दै जल्दीगाड आयोजना पनि तोकिएको समयमै सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा सांग्रिला हाइड्रोपावर अध्यक्ष न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया 4