+
+
Shares

राजु लामा फाउन्डेसन र स्मल वर्ल्डद्वारा रसुवाका बाढीपीडितलाई राहत र स्वास्थ्य सेवा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजु लामा फाउन्डेसन र स्मल वर्ल्डले रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित तेताङचे गाउँमा बाढी प्रभावितलाई ३५०० किलो खाद्यान्न र औषधि वितरण गरेका छन् ।
  • गणेश गुरुङको सहभागितामा चार घण्टा स्वास्थ्य शिविर सञ्चालन गरी प्रभावित बासिन्दालाई स्वास्थ्य सेवा दिइएको र हेलिकोप्टरमार्फत तेताङचेसम्म राहत सामग्री पुर्‍याइएको छ ।
  • स्मल वर्ल्डले परिवार गुमाएका ९ वर्षीय बालकलाई काठमाडौं ल्याएको छ र थप २०० परिवारलाई राहत दिने तयारी गरेको छ ।

काठमाडौं । पपगायक राजु लामाको परोपकारी संस्था ‘राजु लामा फाउन्डेसन’ र सामाजिक संस्था ‘स्मल वर्ल्ड’ले भोटेकोशी बाढी प्रभावित रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित तेताङचे गाउँमा राहत सामग्री वितरण गरेका छन् ।

दुई संस्थाले बाढी प्रभावितलाई स्वास्थ्य सेवासमेत प्रदान गरेका छन् । बाढीपछि सडक सञ्जालबाट विच्छेद भएको उक्त गाउँका प्रभावित बासिन्दालाई ३५०० किलो खाद्यान्न र औषधि वितरण गरिएको गायक लामाले जानकारी दिए ।

वरिष्ठ फिजिसियन गणेश गुरुङको सहभागितामा त्यहाँ चार घण्टा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो । सडक सम्पर्क टुटेपछि दुई संस्थाको पहलमा स्थानीय बासिन्दालाई हेलिकोप्टरमार्फत तेताङचेसम्म राहत सामग्री पुर्‍याइएको थियो । यसका लागि हेलिकोप्टरबाट नौवटा सटल उडान गरिएको लामाले बताए ।

प्रभावित क्षेत्रबाट काठमाडौं फर्किएका लामाले राहत सामग्री पुर्‍याउन निकै कठिन भएको बताए ।

‘धुन्चेभन्दा माथि सडक नै छैन, जसले गर्दा राहत सामग्री वितरणमा कठिनाइ छ । त्यहाँ पुग्ने माध्यम भनेकै हेलिकोप्टर हो,’ उनले भने, ‘हामीलाई समेत राहत सामग्री त्यहाँ पुर्‍याउन १७ घण्टा लाग्यो ।’

प्रभावित क्षेत्रमा खाद्यान्न अभावलगायतका समस्या विकराल रहेको लामाले बताए ।

‘पैसा भएर पनि सामान किन्न सक्ने स्थिति छैन । लुगा त त्यही लगाउँला, तर खानेकुरा नभएपछि कसरी बाँच्ने भनेर पीडितले बताउनुभयो,’ उनले भने, ‘बालीनाली पनि उब्जाउ छैन । बालीनाली नभएपछि जीवन धान्न कठिन हुन्छ । अरू संस्थाले पनि मद्दत गरून् भन्ने उहाँहरूको आग्रह छ ।’

यसैबीच, स्मल वर्ल्डले आमाछोदिङमो गाउँपालिकाका ९ वर्षीय एक बालकको उद्धार गरी काठमाडौं ल्याएको छ । बाढीमा परिवारका सबै सदस्य गुमाएका ती बालक अहिले यलो गुम्बामा आश्रय लिइरहेका छन् । उनको पढाइको जिम्मेवारीसमेत संस्थाले लिएको छ ।

स्मल वर्ल्डले बाढी प्रभावित नुवाकोटका विदुर नगरपालिकास्थित  थप २०० परिवारलाई राहत सामग्री र अन्य सेवा उपलब्ध गराउने तयारी गरेको छ । ती परिवारलाई ग्यास चुलो सेट, लत्ताकपडा र भान्साका सामग्री वितरण गर्ने योजना छ ।

स्मल वर्ल्ड र राजु लामा फाउन्डेसन दुवै संस्था सामाजिक तथा परोपकारी गतिविधिमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?