News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता तथा निर्देशक निखिल उप्रेतीले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न नेपाली फिल्मको गुणस्तर र प्राविधिक क्षमता बढाउनुपर्ने बताएका छन् ।
- उनले नेपाली कथामा आधारित ‘आचार्य’लाई अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति दिन एनामर्फिक लेन्स, क्यामेरा वर्क, स्टन्ट, साउन्ड र ग्राफिक्समा ध्यान दिएको बताए ।
- एक्सन फिल्म छायांकनमा सुरक्षा पूर्वाधार र अनुमति प्रक्रियाले समस्या भएको भन्दै उनले फिल्म उद्योगलाई अन्य उद्योगसरह सहजीकरण गर्न सरकारसँग आग्रह गरे ।
काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेतीले नेपाली फिल्ममा विदेशी फिल्मको प्रभुत्व घटाउन स्वदेशी फिल्मको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने बताएका छन् । यही उद्देश्यले आफूले आगामी फिल्म ‘आचार्य’ निर्माण गरेको उनको भनाइ छ ।
खुला बजारमा विदेशी फिल्मलाई रोक्नुभन्दा नेपाली फिल्मलाई तिनीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने उनले बताए ।
‘हाम्रो देशमा खुला बजार छ । विश्वभरिका फिल्म हामीकहाँ आउँछन् । धेरै महँगा फिल्म आउँछन् र ती हेर्ने स्वतन्त्रता पनि दर्शकलाई छ,’ निखिलले भने, ‘तर हामी गरिब छौँ भनेर मेहनतमा गरिब नहोऔँ ।’
विदेशी फिल्म हेर्ने दर्शकलाई रोक्नुभन्दा त्यही स्तरको प्रविधि, प्रस्तुति र विषयवस्तु नेपाली फिल्ममार्फत दिन सके बिस्तारै विदेशी फिल्मको प्रभाव घटाउन सकिने उनको धारणा छ ।
उनका अनुसार ‘आचार्य’को कथा नेपाली भए पनि यसको प्रस्तुतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयास गरिएको छ । नेपाली कथालाई नेपालीपनमै राखेर आधुनिक प्रविधि र फरक सिनेम्याटिक शैलीमार्फत दर्शकमाझ ल्याउने उद्देश्यले फिल्म निर्माण गरिएको उनले बताए ।
‘कथा हाम्रो हो, कथावस्तु यहीँबाट सुरु हुन्छ । तर यसको प्रस्तुति फरक हो,’ उनले भने ।
विदेशी फिल्मको प्रभाव घटाउन आगामी पुस्ताले पनि निरन्तर मेहनत गर्नुपर्ने उप्रेती बताउँछन् । यसका लागि नेपाली दर्शकले आफ्ना फिल्मप्रति माया र विश्वास देखाउनुपर्ने उनको भनाइ छ । तर दर्शकसँग माया माग्नुअघि फिल्मकर्मीले पनि माया गर्न लायक काम गर्नुपर्ने उनले बताए ।
‘दर्शकले माया गर्नु भनेर मात्रै हुँदैन । हामी मायाको लायक पनि हुनुपर्छ,’ उनले भने ।
निखिलले ‘आचार्य’लाई आफ्नो करिअरकै प्राविधिक रूपमा महत्वाकांक्षी फिल्मका रूपमा प्रस्तुत गरेका छन् । फिल्ममा प्राविधिक पक्षलाई विशेष प्राथमिकता दिइएको उनले बताए ।
उनका अनुसार फिल्ममा एनामर्फिक लेन्स प्रयोग गरिएको छ । क्यामेरा वर्क, ब्लकिङ, स्टन्ट, ब्याकग्राउन्ड म्युजिक, साउन्ड इफेक्ट, एसएफएक्स तथा ग्राफिक्समा पनि विशेष ध्यान दिइएको छ ।
फिल्मको ब्याकग्राउन्ड म्युजिक, एसएफएक्सलगायत केही प्राविधिक काम भारतमा गरिएको उनले बताए । नेपाल र भारतमा छायांकन गरिएको फिल्ममा नेपालीसँगै भारतीय कलाकार पनि छन् । भारतीय बजारमा फिल्म बेच्ने उद्देश्यले मात्र नभई कथाको मागअनुसार भारतीय कलाकार चयन गरिएको उनको भनाइ छ ।
एक्सन फिल्म छायांकनलाई जोखिम
‘आचार्य’ निर्माणका क्रममा नेपालमा एक्सन फिल्म छायांकन गर्दा सुरक्षा पूर्वाधारको अभाव र विभिन्न स्थानमा छायांकन अनुमति लिने प्रक्रियाले चुनौती थपेको निखिलले बताए ।
एक्सन दृश्यमा आफूले वास्तविक स्टन्ट गर्ने भएकाले पर्याप्त सुरक्षा पूर्वाधार नहुँदा जोखिम उठाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
‘यहाँ सेफ्टीको चिज छैन । अहिले पनि हामीले काम गर्दा ठूलो रिस्क उठाउनुपर्ने हुन्छ । म रियल स्टन्ट गरिरहेको हुन्छु,’ उनले भने ।
कलाकारलाई सामान्य चोट लाग्दा पनि त्यसले फिल्मको छायांकन तालिका र बजेटमा प्रत्यक्ष असर पार्ने उनले बताए ।
‘मलाई सानो चोट लागेर मैले रेस्ट गर्नुपर्यो भने यहाँ प्रोडक्सन-वाइज त्यसको कस्ट बढ्दै जान्छ । शारीरिक चोट मात्रै होइन, यसले फाइनान्सियल चोट पनि पुर्याउँछ,’ उनले भने ।
विमानस्थल, सडक, रंगशालालगायत सार्वजनिक तथा संवेदनशील स्थानमा फिल्म छायांकनका लागि अनुमति लिन समस्या हुने गरेको पनि निखिलले बताए । कतिपय दृश्य नेपालमा छायांकन गर्न नपाएपछि भारत गएर खिच्नुपरेको उनको भनाइ छ ।
‘जुन चिजमा यहाँ अड्चन हुन्थ्यो, त्यहाँ चाहिँ त्यही चिज सजिलै भयो,’ उनले भने ।
फिल्म उद्योगलाई अन्य उद्योगसरह व्यवहार गरेर छायांकनका लागि आवश्यक सहजीकरण गर्न उनले सरकार र सम्बन्धित निकायलाई आग्रह गरे । फिल्म निर्माणबाट राज्यले करसमेत प्राप्त गर्ने भएकाले नेपाली फिल्मलाई आवश्यक स्थान, सुरक्षा र सुविधा उपलब्ध गराउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
‘सुरक्षाको कारण छ भने सुरक्षा के गर्दा हुन्छ, त्यो गर्नुपर्छ । तर यो पनि त उद्योग हो । हामी पनि ट्याक्स तिर्छौं,’ उनले भने । निखिल अभिनीत तथा निर्देशित फिल्म ‘आचार्य’ असोज ९ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ ।
प्रतिक्रिया 4