+
+
Shares

ईश्वर बाबुआमा खोज्न पोर्चुगलबाट आए, न बाबुआमा भेटे न घर

पोर्चुगलबाट डेढ महिनाको बच्चा छोडेर नेपाल आएका ईश्वर बस्नेतले आठ दिनसम्म बाबुआमा खोजे, शव भेटिएन । परिवारले ३५–४० वर्ष लगाएर बनाएको सपनाको घर पनि बाढीले लग्यो । उनीसँग फर्किने अब घर र गाँउ रहेन, सम्झनाबाहेक ।

मनिषा थापा मनिषा थापा
२०८३ असोज १० गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको सोलेबजारमा आएको बाढीले करिब ६८ जना बेपत्ता बनाएको छ, र एक जनाको मात्र शव भेटिएको स्थानीयले बताएका छन् ।
  • पोर्चुगलमा रहेका ईश्वर बस्नेतले बाढीको खबर पाएपछि नेपाल आएर बाबुआमाको खोजी गरे, तर आठ दिनसम्म शव भेटिएन ।
  • बाढीले घरसँगै नागरिकता, जन्मदर्ता, जग्गाजमिन र अन्य कागजात बगाएपछि पीडित परिवार मृत्यु दर्ता र प्रशासनिक प्रक्रियामा अल्झिएका छन् ।

१० असोज, काठमाडौं । पोर्चुगलमा बिहानको करिब चार बज्न लागेको थियो । ईश्वर बस्नेत डेढ महिनाको छोरोलाई दुध खुवाउन उठेका थिए । त्यही बेला फोन आयो ।

आँखा निद्राले राम्रोसँग उघारिएको समेत थिएन । सवेरै आएको फोन उनले सुरुमा उठाएनन् । केहीबेरपछि फेरि फोन बज्यो । उनले उठाए, फोन बुहारीको थियो ।

‘सोलेबजारमा ठूलो बाढी आयो, बस्ती नै बगायो । चाँडो थाहा पाउने भागेर बाँचे । ममीबाबाको अत्तोपत्तो छैन, फोन लागेको छैन,’ फोन हत्तारिएर उठाएपछि उनले सुने ।

त्यो खबर सुन्नेबित्तिकै ईश्वरलाई सपना जस्तो लाग्यो । उनी भटाभट दिमागले भ्याएको नाम सम्झिदै हातहरू कँपाएर फोन गर्न थाले । एकपछि अर्को नम्बरमा ।

नुवाकोटतिरका आफन्त, चिनेजानेका मानिस, साथीभाइ । तर फोन लागेन ।

कहिले नेटवर्क आएन, कहिले उताबाट फोन उठेन ।

केहीबेरपछि बाढीबाट भागेर घरदेखि माथिल्लो भागमा पुगेका मानिसहरूले खिचेका भिडियोहरू आउन थाले ।

ईश्वरले मोबाइलमा भिडियो हेरे । उनले चिनेको सोलेबजार भिडियोमा देखिएन । जहाँ घरहरू थिए, त्यहाँ घर थिएनन् । पहिला जहाँ मानिसहरू भेटिन्थे, त्यहाँ बगर र बाढीको निशान थियो ।

उनी डेढ महिनाको बच्चा र श्रीमतीलाई उतै छाडेर इर्मेजेन्सी टिकट काटेर पोर्चुगलबाट नेपाल आए । उनलाई त्यो पोर्चुगलको यात्रा ६ घण्टाको होइन, निकै लामो लाग्यो ।

‘मनमा अनेक तर्कवितर्क, दिमाग नै पड्किएला जस्तो भएको थियो । ६ घण्टाको दुरीमा रहेको नेपालसम्मको यात्रा सात दिन जतिको जस्तो लामो भयो, मेरो लागि । जे भयो, कल्पना बाहिरको कुरा थियो । त्यो बेला के सोचे, म शब्दमा बयान गर्न सक्दिन,’ उनी भन्छन् ।

ईश्वर बस्नेत

उनी मात्र होइन, उनका माइलो भाई काठमाडौंमा र कान्छो भाई दुवई थिए । उनीहरू सबैजना हतासमा पुगे, सोलुबजार ।

आठ दिनसम्म खोजे, तर शव भेटिएन

उनीहरू बाढी गएको भोलिपल्ट सोलेबजार पुगे । त्यहाँ पुगेपछि उनीहरूले बाढीले गरेको विनाश आफ्नै आँखाले देखे ।

ईश्वरले कल्पना गरेको भन्दा धेरै फरक थियो, त्यो दृश्य । उनी यसलाई बाढी होइन, सुनामी भन्छन् ।

‘हामीले सोचेका थियौँ, बाढी आएको होला, घर भत्किएका होलान् । तर त्यहाँ पुगेपछि त घर कहाँ थियो भनेर खोज्नुपर्ने अवस्था रहेछ,’ उनी भन्छन्, ‘हाम्रो घर भएको ठाउँ नै पहिचान गर्न नसकिने भएको रहेछ । यो त बाढी होइन, सुनामी हो ।’

मनमा के चलिरहेको थियो, त्यो दाजुभाईले पोख्ने समय पाएनन् । ईश्वर र उनका दाजुभाइले बाबुआमाको खोजी सुरू गरे । जहाँ–जहाँ सम्भावना थियो, त्यहाँ खोजे । सम्भावित ठाउँहरूमा खबर गरे । उनीहरू बगाएर टाढा लग्यो कि भनेर पोखरासम्म खोजी गरे ।

एक दिन, दुई दिन गर्दै आठ दिन बित्यो । तर बाबुआमाको न शव भेटिए, न सास । ईश्वरका बाबुआमासहित परिवारका अन्य सदस्य पनि बाढीमा हराएका थिए ।

सोलेबजारबाट धेरै मानिस सम्पर्कविहीन थिए । पछि मात्र उनीहरूले थाहा पाए, त्यहाँबाट करिब ६८–७० जना मानिस बेपत्ता भएका रहेछन् । जसमध्ये धेरैको अझै अत्तोपत्तो छैन ।

‘कम्तीमा शव भेटिएको भए पनि एउटा अन्तिम सन्तोष हुन्थ्यो,’ उनी भन्छन् ।

ईश्वरले बाहिर हुँदा भिडियोमा बाढीको दृश्य देखिरहेका थिए । तर त्यो भिडियो र सोलेबजार पुगेर आफ्नै आँखाले देखेको दृश्यमा ठूलो फरक थियो ।

‘हामीले टाढाबाट हेर्दा मान्छेहरू किन भागेनन् होला भनेर पनि सोच्यौं,’ उनी भन्छन्, ‘तर यहाँ आएर खोला हेरेपछि थाहा भयो, भाग्ने समय नै नपाइने रहेछ । हामी त्यहाँ भए हामी पनि रहन्थेनौं होला ।’

बाढीको बहाव घरभन्दा धेरै माथिको तहमा पुगेको थियो । सोलेबजार र बेत्रावतीतिरको भूभागको ठूलो हिस्सा बाढीले चिरेर दुई धारजस्तो बनाएको थियो । घरहरू, बाटो, खेतबारी—सबैको स्वरूप बदलिएको थियो ।

‘हाम्रो घरको ठाउँभन्दा ७०–८० मिटर माथिसम्म त्यो बहाव आएको रहेछ । वारिपारिको ठूलो भूभाग नै त्यसले बगाएको रहेछ,’ उनी सुनाउँछन्, ‘हिजो त्यहाँ गएर हेर्दा यस्तो लाग्यो, यो ठाउँमा कहिल्यै घर थियो भन्ने कुरा पनि पत्याउन गाह्रो हुन्छ ।’

उनका लागि त्यो दृश्य मात्र बाढीको दृश्य थिएन । त्यो उनको बाल्यकाल, घर र बाबुआमाको जीवन थियो । परिवारले दशकौं लगाएर बनाएको संसार थियो । सबै एकैपटक मेटिएको थियो ।

‘३५–४० वर्ष लगाएर बनाएको मेहेनत, पसिना र माया मिसिएको घर थियो । त्यसलाई बगाउन पाँच मिनेट पनि लागेन,’ उनी भन्छन ।

आठ दिनपछि खोजी रोकेर काजक्रिया

ईश्वर र उनका दाजुभाइले आठ दिनसम्म सम्भावित ठाउँमा खोजी गरे । आफन्त र चिनजानका मानिसहरू पनि खोजीमा जुटे । तर बाबुआमाको कुनै अत्तोपत्तो लागेन । शव भेटिएन, कुनै पहिचान खुल्ने वस्तु पनि फेला परेन ।

‘हामीले खोज्न सक्ने जति खोज्यौँ । आफन्तहरूले पनि धेरै प्रयास गर्नुभयो । तर केही लागेन,’ ईश्वर भन्छन्, ‘कम्तीमा अन्तिम पटक उहाँहरूको अनुहार हेर्न पाइएला, भेटिएला भन्ने आशा थियो । त्यो पनि सम्भव भएन ।’

आफ्नो ठाँउमा ओत लाग्ने ठाँउसम्म नभए पछि उनीहरू काठमाडौं आए । गुप्तेश्वर मन्दिरमा बाबुआमा सहित परिवारका अन्य बेपत्ता सदस्यहरूको कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरियो ।

‘आफ्नै आमाबुवाको शव अगाडि राखेर अन्तिम संस्कार गर्नुपर्ने ठाउँमा कुशको शव बनाएर गर्नुपर्‍यो । त्यो पीडा कस्तो हुन्छ, भोग्नेलाई मात्र थाहा हुन्छ,’ उनी भन्छन् ।

तर काजक्रिया सकिएपछि पनि ईश्वरको मनले खोजी गर्न छाडेको छैन । शव नदेखेको, अन्तिम पटक अनुहारसमेत हेर्न नपाएको पीडा अझै उस्तै छ ।

‘हामीले मात्रै यस्तो भोगेका होइनौं । गाउँका धेरै परिवारको अवस्था यस्तै छ,’ उनी भन्छन्, ‘कसैले बाबु गुमाएका छन्, कसैले आमा । कसैको श्रीमती छैनन्, कसैका छोराछोरी छैनन् । धेरैले आफ्ना मान्छेको शवसमेत देख्न पाएनन् ।’

मृत्यु भएको स्वीकार गर्नुपर्ने, तर मृत्युको अन्तिम प्रमाणका रूपमा आफ्नै मान्छेको अनुहारसम्म हेर्न नपाउने । उनका लागि सबैभन्दा ठूलो पीडा यही बन्यो ।

‘शव भेटिएको भए कम्तीमा अन्तिम पटक हेर्न पाइन्थ्यो । चित्त बुझाउन सकिन्थ्यो । तर यहाँ त उहाँहरू कहाँ हुनुहुन्छ भन्ने पनि थाहा भएन,’ उनी भन्छन्, ‘काजक्रिया गर्‍यौँ, तर मनले खोज्न छाडेको छैन ।’

घरसँगै नागरिकता, प्रमाणपत्र र पहिचान पनि बग्यो

इश्वरका दाजुभाई काजक्रियाको काम सकिए पछि मृत्युदर्ताको लागि सोलुबजार पुगे, तर त्यो काम पूरा हुन नसकेको उनी सुनाउँछन् ।

बाढीले घरसँगै परिवारका महत्त्वपूर्ण कागजात पनि बगाएको थियो । नागरिकता, कागजातका प्रतिलिपि र मृत्यु दर्ताका लागि आवश्यक प्रमाणहरू नै नभएपछि प्रक्रिया सहज भएन ।

‘बाबुआमाको मृत्यु दर्ता गर्न जाँदा पनि अर्को दुःख सुरू भयो । उहाँहरूको नागरिकता छैन, कागजात छैन । घर नै बगेपछि कागजपत्र कहाँबाट ल्याउने ?’ ईश्वर सुनाउँछन्, ‘हामीलाई एउटा दुःख त मान्छे गुमाएको छ, अर्को दुःख कागज मिलाउनुपर्ने भएको छ ।’

त्यतिमात्र होइन, बाटोघाटो अवरूद्ध भएकोले आउजाउ गर्न समेत गाह्रो छ । उनका अनुसार अहिले बाढी प्रभावित परिवारका धेरैजसोको अवस्था यस्तै छ ।

घरसँगै नागरिकता, जन्मदर्ता, जग्गाजमिनका कागज, बैंक तथा अन्य आवश्यक कागजात पनि बगेका छन् । मृत्यु भएको पुष्टि गर्न शवसमेत नभएका परिवारका लागि प्रक्रिया झन् जटिल बनेको छ ।

ईश्वर बस्नेतको परिवार ।

बाढीले घरबार र आफन्त गुमाएका गाउँका धेरै परिवार अब कागजी प्रक्रियामै अल्झिने जोखिममा छन् । कतिपय परिवारसँग आफूले के गुमायो भन्ने प्रमाणित गर्ने कागजसमेत छैन ।

‘हामी जो बाँचेका छौं, अहिले नै कागज मिलाउन सकेनौं भने भोलि–पर्सि अरू काम रोकिएर बस्नुपर्ने हुन्छ । छ महिना, एक वर्षसम्म पनि हराउन सक्छ भन्ने अवस्था छ,’ उनी भन्छन्, ‘मान्छे गुमाइसकेपछि कागजकै लागि फेरि–फेरि धाउनुपर्ने अवस्था नहोस् भन्ने हो ।

उनका लागि अहिले राज्यले गर्नुपर्ने काम राहत बाँड्नेमै सीमित छैन । हराएका कागजातको पुनःप्राप्ति, मृत्यु दर्ता र अन्य कानुनी प्रक्रियालाई प्रभावित परिवारका लागि सहज र छिटो बनाइदिनुपर्ने उनको माग छ ।

‘हामीले मान्छे गुमायौँ, घर गुमायौँ । अब कागजको प्रक्रियामा पनि हराउन नपरोस्,’ ईश्वर भन्छन्, ‘सरकारले प्रभावितलाई सजिलो बनाइदिनुपर्‍यो । हामीले फेरि शून्यबाट जीवन सुरू गर्नुपर्ने छ ।’

उनी सरकारसँग एउटा आग्रह गर्छन्, यस्ता विपत्तिमा परेका परिवारका लागि सम्भव भएसम्म प्रक्रिया सहज बनाइदिए ।

‘बाबुआमा जानुभयो । अब हामी बाँचेका छोराहरूले अघि बढ्नुपर्छ । तर एउटा कागज नहुँदा अर्को काम रोकिन्छ,’ उनी भन्छन्, ‘यस्तो विपत्तिमा परेका मानिसलाई कागजकै प्रक्रियाले फेरि दुःख दिने अवस्था नहोस् ।’
उनका लागि यो राहतभन्दा कम महत्वपूर्ण विषय होइन । ‘बाँच्नेहरूका लागि पनि त एउटा आधार चाहियो नि,’ उनी भन्छन् ।

‘जति कोट्टायो, त्यति दुख्छ, फर्केर जाने ठाउँ पनि हरायो’.

ईश्वर दुई वर्षअघि नेपाल आएका थिए । विवाहपछि पोर्चुगल फर्किएका थिए ।

विदेशमा बस्ने उनका लागि नेपाल आउनुको अर्थ थियो, घर फर्किनु । अब उनी नेपाल फर्किंदा तीमध्ये केही पनि रहेन ।

‘बाहिर बस्दा घरबाट फोन आउँदा मम्मीबाबाले खानुभयो कि भनेर सोचिन्थ्यो,’ उनी भन्छन्, ‘नेपाल आउँदा घर जान पाइन्छ भन्ने एउटा उत्सुकता हुन्थ्यो । अब घर सम्झेर आउँदा पनि मन भारी बनाएर आउनुपर्ने भयो ।’

बाबुआमासँग भएका अन्तिम कुराकानी पनि छन् । अगस्ट २२ मा उनको जन्मदिन थियो । त्यस दिन बाबुआमासँग कुरा भएको थियो ।

आमासँग उनको दुई दिनअघि कुरा भएको थियो । बाबुसँग एक दिनअघि । ‘विदेशमा बसेको छोराले घरको खबर सोध्ने । बाबुआमाले छोराको अवस्था सोध्ने । छोराको बच्चा जन्मिएको खबरमा अहिले सबैभन्दा परिवारै खुसीको कुरा थियो,’ उनी भन्छन्, ‘सानो बच्चा भएकाले कहिले अस्पताल जानुपर्ने, कहिले के हुने । भ्वाइस म्यासेजबाट बढी कुरा हुन्थ्यो ।’

तर अहिले ती सामान्य कुराकानी नै ईश्वरका लागि सबैभन्दा बहुमूल्य सम्झना बनेका छन् । जुन घरले छोराहरू फर्कने बाटो कुरिरहेको थियो, त्यही घर अब छैन ।

‘हामीले सबैले मिलेर बस्ने बास बनाएका थियौँ,’ ईश्वर भन्छन्, ‘आज बेलुका घर जान पाइन्छ भन्ने थियो । अब त्यो छैन ।’

उनी केहीबेर रोकिए ।

‘जति कोटायो, त्यति दुख्छ,’ उनले भने ।

उनको आवाजमा पीडा छ । तर त्यो पीडा बाबुआमा गुमाउनुको मात्र छैन । घर गुमाउनु, बाल्यकाल गुमाउनु र आफ्नो ठाउँसँग जोडिएको पहिचान गुमाउनुको पनि हो ।

‘हिजो गएर हेर्दा हाम्रो घर यहाँ थियो भन्न सक्ने ठाउँ पनि रहेन,’ उनी भन्छन्, ‘रोड छैन, बाटो छैन । घर छैन । केही छैन ।’

उनलाई सबैभन्दा गाह्रो लाग्ने कुरा यही हो, ‘बाहिरबाट नेपाल आउँदा अब ‘घर’ जाने छैन ।

‘हामी भोलि फेरि नेपाल आउँछौँ होला । तर आउने ठाउँ कहाँ हो ?,’ उनी भन्छन्, ‘जहाँ म ३५–४० वर्षको मेहनत देख्थेँ, त्यो ठाउँ नै छैन ।’

एउटा गाउँको नामोनिसान नै रहेन

ईश्वरको व्यक्तिगत पीडा सोलेबजारको सामूहिक विनाशबाट अलग छैन । सोलेबजारमा बाढी आउँदा धेरै परिवारले आफ्ना सदस्य गुमाए ।

स्थानीयका अनुसार करिब ६८ जना बाढीले बगाएको र एक जनाको मात्र शव भेटिएको थियो ।

अर्थात्, धेरै परिवारका लागि मृत्युको खबर पनि पूर्ण छैन । कसैको शव भेटिएको छैन । कसैलाई अन्तिमपटक देख्न पाइएको छैन ।

कसैले आफ्ना मान्छेको संस्कार शवबिनै गर्नुपरेको छ । बस्तीको अवस्था झन् भयावह छ । सोलेबजारमा पनि त्यस्तै थियो ।

सबै एकअर्कालाई चिन्थे । सँगै हुर्किएका थिए । ईश्वरका साथीको पनि अवस्था झण्डै उस्तै छ । उनका एक साथीका छोरा त्यस दिन बिहान स्कुल गएका थिए । करिब ९ बजे घरबाट निस्किएका ती बालक साँझ फर्किए ।

तर फर्किंदा घरमा बाबु थिएनन्, आमा र हजुरआमा थिएनन् । एउटा बच्चा बाँचेको थियो । यस्ता कथा सोलेबजारमा धेरै छन् ।

सोलेबजारमा बाढीको पानी घटेको छ । तर ईश्वरका लागि बाढी सकिएको छैन ।

हेलिकोप्टर उडेको आवाज आउँदा उनलाई अझै केही खोजिरहेको जस्तो लाग्छ ।

खोलाको आवाज सुन्दा पनि मन झस्किन्छ ।

‘अहिले पनि खोला हेर्दा डर लाग्छ । पानीसँग ढुंगा गुडिरहेको आवाज आउँछ,’ उनी भन्छन्, ‘त्यो आवाजले फेरि त्यही घटना सम्झाइदिन्छ । बाबुआमाले केही भन्न पाएनन्, होला । अब हाम्रो लागि त बाचुन्जेलको लागि नमिठो कहिल्यै नमेटिने घाउ भए ।’

उनले अस्पतालमा भेटेका अर्का पीडितको कुरा पनि सम्झिए । ती व्यक्तिले बाढीबाट बाँचेपछि सामान्य आवाजले समेत आफूलाई फेरि त्यही क्षणमा पुर्‍याउने सुनाएका थिए ।

ईश्वरलाई लाग्छ, सोलेबजारमा बाँचेका धेरै मानिसको अवस्था त्यस्तै छ ।

‘मेरो परिवार मात्रै होइन,’ उनी भन्छन्, ‘मेरो साथीसँगै पढेको साथीको परिवार छैन । कसैको बच्चा मात्रै बाँचेको छ । कसैको परिवारमा एक जना मात्रै बाँचेका छन् ।’

बाँच्नेहरूको लागि बास

ईश्वरका लागि अहिले सबैभन्दा ठूलो आवश्यकता घर हो । तर आफ्नो घर होइन ।

बाँचेका मानिसहरूका लागि तत्काल बस्ने सुरक्षित ठाउँको खाँचो छ ।

‘अहिले सबैभन्दा पहिला बास चाहिएको छ,’ उनी भन्छन्, ‘कतिपय मानिस पाल टाँगेर बसिरहेका छन् । कसैलाई आफन्तले कोठामा राखेका छन् । तर त्यो कतिन्जेल ?’

राहत आइरहेको छ । खान–बस्न तत्कालका लागि केही सहयोग पनि भइरहेको छ । तर भोलिको जीवनका लागि सुरक्षित ठाउँ चाहिन्छ ।

‘खाना त राहतबाट चल्ला । सापटी गरेर पनि चल्ला । तर बस्ने ठाउँ नै भएन भने के गर्ने ? फेरि पानी आयो भने कहाँ जाने ?’

यही डर क्रासमा सोलेबजारका बाँचेका मानिसमा छ । बाढी फेरि आउँदैन भनेर कसले ढुक्कसँग भन्न सक्छ ?

ईश्वरसँग त्यसको उत्तर छैन । सरकारसँग पनि तत्काल सबै उत्तर नहुन सक्छ ।

तर उनी एउटा कुरा चाहन्छन् । अब बाँचेका मानिसलाई फेरि अर्को संकटमा नधकेलियोस् ।

‘हामीसँग अब विकल्प छैन, सरकारतिर हेर्नुपरेको छ’

ईश्वरको पोर्चुगलमा परिवार छ । डेढ महिनाको बच्चा छ । त्यहाँको जिम्मेवारी छ । यहाँ बाबुआमाको मृत्युको पीडा छ । घर छैन । फर्केर बस्ने ठाउँ छैन । फेरि पोर्चुगल फर्किनुपर्नेछ ।

‘उता मेरो परिवार छ । सानो बच्चा छोडेर यहाँ आउनुपर्‍यो,’ उनी भन्छन्, ‘उताको समस्या त्यतै छ । यताको समस्या यतै छ ।’

सरकारसँग धेरै ठूलो माग गरेका छैनन् । ‘सरकारले गर्नुपर्ने काम सबै पीडितका लागि गरोस्,’ उनी भन्छन्, ‘कसैलाई नछुटाओस् । राहत होस्, बस्ने व्यवस्था होस्, मृत्यु दर्ता, नागरिकताको प्रतिलिपि, जन्मदर्ता वा अन्य प्रशासनिक काममा विपद् प्रभावित परिवारलाई विशेष व्यवस्था हुनुपर्छ ।’

गएको मानिस फर्किँदैन भन्ने उनलाई थाहा छ । बगेको घर पनि तत्काल फर्किँदैन । तर बाँचेका मानिसका लागि जीवन फेरि सुरू गर्न सकिने आधार बनाउन सकिन्छ ।

‘जति कोट्यायो त्यति दुख्छ,’ उनी फेरि भन्छन्, ‘अब गएकाहरू त गइहाल्नुभयो । बाँचेकाहरूका लागि त एउटा विकल्प चाहियो नि । हामीजस्तै अरूले कम्तीमा अब बस्ने ठाउँ पाऊन् । यस्तो विपत्ति फेरि आए पनि मानिससँग भागेर बाँच्ने ठाउँ होस् ।’

अन्त्यमा ईश्वरले भने, ‘अब बाँचेकाहरूलाई चाहिँ सरकारले सम्हालिदिनुपर्यो ।’

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?