News Summary
Generated by OK AI. Editorially reviewed.- रेसुङ्गा नगरपालिकाले तम्घासका जिपपार्क, पुरानो बजार र खानीगाउँमा करिब ३० लाख रुपैयाँ खर्चेर फल्चा निर्माण गरेको छ।
- व्यस्त बजारमा आउने यात्रु र सर्वसाधारणलाई बस्न तथा थकान मेट्न फल्चा उपयोगी सार्वजनिक संरचना बनेको स्थानीयले बताएका छन्।
- परम्परागत वास्तुकला र आधुनिक निर्माण प्रविधि संयोजनका फल्चाले तम्घास बजारको सौन्दर्य र आकर्षण बढाएको छ।
१० असोज, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजार आउनुभएको छ ? यहाँ आइपुग्दा अन्य शहरहरू भन्दा केही भिन्न अनुभूति गर्न सक्नुहुन्छ ।
यहाँ बनाइएका कलात्मक फल्चाले बजारको सौन्दर्य त थपेकै छ, पुराना दिनहरू पनि याद दिलाउँछन् । अहिले यो तम्घास बजारमा यात्रु तथा सर्वसाधारणका लागि विश्राम गर्ने सहज माध्यम बनेको छ ।
परम्परागत वास्तुकलाको झल्को दिने शैली र आधुनिक निर्माण प्रविधिको संयोजनमा निर्माण गरिएका यी फल्चा अहिले तम्घास बजारको नयाँ आकर्षणका रूपमा देखिन थालेका छन् ।
तम्घास गुल्मी जिल्लाको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र हो । जिल्लाका विभिन्न गाउँ तथा स्थानीय तहबाट दैनिक ठूलो संख्यामा मानिसहरू किनमेल, सरकारी कामकाज, स्वास्थ्य उपचार तथा अन्य आवश्यकताका लागि तम्घास आउने गर्छन् ।

व्यस्त बजारमा आउने सर्वसाधारणलाई केहीबेर बस्न र थकान मेटाउन सहज होस् भन्ने उद्देश्यले बजारका विभिन्न स्थानमा फल्चा निर्माण गरिएको हो ।
काठमा कुँदिएका बुट्टा, आकर्षक आकृति र परम्परागत शैली झल्काउने संरचनाले फल्चालाई सामान्य विश्रामस्थलभन्दा फरक बनाएका छन् ।
फल्चाको संरचनाले बजारमा आउने मानिसको ध्यान तान्नुका साथै तम्घासको सार्वजनिक स्थानलाई थप व्यवस्थित र आकर्षक बनाएको तम्घास पुतलीबजारका स्थानीय दिपक आचार्यले बताए ।
रेसुङ्गा नगरपालिकाले तम्घास बजारका पुतलीबजार स्थित जिपपार्क, पुरानो बजार र खानीगाउँलगायतका स्थानमा फल्चा निर्माण गरेको छ ।
बजारका महत्वपूर्ण तथा मानिसको आवतजावत बढी हुने क्षेत्रमा निर्माण गरिएका फल्चा अहिले स्थानीय र बाहिरबाट आउने यात्रुका लागि केहीबेर बस्ने साझा थलोसमेत बनेका छन् । लामो दूरीबाट तम्घास आउने यात्रु हुन् वा बजारमा किनमेलका लागि आएका सर्वसाधारण, थकाइ लागेका बेला केही समय फल्चामा बसेर आराम गर्न सक्ने अवस्था बनेको छ ।

रेसुङ्गा नगरपालिकाका अनुसार प्रत्येक फल्चा निर्माणमा करिब १० लाख रुपैयाँ खर्च भएको छ । तम्घास बजारका तीन स्थानमा निर्माण गरिएका फल्चामा कुल ३० लाख रुपैयाँ खर्च भएको नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले जानकारी दिए । नगरपालिकाले सार्वजनिक लगानीमा निर्माण गरेका फल्चा स्थानीय आवश्यकता र बजारको सौन्दर्यलाई ध्यानमा राखेर तयार गरिएको हो ।
ग्रामीण क्षेत्रबाट सार्वजनिक यातायात चढेर आउने यात्रुले बजारमा ओर्लिएपछि केही समय बस्नुपर्ने अवस्था आउँछ । त्यस्तै, वृद्धवृद्धा, बालबालिका तथा लामो समय हिँडडुल गर्नुपर्ने सर्वसाधारणका लागि पनि विश्राम गर्ने सार्वजनिक ठाउँको आवश्यकता हुन्छ ।
यस्तो अवस्थामा फल्चा उपयोगी सार्वजनिक संरचना बनेको रेसुङ्गा नगरपालिका ११ का प्रेमबहादुर थापाले बताए । स्थानीय बजारमा सार्वजनिक बसाइका लागि पर्याप्त संरचना नहुँदा सडकछेउ, पसलअगाडि वा अन्य असहज ठाउँमा बस्नुपर्ने अवस्था रहने गरेकोमा फल्चा निर्माणपछि केही हदसम्म सहज भएको उनले बताए ।








प्रतिक्रिया 4