सामाजिक सञ्जालमा सेलिब्रिटी महिलाहरुको शरीर र सुन्दरतामाथि टिप्पणी भइरहेका हुन्छन् । बच्चा जन्माएको केही समयमै उनीहरू पहिलेको जस्तै देखिनुपर्ने अपेक्षा पनि गरिन्छ । तर प्रसवपछि शरीरलाई कति समय लाग्छ भन्ने प्रश्नको एउटै जवाफ हुँदैन । गर्भावस्थामा शरीरमा भएका परिवर्तन एकैपटक हट्दैनन्, त्यसैले प्रसवपछिको रिकभरीका लागि समय, आराम र उचित हेरचाह आवश्यक हुन्छ ।
गर्भावस्थाका क्रममा महिलाको शरीरमा निकै ठूलो परिवर्तन हुन्छ । तौल बढ्ने, शरीरमा बोसोको मात्रा परिवर्तन हुने, पेटका मांसपेशी तन्किने, पाठेघरको आकार बढ्ने, स्तनमा परिवर्तन आउनेदेखि हार्मोन, निद्रा, ऊर्जा र शारीरिक गतिविधिसम्म प्रभावित हुन्छन् ।
बच्चा जन्मिएपछि यी सबै परिवर्तन केही हप्तामै पुरानै अवस्थामा फर्किने होइनन् । शरीरले गर्भावस्थाका क्रममा गरेको परिवर्तनलाई बिस्तारै उल्टाउँदै सामान्य अवस्थामा फर्किने प्रक्रिया सुरु गर्छ । यही कारण प्रसवपछि शरीरलाई ‘रिकभर’ हुन समय लाग्छ ।
डेलिभरीपछि शरीर तुरुन्तै पहिलेजस्तो किन हुँदैन ?
गर्भावस्थामा पाठेघर बच्चा हुर्काउनका लागि निकै ठूलो हुन्छ । बच्चा जन्मिएपछि पाठेघर विस्तारै खुम्चिँदै पहिलेको आकारतर्फ फर्किन्छ । यो प्रक्रियामा केही हप्ता लाग्न सक्छ ।
त्यसैगरी, गर्भावस्थामा पेटका मांसपेशी र तन्तुहरू तन्किएका हुन्छन् । कतिपय महिलामा पेटको बीचका मांसपेशीबीच दूरी बढ्ने समस्या अर्थात् ‘डायस्टासिस रेक्टाइ’ पनि हुन सक्छ । त्यसैले बच्चा जन्मिएपछि पेट केही समयसम्म बाहिर निस्किएको वा नरम देखिन सक्छ ।
स्तनमा पनि परिवर्तन हुन्छ । बच्चाका लागि दूध उत्पादन सुरु भएपछि स्तन भारी, सुन्निएको वा दुखेको महसुस हुन सक्छ । पछि स्तनपानको अवस्था र शरीरमा हुने हार्मोनल परिवर्तनअनुसार यसको आकार र बनावटमा पनि परिवर्तन आउन सक्छ ।
गर्भावस्थामा बढेको तौल पनि तुरुन्तै घट्दैन । बच्चाको तौल घटेपछि पनि शरीरमा जम्मा भएको अतिरिक्त बोसो, तरल पदार्थ र अन्य परिवर्तनहरू बिस्तारै कम हुँदै जान्छन् । स्तनपान, निद्रा, खानपान, शारीरिक गतिविधि, उमेर, वंशाणुगत कारण तथा गर्भावस्थाअघिको शरीरको अवस्था लगायत धेरै कुराले यसमा प्रभाव पार्छन् । त्यसैले ‘डेलिभरी भएको यति दिन वा हप्ताभित्र तौल पहिले जस्तै हुनुपर्छ’ भन्ने कुनै एउटै मेडिकल समयसीमा छैन ।
प्रसवपछि शरीरमा के–के परिवर्तन हुन्छ ?
प्रसवपछि सुरु हुने समयलाई पोस्टपार्टम पिरियड भनिन्छ । परम्परागत रूपमा यसलाई करिब ६ हप्ताको अवधिसँग जोडिए पनि आमाको शारीरिक र मानसिक रिकभरी त्यसपछि पनि जारी रहन सक्छ । यस अवधिमा विभिन्न परिवर्तन देखिन सक्छन् ।
पाठेघर खुम्चिनु : बच्चा जन्मिएपछि पाठेघर विस्तारै आफ्नो पुरानो आकारतर्फ फर्किन्छ । यस क्रममा पेटमा हल्का दुखाइ वा ऐंठन हुन सक्छ ।
लोशिया : प्रसवपछि केही समय योनिमार्गबाट रगत तथा अन्य पदार्थ मिसिएको स्राव आउँछ, जसलाई लोशिया भनिन्छ । सुरुमा बढी रगतजस्तो देखिए पनि समयसँगै यसको मात्रा र रंग परिवर्तन हुँदै कम हुँदै जान्छ ।
स्तनमा परिवर्तन : दूध बन्न थालेपछि स्तनमा भारीपन, कसिलोपन वा संवेदनशीलता हुन सक्छ । बच्चालाई सही तरिकाले स्तनपान गराउँदा धेरै अवस्थामा यो असहजता कम हुन्छ ।
पेटको मांसपेशीमा परिवर्तन : गर्भावस्थामा पेट निकै तन्किने भएकाले बच्चा जन्मिएपछि पेट केही समयसम्म झोलिएको वा बाहिर निस्किएको देखिन सक्छ ।
पेल्भिक फ्लोरमा कमजोरी : गर्भावस्था र प्रसवका कारण पेल्भिक फ्लोरका मांसपेशी कमजोर हुन सक्छन् । यसले हाँस्दा, खोक्दा वा हाच्छ्युँ गर्दा पिसाब चुहिने समस्या निम्त्याउन सक्छ । आवश्यक परे चिकित्सक वा फिजियोथेरापिस्टको सल्लाहमा पेल्भिक फ्लोर एक्सरसाइज गर्न सकिन्छ ।
छालामा परिवर्तन : पेट, स्तन, तिघ्रा वा शरीरका अन्य भागमा स्ट्रेच मार्क देखिन सक्छन् । कतिपय महिलामा गर्भावस्थामा बढेको मेलास्मा वा छालाको रङसम्बन्धी परिवर्तन पनि केही समय रहन सक्छ ।
कपाल झर्नु : हार्मोनमा आएको परिवर्तनका कारण प्रसवपछि केही महिनामा कपाल बढी झर्न सक्छ । धेरै अवस्थामा यो अस्थायी हुन्छ र समयसँगै सुधार हुन्छ ।
शरीरको आकारमा परिवर्तन : तौल, पेट, स्तन वा हिपको आकार पहिलेभन्दा फरक देखिन सक्छ । यीमध्ये केही परिवर्तन पूर्ण रूपमा पहिलेको अवस्थामा नफर्किन पनि सक्छन् ।
‘पहिले जस्तै शरीर’ फर्किन कति समय लाग्छ ?
डेलिभरी पछि शरीरलाई पहिलेको जस्तो अवस्थामा फर्कन कति समय लाग्छ भनेर यसको निश्चित समय हुँदैन । कसैलाई केही हप्तामै शरीर हलुका र सामान्य महसुस हुन सक्छ भने कसैलाई धेरै महिना लाग्न सक्छ । विशेषगरी पेटका मांसपेशी, पेल्भिक फ्लोर, तौल र शारीरिक शक्तिको रिकभरीमा लामो समय लाग्न सक्छ ।
सी–सेक्शन भएको अवस्थामा शल्यक्रियाको घाउ निको हुन पनि समय चाहिन्छ । त्यसैले सामान्य प्रसव र सी–सेक्शनपछि रिकभरीको अनुभव एउटै हुँदैन ।
यस्तै, जुम्ल्याहा वा एकभन्दा बढी बच्चा भएको गर्भावस्था, गर्भावस्थाका क्रममा आएको जटिलता, प्रसवका क्रममा भएको समस्या तथा आमाको समग्र स्वास्थ्यले पनि रिकभरीलाई प्रभावित गर्न सक्छ । त्यसैले प्रसवपछिको शरीरलाई अरू महिलासँग तुलना गर्नु उपयुक्त हुँदैन ।
डेलिभरीपछि तौल घटाउन हतार गर्नु हुँदैन
बच्चा जन्मिएलगत्तै तौल घटाउने कडा डाइट वा अत्यधिक व्यायाम सुरु गर्नु उचित हुँदैन । विशेषगरी स्तनपान गराइरहेकी आमाका लागि पर्याप्त पोषण, पानी र आराम आवश्यक हुन्छ ।
प्रसवपछि चिकित्सकले अनुमति दिएपछि बिस्तारै हिँडडुल तथा शरीरले धान्न सक्ने हल्का गतिविधिबाट सुरु गर्न सकिन्छ । पछि स्वास्थ्य अवस्था र प्रसवको प्रकारअनुसार व्यायामको मात्रा बढाउन सकिन्छ । तौल घटाउने लक्ष्यभन्दा पहिले शरीरलाई निको हुन दिनु महत्वपूर्ण हुन्छ ।
‘सेलिब्रिटीले यति महिनामा शरीर पहिलेजस्तो बनाए’ भनेर आफूलाई तुलना गर्दा अनावश्यक दबाब बढ्न सक्छ । सामाजिक सञ्जालमा देखिने तस्बिरले व्यक्तिको वास्तविक स्वास्थ्य, निद्रा, खानपान, व्यायाम, सहयोगी जनशक्ति वा फोटो खिचिएको समयबारे सबै कुरा बताउँदैन ।
प्रसवपछि देखिन सक्ने गम्भीर समस्या
प्रसवपछि हुने अधिकांश परिवर्तन सामान्य रिकभरीको हिस्सा भए पनि केही लक्षणलाई सामान्य मानेर बस्नु हुँदैन ।
अत्यधिक रक्तस्राव : सामान्यभन्दा धेरै रगत बग्नु, ठूलो आकारका रगतका डल्ला आउनु वा लगातार रक्तस्राव बढ्दै जानु पोस्टपार्टम हेमरेजको संकेत हुन सक्छ ।
पोस्टपार्टम प्री–एक्लेम्पसिया : गर्भावस्थामा रक्तचाप सामान्य भए पनि बच्चा जन्मिएपछि उच्च रक्तचापसम्बन्धी समस्या देखिन सक्छ । तीव्र टाउको दुख्ने, आँखाले धमिलो देख्ने, अनुहार वा हातखुट्टा असामान्य रूपमा सुन्निने, छाती दुख्ने वा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
रगतको थक्का : प्रसवपछि केही समय रगत जम्ने जोखिम बढ्न सक्छ । एउटा खुट्टा असामान्य रूपमा सुन्निनु, दुख्नु वा रातो हुनु गम्भीर संकेत हुन सक्छ । अचानक छाती दुख्ने वा सास फेर्न गाह्रो भए फोक्सोमा रगतको थक्का पुगेको हुनसक्ने भएकाले तत्काल आकस्मिक उपचार आवश्यक हुन्छ ।
संक्रमण : ज्वरो, दुर्गन्धयुक्त योनीस्राव, बढ्दो पेट दुखाइ, सी–सेक्शन वा अन्य घाउमा रातोपन, सुन्निनु वा पीप आउनु संक्रमणका संकेत हुन सक्छन्।
मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महत्व दिनुपर्छ
प्रसवपछि महिलाको शरीरमा मात्र होइन, मनमा पनि ठूलो परिवर्तन आउँछ । बच्चाको हेरचाहको जिम्मेवारी, निद्राको कमी, हार्मोनल परिवर्तन, स्तनपानसम्बन्धी कठिनाइ, शरीरमा आएको परिवर्तन र परिवार वा सामाजिक दबाबका कारण आमालाई भावनात्मक रूपमा कठिन समय हुन सक्छ ।
डेलिभरीपछि केही दिन ‘बेबी ब्लुज’ जस्तो भावनात्मक उतारचढाव देखिन सक्छ । तर निरन्तर उदासी, अत्यधिक चिन्ता, बच्चा वा आफूलाई सम्हाल्न नसक्ने महसुस, दैनिक काममा रुचि नलाग्ने, निराशा वा आत्महानीसम्बन्धी विचार आएमा यसलाई सामान्य प्रसवपछिको थकान भनेर बेवास्ता गर्नु हुँदैन । स्वास्थ्यकर्मीसँग कुरा गर्नुपर्छ ।
अत्यन्त असामान्य व्यवहार, भ्रम, वास्तविकता छुट्याउन नसक्ने अवस्था वा आफू÷बच्चालाई हानि पुर्याउने जोखिम देखिएमा तत्काल आपत्कालीन मानसिक स्वास्थ्य सहायता आवश्यक हुन्छ ।
‘फोर्थ ट्राइमेस्टर’ किन महत्वपूर्ण छ ?
गर्भावस्थालाई तीन ट्राइमेस्टरमा विभाजन गरिन्छ । बच्चा जन्मिएपछिको पहिलो करिब तीन महिना पनि आमा र बच्चाका लागि अत्यन्त महत्वपूर्ण संक्रमणकाल भएकाले यसलाई अनौपचारिक रूपमा ‘फोर्थ ट्राइमेस्टर’ भनिन्छ ।
यस समयमा बच्चाले बाहिरी संसारसँग अनुकूलन गरिरहेको हुन्छ भने आमाको शरीर गर्भावस्था र प्रसवबाट रिकभर भइरहेको हुन्छ । त्यसैले यस समयमा आमालाई केवल ‘बच्चा जन्माउने व्यक्ति’का रूपमा होइन, आफैंलाई पनि हेरचाह आवश्यक पर्ने व्यक्तिका रूपमा हेर्नुपर्छ ।
पर्याप्त आराम, पौष्टिक खाना, पानी, स्तनपानमा सहयोग, घरको काममा परिवारको साथ र आवश्यक स्वास्थ्य परीक्षणले आमाको रिकभरीमा महत्वपूर्ण भूमिका खेल्छ ।
आमालाई ‘पहिले जस्तै’ भन्दा स्वस्थ बनाउने कुरा महत्वपूर्ण
बच्चा जन्मिएपछि महिलाको शरीर बदलिनु असामान्य होइन । पेटमा स्ट्रेच मार्क हुनु, केही समय पेट बाहिर देखिनु, तौल पहिलेभन्दा बढी हुनु, स्तनको आकार परिवर्तन हुनु वा शरीरमा केही स्थायी परिवर्तन आउनु प्रसवपछिको यात्राकै हिस्सा हुन सक्छ ।
त्यसैले प्रसवपछि महिलाको शरीरलाई ‘पहिले जस्तै भयो कि भएन’ भनेर मूल्यांकन गर्नुको सट्टा उनी स्वस्थ छिन् कि छैनन्, पर्याप्त आराम पाइरहेकी छन् कि छैनन्, पोषण पुगेको छ कि छैन र मानसिक रूपमा कस्तो महसुस गरिरहेकी छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
आमा र बच्चाको जीवनमा बच्चा जन्मिएपछि नयाँ अध्याय सुरु हुन्छ । यो समयमा आमालाई शरीर परिवर्तन भएकोमा आलोचना होइन, आराम, सहयोग र समझदारी चाहिन्छ ।
प्रतिक्रिया 4