१६ असोज, काठमाडौं । ‘आरोग्य वर्ष २०२७’ लक्षित गर्दै तारे होटलहरूले नेपाली मौलिक परिकारका रूपमा रहेको गुन्द्रुकलाई आफ्नो मेनुमा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
होटल एसोसिएसन नेपाल (हान) ले बिहीबार काठमाडौंमा ‘गुन्द्रुक राष्ट्रिय कार्यशाला’ आयोजना गरेको छ । हानको आयोजनामा सम्पन्न कार्यशालामा नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानको सहकार्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्राविधिक सहयोग थियो ।
कार्यक्रममा हान अध्यक्ष विनायक शाहले गुन्द्रुक नेपाली मौलिक तथा रैथाने खाद्य परिकारका रूपमा रहेको बताए । उनले यसको प्रवर्द्धन, व्यावसायिक उपयोग तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष शाहले गुन्द्रकको पहिचान, बजारीकरण, खाद्य सुरक्षा, भण्डारण, अन्तर्राष्ट्रिय बजारीकरण र गुन्द्रकलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्नेमा जोड दिए ।
कार्यशालामा खाद्य प्रविधि विभागका वरिष्ठ अनुसन्धान अधिकृत भीम पुलामीले गुन्द्रुक उत्पादन, गुणस्तर, पोषण तथा खाद्य सुरक्षा लगायत विषय समेटिएको कार्यपत्र प्रस्तुत गरे ।
प्रस्तुत कार्यपत्रमाथि लेखक तथा खाद्य विश्लेषक शारदा ज्ञवाली, वरिष्ठ सेफ गोविन्दनरसिंह केसी तथा कन्सल्टिङ सेफ श्यामबहादुर तामाङले टिप्पणी गरेका थिए ।
कार्यपत्र प्रस्तुति तथा टिप्पणीपछि भएको छलफलमा सहभागीले गुन्द्रुक उत्पादन, प्रशोधन, गुणस्तर, संरक्षण, व्यावसायिक प्रयोग तथा होटल तथा पर्यटन क्षेत्रमा यसको प्रवर्द्धनका विषयमा विभिन्न सुझाव तथा जिज्ञासा राखेका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ वरिष्ठ अनुसन्धान अधिकृत भीम पुलामी र कन्सल्टिङ सेफ श्यामबहादुर तामाङले दिएका थिए ।
कार्यक्रममा होटल क्षेत्रको प्रतिनिधित्व गर्दै रोयल टुलिप काठमाडौंका केदार पाण्डेले गुन्द्रुक सम्बन्धी राष्ट्रिय कार्यशाला महत्त्वपूर्ण रहेको उल्लेख गर्दै होटलहरूले गुन्द्रुकलाई आफ्ना परिकार तथा मेनुमा समावेश गरी यसको प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्राचार्य दिव्यराज पोखरेलले गुन्द्रुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न शैक्षिक तथा व्यावसायिक पाठ्यक्रममा समेत यस विषयलाई समेट्न सकिने धारणा व्यक्त गरे ।
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले होटलहरूको मेनुमा नेपाली रैथाने तथा मौलिक खानाका परिकार समावेश गर्नुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गुन्द्रुकलाई समेत होटल तथा पर्यटन क्षेत्रको मेनुमा समावेश गर्न प्रोत्साहित गरे ।
टिभेट काउन्सिल सदस्य तथा साना तथा घरेलु उद्योग महासंघ उपाध्यक्ष मोहन कटुवाल, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) का अध्यक्ष संघर्ष विष्ट, पाटा–नेपाल च्याप्टर अध्यक्ष नरेन्द्र भट्टले मौलिक खाना गुन्द्रुकको महत्त्वबारे चर्चा गरे ।
त्यस्तै हान महासचिव साजन शाक्यले कार्यशालामा उठेका महत्त्वपूर्ण विषय तथा सुझाव लिपिबद्ध गरी आगामी दिनमा कार्यान्वयन दिशामा अगाडि बढाइने बताए ।
उनले गुन्द्रुक उत्पादन, गुणस्तर, व्यावसायिक प्रयोग, पर्यटन तथा आतिथ्य क्षेत्रमा प्रवर्द्धन लगायत विषयमा सरोकारवालासँग निरन्तर छलफल र सहकार्य गरिने जानकारी दिए ।
प्रतिक्रिया 4