+
+
Shares

कस्तो हुनुपर्छ गुन्द्रुक ? सरकारले पहिलो पटक तोक्यो गुणस्तर र नियम

फर्मेन्टेनसन प्रक्रिया पूरा भएपछि तयार भएको ताजा वा सुकाइएको गुन्द्रुकलाई मात्र अब बजारमा बिक्री–वितरणका लागि योग्य मानिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले पहिलो पटक गुन्द्रुकको गुणस्तर र स्वच्छताका लागि विस्तृत र अनिवार्य मापदण्ड निर्धारण गरेको छ।
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३ अनुसार नयाँ नियम लागू गरेको हो।
  • नयाँ मापदण्ड अनुसार गुन्द्रुक उत्पादनमा धातुका भाँडाकुँडा प्रयोग निषेध, ओस १२ प्रतिशत र ल्याक्टिक एसिड ०.८ प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको छ।

११ वैशाख, काठमाडौं । नेपालीका भान्सामा अभिन्न हिस्साका रूपमा रहेको मौलिक परिकार गुन्द्रुकको गुणस्तर र स्वच्छतालाई लिएर सरकारले पहिलो पटक विस्तृत र अनिवार्य मापदण्ड निर्धारण गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै गुन्द्रुकको परिभाषा, उत्पादन प्रक्रिया, प्राविधिक मापदण्ड र लेबलिङका सम्बन्धमा नयाँ व्यवस्था लागु गरेको हो ।

यसअघि फल तथा सागपातजन्य पदार्थको सूचीमा सामान्य उल्लेख भए पनि अबदेखि गुन्द्रुकका लागि छुट्टै ‘संकेत नं. ०३.१९’ कायम गरी विशिष्टीकृत मापदण्ड तोकिएको छ ।

सरकारले गुन्द्रुकलाई वैज्ञानिक र कानुनी रूपमा परिभाषित गर्दै ‘ब्रासिका’ जातका सागपात जस्तै, रायो, तोरी, मुलाको पात वा डुकुलाई सफा गरी, ओइल्याएर, नुन नहाली प्राकृतिक वा ‘प्योर कल्चर’ ल्याक्टिक एसिड फर्मेन्टेनसन विधिबाट अमिल्याएर तयार पारिएको खाद्य पदार्थका रूपमा व्याख्या गरेको छ ।

फर्मेन्टेनसन प्रक्रिया पूरा भएपछि तयार भएको ताजा वा सुकाइएको गुन्द्रुकलाई मात्र अब बजारमा बिक्री–वितरणका लागि योग्य मानिने छ ।

उत्पादन प्रक्रियामा स्वच्छता कायम गर्न मन्त्रालयले केही कडा प्रतिबन्ध समेत लगाएको छ । अबदेखि व्यावसायिक रूपमा गुन्द्रुक उत्पादन गर्दा फर्मेन्टेसनका लागि फलाम, आल्मुनियम, तामा वा पित्तलजस्ता धातुबाट बनेका भाँडाकुँडा प्रयोग गर्न पाइने छैन ।

यस्ता धातुले खाद्य पदार्थसँग रासायनिक प्रतिक्रिया गर्न सक्ने जोखिम ध्यानमा राख्दै यो व्यवस्था गरिएको हो ।

गुन्द्रुक सुकाउनका लागि घाम, सोलार ड्रायर वा मेकानिकल ड्रायरजस्ता उपयुक्त विधि अपनाउनुपर्ने र उत्पादित गुन्द्रुक पूर्णरूपमा स्वच्छ, सफा तथा स्वाभाविक स्वाद र बासना भएको हुनुपर्ने छ ।

विशेषगरी गुन्द्रुकमा कुनै पनि प्रकारको कृत्रिम रङ, सुगन्ध वा वाह्य परिरक्षी राख्न पूर्णरूपमा निषेध गरिएको छ ।

प्राविधिक मापदण्डका आधारमा अब बजारमा उपलब्ध हुने सुक्खा गुन्द्रुकमा ओसको मात्रा बढीमा १२ प्रतिशत र कुल भष्म सुक्खा तौलका आधारमा बढीमा १७ प्रतिशतमात्र हुनुपर्ने छ ।

त्यस्तै गुन्द्रुकमा हुनुपर्ने अनिवार्य अम्लता ल्याक्टिक एसिडका रूपमा कम्तीमा ०.८ प्रतिशत हुनुपर्ने सीमा तोकिएको छ । उपभोक्ताको स्वास्थ्य ध्यानमा राख्दै हानिकारक जीवाणु ‘ई–कोली’ प्रतिग्राम गुन्द्रुकमा शून्य वा अनुपस्थित हुनुपर्ने अनिवार्य सर्त राखिएको छ ।

यसका साथै जैविक र अजैविक वाह्य पदार्थहरू जस्तै, रौँ, भुस, परालका टुक्रा, किरा, ढुंगा, बालुवा, काँच वा प्लास्टिकजस्ता अखाद्य वस्तुको उपस्थिति भेटिए त्यस्तो गुन्द्रुकलाई अवैध मानिने छ ।

प्याकेजिङ र लेबलिङका हकमा पनि सरकारले नयाँ नियम ल्याएको छ । गुन्द्रुक प्याक गर्दा प्रयोग गरिने सामग्री सफा, सुक्खा र अनिवार्य रूपमा ‘खाद्य ग्रेड’ को हुनुपर्ने छ ।

प्याकेटको बाहिर राखिने लेबलमा गुन्द्रुक तयार गर्न प्रयोग गरिएको सागपातको विवरण (रायो, तोरी वा मुला), गुन्द्रुकको प्रकार (ताजा, सुक्खा वा सुकेको) र खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसारका अन्य विवरण स्पष्ट खुलाउनुपर्ने छ ।

त्यस्तै उत्पादन भण्डारण र ढुवानीमा समेत मन्त्रालयले तोकेको स्वच्छता सम्बन्धी मापदण्ड पालना गर्नु उत्पादक र वितरकको दायित्व हुनेछ ।

मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रद्वारा हस्तान्तरित यो सूचना राजपत्रमा प्रकाशित भएको मिति (२०८१ वैशाख १० गते) बाट १८१औं दिनदेखि देशभरि पूर्णरूपमा लागु हुनेछ ।

यो अवधिभित्र उत्पादकहरूले आफ्ना उत्पादनलाई सरकारले तोकेको नयाँ मापदण्ड अनुसार समायोजन गरिसक्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?