News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सोया बरीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न नयाँ प्राविधिक मापदण्ड जारी गरेको छ।
- नयाँ मापदण्ड अनुसार सोया बरीमा क्रुड प्रोटिन कम्तीमा ४५ प्रतिशत र ओस अधिकतम १० प्रतिशत हुनुपर्ने छ।
- सोया बरी प्याकेजिङ खाद्य ग्रेड सामग्रीमा गर्नुपर्ने र मापदण्ड नपुर्याउनेलाई कारबाही गरिने छ।
३ फागुन, काठमाडौं । सरकारले बजारमा उपलब्ध हुने सोया बरीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न नयाँ प्राविधिक मापदण्ड निर्धारण गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भर्खरै जारी भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी सोया बरीको उत्पादन, प्याकेजिङ र बिक्री वितरणका लागि विशेष निर्देशन जारी गरेको हो ।
यो नयाँ व्यवस्था नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले १८१औं दिनदेखि पूर्णरूपमा कार्यान्वयनमा आउने मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार अबदेखि सोया बरी भन्नाले तेल निकालिएको भटमासको पिठो, ग्रिट्स वा दलियामा अन्य उपभोगयोग्य वनस्पतिजन्य प्रोटिन मिसाइ वा नमिसाइ एक्सट्रुजन प्रविधिबाट तयार गरिएको टेक्सचराइज्ड सुक्खा सोया प्रडक्ट बुझाउने छ ।
यस मापदण्डले सोया चंक, सोया बडी, सोया ग्रानुल्स र सोया नगेट्स समेत समेटेको छ । उत्पादन क्रममा आवश्यक परे अन्य खाद्य पदार्थ बढीमा तीन प्रतिशतसम्म मात्र प्रयोग गर्न पाइने प्रावधान छ ।
गुणस्तरका प्राविधिक पक्ष अनुसार सोया बरीमा क्रुड प्रोटिन मात्रा सुक्खा तौलको आधारमा कम्तीमा ४५ प्रतिशत हुनुपर्ने छ । त्यसैगरी उत्पादनमा ओस वा जलांश मात्रा अधिकतम १० प्रतिशत र कुल भष्म ८ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ ।

स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै सोया बरीमा क्रुड फाइबर मात्रा ३.५ प्रतिशत र एसिडमा नघुल्ने भष्म मात्रा ०.३ प्रतिशत सीमाभित्र रहनुपर्ने छ ।
उद्योगहरूले उत्पादन प्रक्रियामा प्रयोग गर्ने हेक्जेन वा अन्य अर्गानिक सल्भेन्ट मात्रा १० मिलिग्राम प्रतिकिलो भन्दा बढी हुन नहुने र मानव स्वास्थ्यका लागि हानिकारक मानिने एफ्लाटक्सिन मात्रा १५ माइक्रोग्राम प्रतिकिलो भन्दा कम हुनुपर्ने अनिवार्य सर्त राखिएको छ ।
स्वच्छताका सन्दर्भमा सरकारले सोया बरीमा कुनै पनि प्रकारको कृत्रिम वाह्य रङ, सुगन्ध तथा दोस्रो श्रेणीका परिरक्षी प्रयोग गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ ।
उत्पादन पूर्णतया स्वच्छ, सफा र यसको चारित्रिक स्वाद एवं बास्नायुक्त हुनुपर्ने छ । यसमा ढुसी लागेको, किरा परेको वा सडेको हुन नहुनेमात्र होइन, कपाल, भुस, परालका टुक्राजस्ता जैविक पदार्थ र ढुंगा, माटो, बालुवा, काँच वा प्लास्टिकका टुक्राजस्ता अजैविक वाह्य पदार्थको उपस्थिति समेत पूर्णरूपमा निषेध गरिएको छ ।
यस्तै किटनाशक विषादी अवशेष र हेभी मेटल्सजस्ता हानिकारक तत्त्वको मात्रा पनि सरकारले तोकेको सीमा भित्रै रहनुपर्ने छ ।
प्याकेजिङ र लेबलिङका सम्बन्धमा पनि नयाँ नियम कडा पारिएका छन् । अब सोया बरीलाई सफा र सुक्खा ‘खाद्य ग्रेड’ प्याकेजिङ सामग्रीमा सिलबन्द गरी बिक्री गर्नुपर्ने छ । प्याकेटको बाहिर राखिने लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले तोकेका सबै विवरण अनिवार्य उल्लेख हुनुपर्ने छ ।
कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रद्वारा जारी सूचनाको मुख्य उद्देश्य बजारमा पाइने सोया उत्पादन स्वस्थ र गुणस्तरीय बनाउनु रहेको छ ।
तोकिएको १ सय ८१ दिनको समयसीमापछि यो मापदण्ड पूरा नगर्ने उत्पादक वा विक्रेतालाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत सरकारले दिएको छ ।
प्रतिक्रिया 4