+
+
Shares

सरकारले तोक्यो छुर्पीको नयाँ गुणस्तर, कस्तो हुनुपर्छ ?

अब बजारमा बिक्री हुने वा निर्यात गरिने छुर्पीमा सुक्खा तौलका आधारमा कम्तीमा ६० प्रतिशत कुल दूधको प्रोटिन हुनैपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयले छुर्पीको गुणस्तर मापदण्ड निर्धारण गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ।
  • छुर्पीलाई ५ प्रतिशत वा बढी चिल्लो भएको घृतांशयुक्त र कम चिल्लो भएको कम घृतांशयुक्तमा वर्गीकरण गरिएको छ।
  • नयाँ मापदण्ड अनुसार छुर्पीमा कम्तीमा ६० प्रतिशत प्रोटिन, १४ प्रतिशतभन्दा कम ओसिलोपना र पूर्णरूपमा अखाद्य पदार्थ निषेध गरिएको छ।

२२ पुस, काठमाडौं । नेपालको हिमाली तथा पहाडी भेगको मुख्य उत्पादन तथा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ‘डग च्यु’ का रूपमा उच्च माग रहेको छुर्पीको गुणस्तरमा सरकारले कडाइ गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को अधिकार प्रयोग गर्दै छुर्पीको अनिवार्य गुणस्तर मापदण्ड निर्धारण गरी राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

मन्त्रालयका सचिव डा. दीपककुमार खरालका अनुसार अबदेखि गाई, चौँरीगाई वा भैँसीको दूधबाट बनाइने सबै प्रकारका छुर्पीमा सरकारले तोकेको अनिवार्य मापदण्ड पूरा भएको हुनुपर्ने छ ।

सरकारले छुर्पीको वर्गीकरण गर्दै यसलाई दुई भागमा बाँडेको छ । तयार भएको छुर्पीमा ५ प्रतिशत वा त्यसभन्दा बढी चिल्लो पदार्थ (फ्याट) भए त्यसलाई ‘घृतांशयुक्त छुर्पी’ र ५ प्रतिशतभन्दा कम चिल्लो भए ‘कम घृतांशयुक्त छुर्पी’ मानिने छ ।

 

विशेषगरी कम चिल्लो भएको कडा छुर्पी विदेशमा कुकुरको आहारा अर्थात् डग च्युका का रूपमा निर्यात हुने गरेको छ ।

राजपत्रमा प्रकाशित नयाँ मापदण्ड अनुसार छुर्पीको रासायनिक गुणस्तरमा विशेष ध्यान दिइएको छ । अब बजारमा बिक्री हुने वा निर्यात गरिने छुर्पीमा सुक्खा तौलका आधारमा कम्तीमा ६० प्रतिशत कुल दूधको प्रोटिन हुनैपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

छुर्पी कडा र राम्ररी सुकेको हुनुपर्ने भन्दै यसमा ओसिलोपना (जलांश) मात्रा १४ प्रतिशतभन्दा बढी हुन नहुने र कुल भष्म ७ प्रतिशतभन्दा बढी हुन नहुने प्राविधिक सीमा तोकिएको छ ।

उपभोक्ताको स्वास्थ्य र अन्तर्राष्ट्रिय बजारको साख ध्यानमा राख्दै सरकारले छुर्पीमा अखाद्य पदार्थ मिश्रण निषेध गरेको छ । छुर्पी स्वच्छ, सफा र यसको आफ्नै मौलिक बासना भएको हुनुपर्छ । यसमा ढुसी परेको, किरा लागेको, सडेको वा अखाद्य रङ प्रयोग भएको हुनु हुँदैन ।

उत्पादनदेखि प्याकेजिङसम्मको प्रक्रियामा ढुंगा, बालुवा, सिसा, धातुका टुक्राजस्ता अजैविक पदार्थ तथा कपाल, रौँ, भुस, पराल वा किरा–मुसाका अवशेषजस्ता जैविक फोहोर रत्तिभर पनि भेटिन नहुने मापदण्डमा उल्लेख छ । साथै, मानव स्वास्थ्यमा असर गर्ने ‘ई–कोली’ र ‘साल्मोनेल्ला’ जस्ता सुक्ष्म जीवाणु छुर्पीमा पूर्णरूपमा अनुपस्थित हुनुपर्ने छ।

नयाँ मापदण्डले छुर्पीको प्याकेजिङ र लेबलिङलाई पनि व्यवस्थित गर्न खोजेको छ । उत्पादकले अब छुर्पीलाई सफा र सुक्खा ‘फुड ग्रेड’ प्याकेटमा सिलबन्द गरी प्याकेजिङ गर्नुपर्ने छ ।

प्याकेटको बाहिरी भागमा टाँसिने लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा १९ ले तोके बमोजिम उत्पादन मिति, ब्याच नम्बर लगायत विवरण अनिवार्य खुलाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?