News Summary
Generated by OK AI. Editorially reviewed.- शिखर पावर डेभलपमेन्ट कम्पनीले माघ ६ गतेदेखि ९८ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ।
- कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका लागि छुट्याएको ३२ लाख कित्ता सेयरमा आवेदन दिन सक्नेछन्।
- कम्पनीले बागलुङको ४.९६ मेगावाट भीमखोलाको स्मल हाइड्रोपावर आयोजना सञ्चालनमा ल्याएको छ।
२३ पुस, काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीले माघ ६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जलविद्युत् समूहको यो कम्पनीमा ६७.३५ प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
प्रभावितका रुपमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका सम्पूर्ण वडा र ढोरपाटन नगरपालिका वडा नम्बर २ का स्थानीयले आवेदन दिन सक्नेछन् । कम्पनीले ९ लाख ८० हजार कित्ता सेयर प्रभावित स्थानीयका लागि छुट्याइएको छ । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको बुर्तिबाङ र बागलुङ बजारको शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका बुर्तिबाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
प्रभावित क्षेत्रका स्थानीयले छिटोमा माघ २० गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा आवेदन नपरेमा ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यस्तै कम्पनीले वैदेशिक रोजगारमा रहेकालाई २ लाख २२ हजार कित्ता सेयर छुट्याएको छ । वैदेशिक रोजगारमा रहेकाले छिटोमा माघ ९ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले बागलुङमा ४.९६ मेगावाटको भीमखोला स्मल हाइड्रोपावर आयोजना बनाएर सञ्चालनमा ल्याएको छ । सो आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा छ ।
आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १३ पैसा छ । प्रतिसेयर आम्दानी ३.६९ रुपैयाँ ऋणात्मक छ । इक्रा नेपालले कम्पनीलाई बीबी रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया 4