News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षणमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताउनुभयो।
- मन्त्री परियारले सरकारले कृषि जैविक विविधता नीति २०६३ र वातावरण संरक्षण ऐन २०७६ लागू गरेको उल्लेख गर्नुभयो।
- नेपालका ४० स्थानीय तहमा सामुदायिक बिउ बैंकमार्फत जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन भइरहेको छ।
१ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन् ।
चौथो ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ तथा माघे संक्रान्ति (माघी) पर्वका अवसरमा मन्त्री परियारले कृषि क्षेत्रको आधुनिकीकरण र जैविक विविधता संरक्षणलाई सँगसँगै लैजानुपर्ने बताए ।
यस वर्ष ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता’ भन्ने मूल नाराथ यो दिवस देशभरि मनाइँदैछ ।
मन्त्री परियारले नेपाल जैविक विविधता सम्बन्धी महासन्धिको पक्षराष्ट्र रहेको स्मरण गराउँदै सरकारले यसलाई आवधिक योजनामा आन्तरिकीकरण गरेको बताए ।
‘सरकारले कृषि जैविक विविधता नीति २०६३, वातावरण संरक्षण ऐन २०७६ र बिउबिजन ऐन २०८१ मार्फत स्थानीय र रैथाने बाली संरक्षण र दर्ता प्रक्रिया सहज बनाएको छ,’ उनले भने ।
हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले पर–स्थानीय संरक्षण र कृषि विभाग अन्तर्गतका निकायले स्व–स्थानीय संरक्षणका कार्य गरिरहेको जानकारी मन्त्री परियारले दिए ।
हाल ४० स्थानीय तहमा सामुदायिक बिउ बैंकमार्फत संरक्षणका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
कृषि जैविक विविधतालाई नयाँ उचाइमा पुर्याउन युवाको भूमिका महत्त्वपूर्ण हुने मन्त्री परियारको ठहर छ । युवाले नवप्रवर्तन, आधुनिक प्रविधि, डिजिटल समाधान र मूल्य शृङ्खला विकास मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने उनले उल्लेख गरे ।
‘कृषि जैविक विविधता हाम्रो संस्कृति, परम्परा र राष्ट्रिय पहिचानसँग जोडिएको छ,’ उनले भने, ‘यसको संरक्षण गर्ने जिम्मेवारी अब भावी पुस्ताको काँधमा छ ।’
विकास साझेदार, गैरसरकारी संस्था र स्थानीय स्तरका संघसंस्थालाई अनुसन्धान र शिक्षाका कार्यमा सहकार्य गर्न मन्त्रालयले आह्वान गरेको छ ।
प्रतिक्रिया 4