लस एन्जलस (भेराइटी) । लोकप्रिय हलिउड फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ अब नयाँ स्क्रिप्टेड टेलिभिजन सिरिजका रूपमा आउने भएको छ । ओटीटी प्लाटफर्म पिककले बिहीबार यो फ्रेन्चाइजमा आधारित नयाँ सिरिज निर्माणका लागि औपचारिक रूपमा ग्रिनलाइट दिएको घोषणा गरेको हो ।
यस वर्षको सुरुमा एनबीसीयुनिभर्सलको ‘अपफ्रन्ट्स’ कार्यक्रममा यो सिरिज विकासको चरणमा रहेको पहिलोपटक सार्वजनिक गरिएको थियो । मेमा आयोजित उक्त कार्यक्रममा अभिनेता विन डिजेलले ‘फास्ट एन्ड फ्युरियस’को स्क्रिप्टेड सिरिज निर्माण भइरहेको बताएका थिए ।
डिजेल सिरिजका कार्यकारी निर्मातासमेत रहनेछन् । उनीसँगै वान रेसका साम भिन्सेन्ट, ओरिजिनल फिल्मका निल एच. मोरिट्ज र पवन शेट्टी तथा जेफ किर्सेनबाउम र क्रिस मोर्गन प्रोडक्सन्सका क्रिस मोर्गन कार्यकारी निर्माताका रूपमा रहनेछन् ।
‘सन्स अफ एनार्की’,, ‘शेड्स अफ ब्लु’ र ‘द रकफोर्ड फाइल्स’सँग जोडिएका माइक ड्यानियल्स तथा ‘शेड्स अफ ब्लु र ‘९११ ः लोन स्टार’का वुल्फ कोलम्यानले संयुक्त ‘शोरनर’को जिम्मेवारी सम्हाल्नेछन् । उनीहरूले पाइलट एपिसोड लेख्नुका साथै कार्यकारी निर्माताको भूमिका पनि निर्वाह गर्नेछन् ।
पिककका अनुसार ‘फास्ट एन्ड फ्युरियस’ सिरिजलाई सन् २०२८ सम्ममा प्रिमियर गर्ने लक्ष्य राखिएको छ । सिरिजको प्रिमियर फ्रेन्चाइजको आगामी फिल्म ‘फास्ट फरेभर’ सँगै हुने अपेक्षा गरिएको छ । उक्त फिल्मलाई १७ मार्च, २०२८ मा हलमा प्रदर्शन गर्ने तालिका तय गरिएको छ ।
युनिभर्सल स्टुडियो ग्रुप अन्तर्गतको युनिभर्सल टेलिभिजन यस सिरिजको स्टुडियो हो । मेमा आयोजित अपफ्रन्ट कार्यक्रममा डिजेलले पछिल्लो एक दशकदेखि प्रशंसकले ‘फास्ट एन्ड फ्युरियस’बाट अझ धेरै सामग्री चाहिरहेको बताएका थिए ।
“पछिल्लो एक दशकमा हामीले प्रशंसकले अझ धेरै चाहेको महसुस गरेका छौं’ डिजेलले भनेका थिए, ‘उनीहरू स्थापित पात्र र तिनका कथालाई थप विस्तार गरिएको हेर्न चाहन्थे । पछिल्लो एक दशकदेखि हामी टेलिभिजनको क्षेत्रमा प्रवेश गरौं भन्ने चाहना थियो, जहाँ फ्यालोनले निपुणता हासिल गरेका छन् तर मैले सही समय नआउन्जेल पर्खनुपर्यो ।’
सोही कार्यक्रममा डिजेलले पिककले ‘फास्ट एन्ड फ्युरियस’ युनिभर्सबाट चारवटा शो ल्याउन लागेको बताएका थिए ।
यो फ्रेन्चाइज टेलिभिजनमा आउन लागेको भने पहिलोपटक होइन । नेटफ्लिक्सले यसअघि एनिमेटेड सिरिज ‘फास्ट एन्ड फ्युरियस स्पाइ रेसर्स’का ६ सिजन सन् २०१९ देखि २०२१ सम्म प्रसारण गरेको थियो ।
‘फास्ट एन्ड फ्युरियस’ फ्रेन्चाइज सुरु भएको यस वर्ष २५ वर्ष पुगेको छ । एनबीसीयुनिभर्सलका अनुसार युनिभर्सल पिक्चर्सले २२ जुन २००१ मा पहिलो फिल्म ‘द फास्ट एन्ड द फ्युरियस’ प्रदर्शन गरेको थियो ।
लस एन्जलसको स्ट्रिट रेसिङ संस्कृतिको पृष्ठभूमिमा बनेको उक्त फिल्ममा विन डिजेलले डोमिनिक टोरेटो, पल वाकरले ब्रायन ओ’कनर, जोर्डाना ब्रुस्टरले मिया र मिसेल रोड्रिगेजले लेटीको भूमिका निर्वाह गरेका थिए । यही फिल्मबाट सुरु भएको कथा पछि विश्वव्यापी सांस्कृतिक परिघटनाका रूपमा विस्तार भएको थियो ।
प्रतिक्रिया 4