१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले नागरिकका पक्षमा रास्वपाका सांसदहरू बोल्दा विवेक सत्ताको बन्धक नबन्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा महामन्त्री आचार्यले सांसदहरू सत्यको पक्षमा बोल्दा उनीहरूको ‘चेतलाई कुनै नुनको सोझो’ ले नरोक्ने बताए ।
‘सत्यको पक्षमा उभिन र यथार्थ उजागर गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका हरेक सांसदहरू खुला हुनुहुन्छ । तर सरकारमाथिको टिप्पणी भन्नासाथ नकारात्मक मात्रै हुनुपर्छ भन्ने सोचियो भने चाहिँ त्यो हाम्रो पूर्वाग्रह हुन्छ,’ सांसद आचार्यले भने, ‘हामी नकारात्मक भावबाट मात्र प्रेरित भयौं भने, गुण र दोष छुट्याउन चुक्यौं भने, राम्रा कामको प्रशंसा गर्न असमर्थ रह्यौं भने सकारात्मक नतिजा दिन सक्दैनौं । निन्दाको मनोभावले हामीलाई फगत एउटा निन्दक मात्र बनाउँछ । र संसद्जस्तो गरिमामय थलो निन्दाहरूको पुञ्ज व्यक्त गर्ने मञ्च बन्नु हुँदैन ।’
सरकारको चर्चा गर्ने क्रममा महाभारतको एउटा प्रसङ्ग समेत सदनमा आचार्यले स्मरण गराएका थिए । कौरव सभामा द्रौपदीको अपमान हुँदै गर्दा सत्यवादी र सर्वशक्तिमान भीष्म पितामह मौन रहेको प्रसंग बताउँदै आचार्यले भने, ‘अन्यायको त्यो पराकाष्ठामा धेरैलाई आश थियो, कम्तीमा भिष्म पितामह बोल्नेछन्, हस्तक्षेप गर्नेछन् । तर, उनी बोलेनन् ।’
उनका अनुसार, पछि द्रौपदीले प्रश्न गरिन्, ‘त्यत्रो अन्याय हुँदा तपाईं किन बोल्नुभएन ।’
भीष्म पितामहको निरीहतासहित ‘मलाई बोध थियो, तिमीमाथि घोर अन्याय भइरहेको छ । तर मैले कौरवको नुन खाएको थिएँ । त्यही नुनको सोझो गर्नुपर्ने बाध्यताले मेरो विवेकलाई बन्धक बनायो र मलाई सत्य बोल्नबाट रोक्यो,’ भन्ने जवाफ फर्काए ।
भीष्म पितामहले कौरवको नुनभन्दा माथि उठेर सत्य बोलिदिएको भए महाभारतको युद्ध रोकिने उक्त प्रसंग आचार्यले उठाए ।
हाल नेपालको राजनीति इतिहासकै सबैभन्दा गम्भीर मोडमा उभिएको आचार्यले विश्लेषण गरे । राजनीति दलका नेताले निन्दा र भर्त्सनाको सर्वाधिक भारी बोक्नुपरेको उनले बताए ।
‘कसैले बोलेका कुराहरूलाई सारमा होइन शब्दहरूको जालमा व्याख्या गरिन्छ भने त्यो नेताकै हो । तथ्यभन्दा तर्क कसैको मिडियाको हेडलाइन बन्छन् भने पनि त्यो नेताकै हो,’ आचार्य भन्छन्, ‘अनि कसैको सकारात्मकता भन्दा नकारात्मकताको प्रचार छिटो हुन्छ भने त्यो नेताको हो । यति भन्दै गर्दा किन नेता बन्या त भनेर प्रश्न आउन पनि सक्छ तर आज ह्यारासमेन्टमा धेरै पर्नेहरूमध्ये एउटा नेता पनि हो ।’
विगत ६ महिनामा संसदको अवमूल्यन सबै पक्षबाट भएको आचार्यले उल्लेख गरे । सत्तारुढ वा प्रतिपक्षबाट संसदमा भएका कतिपय दृश्यहरू आँखा बिझाउने खालको भएको उनले बताए । सबै दललाई उनले भने, ‘हामी सबैले हेक्का राखौं, संसदको मानमर्दन गरेर कम्तीमा यो राजनीतिक प्रणालीबाट आएका हामी कसैको कद अग्लिने छैन ।’
प्रतिक्रिया 4