News Summary
Generated by OK AI. Editorially reviewed.- मण्डला थिएटरमा मञ्चन भइरहेको ‘द एज अफ डार्कनेस’ ले महाभारत युद्धपछिको अन्धकार, प्रतिशोध र नैतिक पतन देखाएको छ ।
- धर्मवीर भारतीको ‘अन्धा युग’ को नेपाली रूपान्तरणमा राजेन्द्र सलभको अनुवाद र सुदीप खतिवडाको निर्देशन छ ।
अश्वत्थामा मञ्चको बीचमा छन् । उनी रिसले चुर छन् । उनले गुमाउने कुरा सब गुमाइसकेका छन् । चर्को स्वरमा उनी भन्छन् – अब म पशु भएँ । अब मेरो धर्म भनेको मार्नु र मार्नु मात्र हो ।
पाण्डव पक्षले पीता द्रोणाचार्यलाई मार्न छल गरेका कारण उनले आफ्नो रिसलाई नियन्त्रण गर्न सकिरहेका छैनन् । उनी जसरी पनि पाण्डवसँग बदला लिने मनसायमा छन् । रातको अँध्यारोमा पाण्डव शिविरमा आक्रमण गर्छन् । तर, गल्तीवस उनले ५ पाण्डव ठानेर द्रौपदीका पाँच छोरा मार्न पुग्छन् । यो सँगै उनको रिसमा अन्य धेरै मारिइरहेका हुन्छन् । कृतवर्मा र कृपाचार्यले उनलाई रोक्न खोज्छन् । तर उनको प्रतिशोध रोकिँदैन ।
यी दृश्यहरू मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘द एज अफ डार्कनेस’ का हुन् । यो नाटकले महाभारत युद्धपछिको अन्धकार देखाएको छ । जहाँ विजेता पनि हार्छन् र प्रतिशोधले मानवतालाई नै निल्छ । यद्यपि यो नाटक नेपाली होइन । धर्मवीर भारतीको अन्धा युग को नेपाली रूपान्तरण हो । यसमा राजेन्द्र सलभको अनुवाद र सुदीप खतिवडाको निर्देशन छ ।
यसअघि १० वर्ष पहिले मञ्चन भइसकेको यो नाटकमा अहिले निर्देशन गरिरहेका सुदिप स्वयंले सञ्जयको भूमिका निभाएका थिए । त्यसबेला यो नाटक पूर्णत: मूल नाटकको पाठमा आधारित थियो । अहिले त्यसबाट बाहिर निस्केर डिजाइनमा आधारित, कोरियोग्राफीमा आधारित र लाइभ म्युजिकमा आधारित भएर बनाइएको छ । यसले दर्शकहरूलाई नाटकमा अझ बढी बाँधेर राख्ने निर्देशकको विश्वास छ ।
निर्देशक सुदिपका अनुसार यस्ता नाटकहरूको विषयवस्तु समयसँगै सधैं सान्दर्भिक भइरहने खालको हुन्छ । नाटकले अन्धोपनमा बाँचेर अँध्यारो मात्र देख्ने मानिसहरूलाई झक्झक्याउने काम गर्छ । यसको उद्देश्य कुनै ठूलो बबन्डर गर्नुभन्दा पनि सामान्य रूपमा हामी आफैं र अरूलाई सचेत गराउँदै समाजमा चेतना सिर्जना गर्नुभएको उनको भनाइ छ । ताकि मान्छेहरू अन्धोपनबाट बाहिर निस्कुन् ।
यो वैचारिकीबाहेक प्राविधिक पाटोको कुरा गर्दा नाटकमा सेटसँगै लाइट र साउन्डमा केही राम्रो गर्ने प्रयास गरिएको छ ।

लाइटको एउटा राम्रो उदाहरण, जब अश्वत्थामाले ब्रह्मास्त्र उठाउँछन्, त्यसबेला प्रकाश अचानक चम्किन्छ । जब गान्धारीले कृष्णलाई पुकार्छिन्, तब अलि उँचोमा कृष्ण देखिन्छन् ।
नाटकको अर्को राम्रो पक्ष यसको सेट हो । हस्तिनापुर दरबार, कुरुक्षेत्रको युद्धभूमि, वन आदि एकै ठाउँमा, त्यो पनि कथालाई अघिपछि गर्दै देखाउनु राम्रो काम हो । प्रत्यक्ष संगीतको प्रयोग गर्ने सोच आफैंमा राम्रो हो । त्यसले एउटा मुड सेट गरिरहन्छ । हलमा दर्शकहरू प्रवेश गर्दैगर्दा सलिना बिके शास्त्रीय संगीत गाइरहेकी हुन्छिन्; त्यसले दर्शकलाई एउटा रोमाञ्चकता दिन्छ ।
भनौं, संगीतले वातावरण निर्माणमा ठूलो भूमिका खेलेको छ । अँध्यारो, तनाव र शोकलाई संगीतले अझ गाढा बनाएको छ । मञ्च सजावट सरल राखिएको छ । जुन यस प्रकारको विषयवस्तुका लागि उपयुक्त छ । प्रकाश डिजाइनले अन्धा युगको प्रतीकात्मक अन्धकारलाई सहयोग पुर्याएको छ ।
यो नाटकको सबैभन्दा ठूलो शक्ति यसको सान्दर्भिकता हो । नेपालजस्तो द्वन्द्व, राजनीतिक प्रतिशोध र सामाजिक विभाजनबाट गुज्रेको समाजमा यसले सिधै प्रश्न गर्ने सामर्थ्य राख्छ । युद्धले कसैलाई पनि साँच्चै विजेता नबनाउने सत्य, दोषारोपणको संस्कृति र नैतिक अन्धोपन आज पनि जीवित छ । नाटकले दर्शकलाई सोध्छ – हामी कहिलेसम्म अरूलाई दोष दिएर आफ्नो जिम्मेवारीबाट भाग्ने ?

कलाकारहरूको प्रस्तुति औसत छ । अश्वत्थामाको भूमिका विशेष रूपमा प्रभावशाली छ । प्रतिशोधको आगो र मानवीय पतनको मिश्रण स्पष्ट देखिन्छ । गान्धारीको पीडा र आक्रोश, धृतराष्ट्रको शारीरिक तथा मानसिक अन्धोपन र अन्य पात्रहरूको उपस्थिति कथा सुहाउँदो छ ।
भलै सुधार गर्न सकिने केही कमजोरीहरू छन् । जस्तो, काव्यको घनत्वले कहिलेकाहीं नाटकको गतिलाई बाधा पुर्याउँछ । केही लामो दार्शनिक संवादमा नाटक सुस्ताउँछ । भलै यो कृतिको मौलिक स्वभाव किन नहोस् ।
महाभारतको कथा थाहा नभएका दर्शकलाई कतिपय सन्दर्भ बुझ्न गाह्रो हुन सक्छ । केही कलाकारहरू अझ गहिरो भावनात्मक तहमा पुग्न सकेका छैनन् । तर यी कमजोरीहरूले समग्र प्रभावलाई धेरै कमजोर बनाउँदैनन् ।

समग्रमा महाभारत युद्धको १८औं दिनको साँझबाट सुरु भएको नाटकको कथाले युद्धपछिको शून्यता, शोक, अहंकार र नैतिक पतनलाई देखाउँछ । नाटकाम धृतराष्ट्र र गान्धारी शोकमा डुबेका छन् । हस्तिनापुर जलिरहेको छ । बाँचेकाहरू आफ्नो दोष देख्न सक्दैनन् । अश्वत्थामाको प्रतिशोध चरममा पुग्छ । गान्धारी कृष्णलाई श्राप दिन्छिन् । अनि अन्तमा विजय पनि खाली र आत्महत्याको श्रृंखलाजस्तो बन्छ ।
यी विषय बोकेको द एज अफ डार्कनेस लाई जिम्मेवार प्रस्तुति मान्न सकिन्छ । नाटक मनोरञ्जनबाहेक चिन्तन र संवादको माध्यम बने छ ।
नाटक हेरेपछि मनमा एउटा प्रश्न बाँकी रहन्छ – हामी साँच्चै कुन युगमा बाँचिरहेका छौं ? अन्धकारको कि उज्यालो खोज्ने ?
प्रतिक्रिया 4