+
+
Shares

बारा–२ का रास्वपा सांसद सिंहमाथि भेदभाव तथा अपमानजनक व्यवहार मुद्दा दर्ता

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ असोज १७ गते १५:३९

१७ असोज, जनकपुरधाम । बारा क्षेत्र नं २ को रास्वपा सांसद चन्दन कुमार सिंहमाथि भेदभाव तथा अपमानजनक व्यवहार मुद्दा दर्ता भएको छ । उच्च अदालत जनकपुरको इजलास वीरगञ्जबाट भएको परमादेश अनुसार, गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय बारामा रास्वपा सांसद सिंहमाथि मुद्दा दर्ता भएको हो ।

बाराकै देवताल गाउँपालिका – ५ बस्ने ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीले सांसद सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहार मुद्दा दर्ता भएको हो ।

उच्च अदालतको परमादेशमा सांसद सिंहमाथि उक्त मुद्दा दर्ता भएको बराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले बताए ।

‘उच्च अदालतको परमादेशमा उक्त मुद्दा दर्ता भएको हो । मुद्दामा अनुसन्धान भइरहेको छ । यस अघि पनि त्यो मुद्दा दर्ता गराउने प्रयास भएको थियो। तर भएको थिएन,’ एसपी कुँवरले अनलाइनखबरसँग भने, ‘त्यसकारण उच्च अदालतको परमादेशले दर्ता भएपनि अनुसन्धान भइरहेको छ । तर पक्राउ पुर्जी भने जारी भएको छैन ।’

सांसद सिंह २०७४ सालमा तत्कालीन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा) बाट देवताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

जसपा नेपाल र लोेसपाबीच एकीकरण भएपछि उनी चुनावको मुखमा रास्वपा प्रवेश बारा क्षेत्र नं. २ बाट चुनाव जितेका हुन् । जाहेरी कर्ताको गनपतको घर वडा नं. ५ मा पर्छ भने सांसद सिंहको वडा नं ४ मा पर्छ ।

के हो घटना ?

बाराको देवताल गाउँपालिकामा सुपरभाइजर पदमा कार्यरत महतोले समाजमा भएका गलत गतिविधिलाई विरोध गरकै कारणबाट २७ कात्तिक २०८१ मा सिंहले अरु व्यक्तिहरूबाट गनपतलाई सामाजिक बहिस्कार गर्ने निर्णय भएको जाहेरीमा दावी गरिएको छ ।

यो आधारसहित पालिकामा उजुरी पर्दा करार सेवामा कार्यरत सुपरभाइजर महतो आफूले ७ दिन निलम्बनमा परेको बताएका छन् ।

जाहेरीमा आफूलाई सामाजिक रूपमा बहिष्कार गर्ने, अपमानित गर्ने तथा गाउँघरमा आफ्नो चरित्र र व्यक्तित्वमा आँच आउने गरी प्रचार–प्रसार गर्ने काम भएको आरोप लगाइएको दाबी गरिएको छ ।

जाहेरीमा सांसद सिंहसँगै रामबाबु प्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पसवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतोको नाम उल्लेख छ ।

जाहेरीअनुसार विपक्षीहरूले गाउँमा विकाससम्बन्धी काम गर्न अवरोध गरेको र आफूले त्यस्ता अवरोधका बाबजुद विकाससम्बन्धी काम गराउन पहल गरेपछि विभिन्न व्यक्तिसँग मिलेर आफूलाई समाजबाट बहिष्कार गर्ने निर्णय गरेको आरोप उनको छ ।

उनले जाहेरीमा गाउँघरमा हुने विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा आफू तथा आफ्नो परिवारका सदस्यलाई सहभागी हुन नदिने, सार्वजनिक स्थान तथा धार्मिक स्थलमा समेत बहिष्कार गर्न लगाउने, आफूलाई अपमानजनक व्यवहार गर्ने र गाउँघरमा आफूविरुद्ध विभिन्न किसिमका कुरा प्रचार–प्रसार गर्ने गरिएको उल्लेख गरेका छन् ।

यस्तै, विपक्षीहरूले आफूलाई ‘ठूलोबडा’ बन्ने व्यक्ति भन्दै गाउँघरका दलित, गरिब, विपन्न तथा अल्पसंख्यक समुदायका मानिसलाई पैसा तथा अन्य प्रलोभन दिएर आफ्नो विरोधमा प्रयोग गरेको आरोपसमेत जाहेरीमा लगाइएको छ ।

महतोले विपक्षीहरूको गतिविधिबाट आफ्नो व्यक्तिगत चरित्र, आचरण तथा सामाजिक प्रतिष्ठामा असर परेको दाबी गरेका छन् । आफू र परिवारका सदस्यलाई गाउँघर तथा समाजमा अपहेलना र अपमानको सामना गर्नुपरेको भन्दै उनले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन् ।

जाहेरीमा घटनासँग सम्बन्धित प्रमाणका रूपमा विपक्षीहरूले गरेका निर्णयको फोटोकपीसमेत संलग्न रहेको र आवश्यक अनुसन्धान तथा सरजमिन गरी सत्यतथ्य पत्ता लगाउन माग गरिएको छ । जाहेरीमा उजुरीकर्ताले अनुसन्धानका क्रममा बोलाइए उपस्थित हुने प्रतिबद्धतासमेत जनाएका छन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?