१७ असोज, कास्की । पोखरास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा शनिबार साँझ एक युवकको मृत्यु भएको छ ।
सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका २५ वर्षीय नरेश बिकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्तबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार विक तालमा बेपत्ता भएको खबर प्राप्त भएपछि कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा गोताखोरसहित ११ जनाको टोली खोज तथा उद्धारका लागि साँझ करिब ६ बजे घटनास्थलतर्फ परिचालन भएको थियो ।
गोताखोर सशस्त्र प्रहरी जवान देवराज खनाल र युवराज श्रेष्ठले साँझ ७ बेगनास तालमा खोजी गर्ने क्रममा करिब २५ फिट पानीमुनिबाट बिकलाई मृत अवस्थामा उद्धार गरेका थिए ।
मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4