१८ असोज, क्यानबेरा । अस्ट्रेलियामा आइतबारदेखि डेलाइट सेभिङ सुरु भएको छ। न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, तास्मानिया र अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा बिहान २ बजे घडी एक घण्टा अगाडि सारेर ३ बजे बनाइएको छ।
यससँगै अस्ट्रेलियाका यी क्षेत्रमा गर्मीयाममा साँझको उज्यालो समय लम्बिएको छ। काम वा अध्ययन सकेर घर फर्किने, व्यायाम गर्ने, घुमफिर गर्ने तथा बाहिरी गतिविधिका लागि अब साँझमा थप उज्यालो समय उपलब्ध हुनेछ।
घडी अगाडि सारिएको पहिलो दिन भने दिनचर्यामा एक घण्टाको परिवर्तन महसुस हुनेछ। राति नियमित समयमा सुत्ने र बिहान नियमित समयमा उठ्नेको निद्रा एक घण्टासम्म घट्न सक्छ।
सरकारी सूचनाअनुसार समय परिवर्तनले केही दिन निद्रा र दैनिक तालिकामा असर पार्न सक्छ। त्यसैले सुत्ने समय क्रमशः मिलाउन र बिहानको उज्यालोमा केही समय बिताउन सुझाव दिइएको छ।
नेपालीलाई के फरक पर्छ ?
डेलाइट सेभिङको सबैभन्दा व्यावहारिक असर अस्ट्रेलियामा रहेका नेपाली र नेपालबाट अस्ट्रेलियासँग नियमित सम्पर्क गर्नेहरूका लागि समय अन्तरमा देखिन्छ।
सिड्नीमा आज बेलुका ७ बज्दा काठमाडौंमा दिउँसो १ बजेर ४५ मिनेट हुनेछ। त्यसैले अस्ट्रेलियामा समय फेरिँदा त्यहाँको घडी मात्र होइन, नेपालसँगको कुराकानी, काम र अनलाइन भेटघाटको समयसमेत फेरिन्छ।
सिड्नी, मेलबर्न, क्यानबेरा र होबार्टमा अब नेपालभन्दा ५ घण्टा १५ मिनेट अगाडि समय हुनेछ। डेलाइट सेभिङअघि यी सहरमा नेपालभन्दा ४ घण्टा १५ मिनेट मात्रै अगाडि समय थियो।
दक्षिण अस्ट्रेलियाको एडिलेडमा भने अहिले नेपालभन्दा ४ घण्टा ४५ मिनेट अगाडि समय हुनेछ। अर्थात् नेपालबाट अस्ट्रेलियामा फोन, अनलाइन कक्षा, कार्यालय बैठक वा परिवारसँग कुराकानी गर्ने समय मिलाउँदा अब एक घण्टाको फरकलाई ध्यान दिनुपर्नेछ।
अस्ट्रेलियाको पूर्वी र मध्य डेलाइट सेभिङ क्षेत्रको समयक्रम र नेपालको स्थिर यूटीसी प्लस ५:४५ समयका आधारमा यो अन्तर कायम हुन्छ।
ब्रिसबेनमा भने समय परिवर्तन हुँदैन। त्यहाँ र क्यानबेरा, सिड्नी तथा मेलबर्नबीचको समय अन्तर अब एक घण्टा हुनेछ। पर्थमा पनि डेलाइट सेभिङ लागू नहुने भएकाले पूर्वी अस्ट्रेलियासँगको समय अन्तर थप बढ्नेछ।
सबै अस्ट्रेलियामा घडी फेरिएन
डेलाइट सेभिङ अस्ट्रेलियाभर लागू हुने व्यवस्था होइन।
न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, तास्मानिया र एसीटीले हरेक वर्ष अक्टोबरको पहिलो आइतबार घडी एक घण्टा अगाडि सार्छन् र अर्को वर्ष अप्रिलको पहिलो आइतबार फेरि एक घण्टा पछाडि सार्छन्।
क्वीन्सल्याण्ड, नर्दर्न टेरिटोरी र वेस्टर्न अस्ट्रेलियाले भने डेलाइट सेभिङ पालना गर्दैनन्। त्यसैले अस्ट्रेलियाका विभिन्न सहरबीचको समय अन्तर पनि मौसमअनुसार फरक हुन्छ।
घडी कसरी बदलिन्छ ?
आइतबार बिहान २ बजे पुगेपछि सहभागी राज्य तथा क्षेत्रमा समय सिधै ३ बजेमा पुग्छ। त्यसैले २ बजेदेखि ३ बजेसम्मको एक घण्टा घडीमा देखिँदैन।
स्मार्टफोन, कम्प्युटर र इन्टरनेटसँग जोडिएका धेरै उपकरणले समय स्वतः परिवर्तन गर्छन्। तर भित्ते घडी, केही घडी तथा अन्य म्यानुअल उपकरण भने आफैँ परिवर्तन नहुन सक्छन्। त्यसैले सरकारी निकायहरूले शनिबार राति नै त्यस्ता घडी जाँचेर मिलाउन सुझाएका थिए।
डेलाइट सेभिङ २०२७ को अप्रिल ४ सम्म कायम रहनेछ। त्यस दिन बिहान ३ बजे घडी एक घण्टा पछाडि सारेर २ बजे बनाइनेछ।
प्रतिक्रिया 4