१९ असोज, सप्तरी । नेपाली कांग्रेसका नेता तथा पूर्व यूवा तथा खेलकुद विकासमन्त्री तेजुलाल चौधरीले पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
चौधरीले थारू क्लस्टरतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी सप्तरी क्षेत्र नम्बर–४ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुका साथै महासमिति सदस्यसमेत बनेका छन् ।
सप्तरीको खडक नगरपालिका–८ भदियाका स्थायी बासिन्दा चौधरीले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट संसदीय राजनीति सुरु गरेका थिए । त्यसयता २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर–४ बाट निर्वाचित हुँदै उनले लगातार तीनपटक चुनाव जितेका थिए ।
२०७४ सालमा उनी युवा तथा खेलकुद राज्यमन्त्री बनेका थिए, भने २०८१ सालमा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
चौधरी २०४६ सालको जनआन्दोलनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताइन्छ। उनले २०५२ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए भने २०६२/६३ को दोस्रो जनआन्दोलनमा समेत सक्रिय सहभागिता जनाएको विवरण सार्वजनिक छ। उनी २०६७ सालदेखि कांग्रेस महासमिति सदस्य बनेका थिए ।
ललितपुरको कुपन्डोलस्थित नाइटिंगेल इन्टरनेसनल सेकेन्डरी स्कुलका संस्थापक अध्यक्षसमेत रहेका चौधरी १४ औँ महाधिवेशनमा पनि थारू क्लस्टरतर्फ सहमहामन्त्रीका उम्मेदवार बनेका थिए। त्यसबेला उनी उमाकान्त चौधरीसँग पराजित भएका थिए ।
प्रतिक्रिया 4