१९ असोज, टोकियो । खेल पत्रकार नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ का विषयमा जापानको टोकियोमा अन्तर्क्रिया गरिएको छ ।
जापानमा बसोबास गर्दै आएका नेपाली समुदायको उपस्थितिमा आइतबार साँझ आयोजित कार्यक्रममा लेखक अर्यालले पुस्तकका विविध पक्षबारे प्रकाश पारेका थिए ।
जापानको आइची–नागोया शहरमा हालै सम्पन्न २०औं संस्करणको एसियाली खेलकुदको सन्दर्भ पारेर अर्यालले १८ सेप्टेम्बरमा पुस्तक विमोचन गरेका थिए ।
तीन वर्षअघि अर्यालको पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशनमा आएको थियो । आफ्नो दोस्रो कृतिको बारेमा प्रकाश पार्दै उनले भने, ‘एसियाली खेलकुद जस्तो ठूलो प्रतियोगिता आयोजना भइरहेको स्थानमा आएर पुस्तक विमोचन गर्न पाउँदा खुसी लागेको छ ।’
अर्यालले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भए पनि यी दुई देशबीच त्योभन्दा अगाडिदेखि नै खेलकुदको सम्बन्ध स्थापित भइसकेको बताए ।
‘दोस्रो विश्वयुद्धपछि नेपाल र जापानलाई नजिक ल्याउने माध्यम नै खेलकुद हो । सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु भएको पहिलो एशियाली खेलकुदमार्फत नेपाल र जापानबीच सम्बन्ध स्थापना भएको देखिन्छ,’ उनले भने ।
पहिलो एशियाली खेलकुदपछि जापानका पर्वतारोहीहरु नेपालको हिमाल चढ्न सन् १९५३ मा काठमाडौं आइपुगेको, नेपालले १९५८ मा टोकियो शहरमा आयोजना भएको तेस्रो एशियाली खेलकुदमा भाग लिएको, १९६४ मा टोकियो शहरमै आयोजना भएको ओलम्पिकमार्फत नेपाल ओलम्पिक अभियानमा सक्रिय भएको जस्ता विषयहरू पुस्तकमा समेटिएको लेखक अर्यालले बताए ।
यस्तै, विश्वको सर्वोच्च हिमाल सगरमाथामा पहिलो स्की खेल्ने जापानी पर्वतारोही युचिरो मिउरादेखि सगरमाथा चढ्ने पहिलो महिलाको इतिहास रचेकी जुन्को ताबेईलाई नेपालका शेर्पा पथ प्रदर्शकहरूले कसरी सहयोग गरे भन्ने विषय पनि पुस्तकमा पढ्न पाइने उनले जानकारी दिए ।
‘कोलम्बो प्लानअन्तर्गत सबैभन्दा पहिले नेपाल प्रहरीलाई प्रशिक्षण दिन आएका जापानी जुडो प्रशिक्षक इचिजो साकाइरीको सन्दर्भदेखि नेपालीहरूलाई आधुनिक भलिबलको ज्ञान दिने जापानी प्रशिक्षक सुन्जी यानागिता, जिम्न्यास्टिक प्रशिक्षक मासातो मोरी, नेपालका लिजेन्ड्री धावक बैकुण्ठ मानन्धरलाई प्रशिक्षण दिने जापानी गुरु कियोसी नाकामुराको बारेमा पनि पुस्तकमा स–विस्तार चर्चा गरिएको छ’, उनले भने ।
नेपालले पहिलो पारा एसियाली खेल पनि जापानमा खेलेको थियो । सन् १९७५ मा जापानको ओइता शहरमा आयोजना भएको प्रथम सुदूर तथा दक्षिण प्रशान्त क्षेत्रीय तथा अपाङ्ग खेलकुद (फेस्पिक) मा नेपालकी १३ वर्षीय खेलाडी सूर्यकुमारी गुरुङ र श्रीलाल महत्तर क्षेत्रीले स्वर्ण पदक जितेका थिए ।
यतिबेला सूर्यकुमारीको खेलबाट प्रभावित भएका जापानका युवराज अकिहितो र युवराज्ञी मिचिको हात मिलाउन प्यारापिटबाट मैदानमा उत्रिएको प्रसंगलाई पनि लेखकले आफ्नो पुस्तकमा समेटेका छन् । सन् १९९४ मा हिरोसिमामा आयोजना भएको एसियाली खेलकुदमा नेपाली ‘सेभ द मिशन’ नरेश अधिकारीको दुर्भाग्यपूर्ण निधनको कथा पनि पुस्तकमा समावेश गरिएको छ ।
अन्तर्क्रिया कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद शेरचन, पूर्वअन्तर्राष्ट्रिय गोलकिपर अजर अधिकारी, मिडफिल्डर बसन्त गौचन, स्ट्राइकर हरि ठकुरी, पूर्वतेक्वान्दो खेलाडी तथा गायक नारायण गुरुङ, जापान–नेपाल समाजका निर्देशक शरद कुमार गुरुङ, जापानमा नेपाली फुटबललाई योगदान दिँदै आएका जापान–नेपाल फुटबल संघका संयोजक तथा रानीपोखरी कर्नर टिम (आरसीटी) का पूर्वमिडफिल्डर शिव खड्का, जापानमा कार्यरत अमित गौतम, मोना जापानका अध्यक्ष दीपक केसी, पूर्वपत्रकार तथा हाल जापानमा व्यवसाय गर्दै आएका नारायण रिमाल र मोहन घले तथा गोपाल भट्टराई लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया 4